Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

विराटनगर । उदयपुर निवासी १५ वर्षीय बालकको पेटबाट शल्यक्रियामार्फत् कैंची निकालिएको घटना सार्वजनिक भएपछि स्वास्थ्य क्षेत्रका विज्ञहरूको ध्यान आकृष्ट भएको छ । बालकले खेल्ने क्रममा गल्तीवश कैंची निल्न पुगेपछि नोबेल मेडिकल कलेज टिचिङ अस्पतालमा ल्याइएकाे थियो ।शल्यक्रिया मार्फत बालककाे आन्द्राबाट  सफलता पुर्वक  कैंची निकालिएको  हो ।

पीडित बालकले टेलिभिजन हेर्दै खेल्ने क्रममा हातमा रहेको कैंची मुखमा हाल्दा अचानक घाँटी हुँदै पेटसम्म पुग्न गएको आफन्तले जानकारी दिनुभयो । प्रारम्भिक प्रयासमा घरपरिवारले कैंची निकाल्न खोज्दा झन् भित्र प्रवेश गरेपछि बालकलाई तत्काल नजिकैको स्वास्थ्य संस्थामा लगिएको थियो । त्यहाँ गरिएको प्रारम्भिक परीक्षणमा पेटभित्र कैंची अड्किएको देखिएपछि चिकित्सकको सल्लाहअनुसार उहाँलाई नोबेल अस्पतालमा रिफर गरिएको हो ।

नोबेल अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएपछि गरिएको एक्स–रे र सिटी स्क्यान परीक्षणबाट कैंची पेटको ठूलो आन्द्राभित्र अड्किएको पुष्टि भएको अस्पतालले जानकारी दिएको छ । अत्यन्तै संवेदनशील र जटिल मानिएको उक्त अवस्थाको शल्यक्रिया वरिष्ठ ल्याप्रोस्कोपिक सर्जन डा. अमित भट्टराईको नेतृत्वमा सम्पन्न गरिएको थियो ।

डा. भट्टराईका अनुसार, “बालकको आन्द्रामा अड्किएको कैंचीले थप जटिलता निम्त्याउने सम्भावना रहेकाले समयमै ल्याप्रोस्कोपिक प्रविधिको माध्यमबाट सर्जरी गरी सफलतापूर्वक निकाल्न सकियो । बिरामीको हालको अवस्था पूर्णरूपमा स्थिर रहेको छ ।”

शल्यक्रियापछि दुई दिनसम्म अस्पतालमा निगरानीमा राखिएका बालक हाल पूर्ण रूपमा स्वस्थ भई घर फर्किसक्नुभएको छ ।

बालकका हजुरबुबाले भन्नुभयो, “नातिले अचानक ‘कैंची अड्कियो’ भनेर कराउँदा झस्कियौं । निकाल्न खोज्दा झन् भित्र पस्यो । त्यसपछि तत्कालै नजिकैको अस्पताल लग्यौं र अन्ततः नोबेल ल्यायौं । पहिले पनि यहाँबाट राम्रो उपचार पाएका थियौं, त्यसैले विश्वासले यतै ल्याएका थियौं ।”

नोबेल अस्पतालले यसअघि पनि बेल्टको बक्कल निल्ने, ब्रस गम्भीर रूपमा अड्किने, मासुको हड्डी अड्किने लगायतका असामान्य तथा जटिल अवस्थामा सफल शल्यक्रिया गरी बिरामीहरूलाई जीवनदान दिँदै आएको छ । अत्याधुनिक प्रविधि र दक्ष चिकित्सकहरूको समन्वयमा नोबेलले देशभरका बिरामीहरूलाई गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ ।

यस सन्दर्भमा, चिकित्सकहरूले अभिभावकहरूलाई बालबालिकालाई खेलाउने साना वस्तुहरू — जस्तै चुम्बक, ब्याट्री, साना खेलौना वा गिलासका दाना आदि — बाट सतर्क रहन आग्रह गर्नुभएको छ । यस्ता वस्तु गल्तीवश निलिँदा वा अन्य अंगमा पुग्दा गम्भीर स्वास्थ्य समस्या निम्तिन सक्ने भएकाले विशेष सावधानी अपनाउन सुझाव दिइएको छ ।

यस्तै, चिकित्सकहरूले व्यस्कहरूले पनि जिस्कँदै अथवा खेल्दै अखाद्य वस्तु मुखमा हाल्ने व्यवहारबाट टाढा रहनु पर्नेमा जोड दिनुभएको छ, किनभने यस्ता घटनाहरूले कहिलेकाहीँ ज्यान नै जोखिममा पार्न सक्ने अवस्था सिर्जना गर्न सक्छन् ।



Share via
Send this to a friend