बेलबारी । एलएक्ससिटी फुटबल क्लब बेलबारी मोरङको आयोजनामा आरजु राइस गोल्डकप फुटबल प्रतियोगिताको सातौं संस्करण असोज ११ गते देखि हुने भएको छ ।
बेलबारी ११ को लक्ष्मी खेलमैदानमा हुने प्रतियोगितामा धनकुटाको राजारानी फुटबल क्लब, भोजपुर फुटबल क्लब भोजपुर , सहलेस फुटबल क्लब सिराहा,झापा ११, आयोजक एलएक्ससिटी फुटबल क्लबले प्रतिष्पर्धा गर्नेछन् ।यस्तै गत वर्षको विजेता विग्रेड ब्वाईज ,चर्च ब्वाइज क्लब काठमाडौं , रुपन्देही ११ बुटवल, नेपाल पुलिस क्लब काठमाडौं , र एउटा बिदेशी टिमले भाग लिनेछन् ।बिदेशी टिम निश्चित भएको छैन ।भुटान,सिक्किम र पश्चिम बंगालसँग कुरा भइरहेको छ,क्लबका अध्यक्ष विक्रम राईले भन्नुभयो । क्लबले पहिलोपटक १० टिमलाई सहभागी गराउन लागेको बताउँदै अध्यक्ष राईले वाइवाई ,कोकाकोला,आरजु राइमिल र लाहुरे ट्रेनिङ सेन्टर धरानले खेलमा प्रायोजन गर्ने बताउनुभयो ।
आर्थिक संयोजक एवम क्लबका महासचिव शम्भु बस्नेतका अनुसार प्रतियोगिता आयोजना गर्न ३ सदस्यीय आर्थिक समिति र उत्तम राईको संयोजकत्वमा ४ सदस्यीय खेल ब्यवस्थापन समिति गठन गरिएको छ । प्रतियोगिताका विजेताले ८ लाख नगद सहित रनिङ गोल्डकप र उप विजेताले ४ लाख नगद सहित शिल्ड प्राप्त गर्नेछन् ।यसैवर्ष देखि क्लबले ८ लाख रुपियाँको चाँदी र सुन जडित गोल्डकप तयार गरेको छ ।
प्रतियोगिता आयोजना गर्न ६० लाख रुपियाँ खर्च हुने अनुमान गरिएको छ । प्रायोजक,नगरपालिका र टिकटबाट ७० लाख रुपियाँ सङ्कलन हुने अनुमान गरिएको छ ।

























