हरिप्रसाद कोइराला
लेटाङ । मोरङको लेटाङ–५ खेरुवाका किसानले लोपोन्मुख प्रजातिका रैथाने बालिको व्याबसायिक खेती सुरु गरेका छन् ।
समावेशी कृषि समूह गठन गरेर स्थानीय ३० जना किसानले तीते फापर, कोदो,मकै,जुनेलो,बेसार,तोरीखेती गर्न थालेका हुन् । आफैं उत्पादन गरेर, प्रशोधन र बिक्री गर्दै आएका किसानले यसको ब्यापारबाट मनग्गे आम्दानी लिन थालेका छन् । उत्पादन भएको कृषि उपजलाई प्रशोधन गर्न लेटाङ नगरपालिकाले ७५ प्रतिशत अनुदानमा धान कुट्ने, मकै पिस्ने र तोरी पेल्ने मिल उपलब्ध गराएपछि यतिबेला समावेशी कृषि समूहका किसानलाई अर्गानिक चामल,पिठो ,बेसार र तेल उत्पादन गर्न भ्याई नभ्याई छ ।
समूहले ५ जनालाई रोजगार समेत दिएको छ । समूहका अध्यक्ष ढकलसिंह मगरले भन्नुभयो – हरेक शनिबार लेटाङ बजारमा बिक्री गर्छौं । सातामा १० हजार माथिको ब्यापार हुन्छ । वडा कार्यालयसँगै आफ्नै प्रदर्शनी केन्द्र छ । त्यहाँबाट हरेक दिन ३÷४ हजार रुपियाँको ब्यापार हुन्छ । आफ्नो समूहका किसानले उत्पादन गरेको कोदो फापरले नपुगेर छिमेकी वडाका किसानले उत्पादन गरेको कोदो, तिते फापर, स्थानीय जातको मकै र बेसार समेत खरिद गरेर भण्डारण गरिएको मगरले बताउनु भयो ।
समूहले हालसम्म १२ लाख रुपियाँ लगानी गरिसकेको छ । कृषि ज्ञान केन्द्रले ५० प्रतिशत अनुदानमा गाडी दिने भएपछि समूहको खर्च एक्कासी बढेको हो । अन्यथा सामान्य खर्चमा राम्रो ब्यापार भइरहेको थियो,अर्का सञ्चालक द्रोणबहादुर मगरले बताउनु भयो ।
समूहमा ३० जना आवद्ध भएपनि १३ जनाले नियमति मासिक बचत गर्ने गर्नुहुन्छ । आर्थिक स्रोतको समस्या नहोस भनेर सानो सानो पुँजी सङ्कलन गर्न थालेको अध्यक्ष ढकलसिंह मगरको भनाई छ ।
मकैको चामल, पीठो ,फापर र कोदोको पीठो बिक्री गर्ने मात्र होइन । समूहले रैथाने खाजा घर समेत सञ्चालन गर्ने तयारी गरेको छ । लेटाङ नगरपालिकाको १५ औं नगरसभामा नगरपालिकाले पाहुनालाई रैथाने खाजा खुवाएर खाजा घरको औपचारिक सुरुवात गरेको छ । वडा नं.४ का वडासदस्य रङ्गबहादुर राईले नगरसभामा उपस्थित कोशी प्रदेशका मुख्यमन्त्री, पूर्वसांसद घनश्याम खतिवडा र छिमेकी नगरपालिका सुन्दरहैँचा,बेलबारी, पथरीशनिश्चरेका नगरप्रमुख लगायत २ सय बढी पाहुनालाई रैथाने खाजा रोटी र गुन्द्रुकको अचार बनाएर खुवाउनु भयो ।
नगरप्रमुख भुपेन्द्रकुमार लावतीले स्थानीय उत्पादनको प्रवद्र्धन गर्न र रोजगारको सिर्जना गर्न रैथाने खाजाघर सञ्चालनमा ल्याएको बताउनु भयो । समावेशी कृषक समूहले आफ्नो उत्पादन प्रयोग गरेर खाजा खुवाए । यसबाट किसान, स्थानीय समूह र लेटाङ नगरलाई फाइदा पुगेको छ , नगरप्रमुख लावतीले भन्नुभयो ।

























