हरिप्रसाद कोइराला ,
लेटाङ । मूल्य निरन्तर ओरालो लागेपछि उत्तरी मोरङका खरिद बिक्री गर्ने ठूला ब्यापारीहरूको गोदाममा करोडौं मूल्यको अम्लिसो थन्किएको छ । किसानसँग पुस–फागुनमा प्रतिकिलो ७० रुपियाँमा काँचो अम्लिसो खरिद गरेका ब्यापारीहरू ६ महिना पछि सुकाएको अम्लिसो ६५ देखि ७० रुपियाँ सम्ममा बिक्री गर्न बाध्यछन् ।
सुकेपछि किलो २ सय ग्राम घट्छ । एकातिर तौल घटेको छ । अर्को तर्फ मूल्य घटेको छ । ९५ देखि ११० रुपियाँ सम्ममा बिक्री गर्दा मात्र खर्च उठ्ने ब्यापारीहरूको भनाई छ । मिक्लाजुङ–९ मधुमल्ला बजारमा २० वर्षयता अम्लिसो खरिद बिक्री गरिरहनु भएका देवनाथ चौधरीले भन्नुभयो –लागत खर्च उठ्ने अवस्था छैन् । करोडौं रुपियाँ फ्रिज गराउनु भन्दा घाटामा भएपनि बिक्री गरिरहेको चौधरीका भनाई छ । चौधरीले हरेक वर्ष १५ देखि १८ ट्रक अम्लिसो बिक्री गर्दै आउनु भएको छ । एक ट्रकमा १३ लोड हुन्छ । मिक्लाजुङ र लेटाङमा मात्र चौधरी जस्ता ठूला ब्यापारी १६ जना छन् । हरेकले १५ देखि १८ गाडी अम्लिसो बिक्री गर्ने चौधरीको भनाई छ ।
अम्लिसो उत्तरी मोरङका किसानको सबैभन्दा राम्रो आयको स्रोत हो । किसानले पुस देखि फागुनसम्म अम्लिसो बिक्री गर्ने गर्छन् । यो वर्ष काँचो अम्लिसो ६५ देखि ७० रुपियाँ सम्ममा बिक्री गरेको किसान बताउँछन् । २०७१ मा कल्पना गरे भन्दा राम्रो मूल्य पाएपछि उत्तरी मोरङको लेटाङ–७ (साविक वारङ्गी ६)का कृष्णप्रसाद लिम्बूले २० रोपनीमा अम्लिसो खेती विस्तार गर्नुभयो । तर ०७२ मा बिक्री मूल्य ४५ रुपियाँ भन्दा माथि जान सकेन । १५ रोपनीमा खेती गर्दा खर्च कटाएर २ लाख रुपियाँ प्राप्त गर्नु भएका लिम्बु –‘यो वर्ष २२ क्विन्टल अम्लिसो बिक्री गर्नुभयो । १० वर्षयता अम्लिसोको मूल्य उतार चढाव भइरहेको किसानको भनाई छ । वारङ्गी कै गौरी तामाङले अम्लिसोको ब्यापार सुरु गरेको २५ वर्ष भयो । पहिले उहाँ गाउँ–गाउँबाट भरिया लगाएर ब्यापारका लागि लेटाङ बजार ल्याउनुहुन्थ्यो । आफै किसान र आफै ब्यापारी भएकोले राम्रो आम्दानी हुने गरेको बताउँदै तामाङले भन्नुभयो –उहिले चामलसँग सरी(बराबर ) अम्लिसो साटिन्थ्यो । अहिले एक किलो अम्लिसो बेच्दा एक किलो चामल आउन छोड्यो । अहिले गाउँ गाउँमा सडक पुगेको छ । किसानले घरबाटै अम्लिसो बेच्न पाउँछन् । तर मूल्य घटेकोले यो खेतीमा किसानको आकर्षण छैन ।
लेटाङ बजार किसानको अम्लिसो खरिद गर्दै आउनु भएका एसवी स्टोकास सञ्चालक गोपाल बारकोटीले भन्नुभयो –माघमा प्रति केजी भारु ६० रुपियाँमा खरिद गरेको अम्लिसो अहिले भारतीय ब्यापारीले नेरु ६० रुपियाँमा खरिद गर्न मानेका छैनन् ।बारकोटीले आफ्नो ५ सय क्विन्टल अम्लिसो गोदाममा थन्किएको बताउनु भयो ।उहाँले भन्नुभयो मागमा खरिद गरेको कच्चा अम्लिसोको तुलनामा अहिले ३० प्रतिशत मूल्य घटेको छ । किसानसँग नगदमा किनेको अम्लिसो सङ्कलन गरेर मूल्य पर्खिदा करोडौं रुपियाँ घाटा भइरहेको बारकाटीले बताउनु भयो ।
नेपालबाट निर्यातहुने मुख्य नगदे बाली भित्र पर्छ अम्लिसो । ब्यापार तथा निकासी प्रवद्र्धन केन्द्र विराटनगरका सूचना अधिकृत देवराज न्यौपानेका अनुसार देशभरबाट आव २०८०÷०८१ मा १ अर्व ३२ करोड ५२ लाख ४५ हजार रुपियाँको १ करोड ३५ लाख ६२ हजार ३२० केजी अम्लिसो निर्यात भएको थियो । यो अघिल्लो आवको तुलनामा ३१ करोड ६४ लाख ५४ हजार रुपियाँले बढी हो । आर्थिक वर्ष २०७९÷०८० मा १ अर्व ८८ लाख रुपियाँको अम्लिसो निर्यात भएको थियो । विगतमा जस्तै समयमा राम्रो मूल्य आएको भए अम्लिसोले निर्यातको दह्रो हिस्सा ओगट्ने सुचना अधिकृत न्यौपानेले बताउनु भयो ।

























