पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे –२ वुद्धचौकका ४४ वर्षीय सुवास सुन्दासले कपडामा स्केल राखेर कैंची चलाउन थाल्नु भएको ३० वर्ष भयो । १४ वर्षको उमेरमा आफ्नै बुवाबाट पुर्खाैलि सीप सिक्नु भएका सुन्दासले पथरी बजारमा सुवास वुटिक तथा फेसन वेयर सुरुगर्नु भएको पाँच वर्ष भयो ।
बैदेशिक रोजगारबाट फर्किएर नेपाल मै व्यावसाय गर्न थाल्नु भएका सुवासले बैदेशिक रोजगारबाट फर्किएका १० जना युवालाई रोजगार दिइ रहनु भएको छ । सुवास दैनिक १६ घण्टा सम्म काम गर्नुहुन्छ । उहाँको काम ग्राहकले ल्याएका कपडालाई माग अनुसार डिजाइनमा काटेर कारिगढलाई दिने हो ।
त्यसो त सुवासलाई पथरी ,उर्लाबारीका सटिङ ,सुटिङहरूले मासिक ५० हजारसम्म तलव दिएर कटिङको काम दिन बोलाएका थिए । आफ्नै पसलमा काम गरिरहनु भएका सुवासले भन्नुभयो –‘ मासिक १ लाख २५ हजारसम्म कमाइ भइरहेको छ । १० जना आफ्नै समुदायका सिलाईकर्मी दाजुभाइलाई रोजगार दिइरहेको छु ।’उहाँले थप्नुभयो –‘यहीँ भ्याई नभ्याई छ । आफ्नो तरिकारले काम गरिरहेको छु । किन अन्यत्र गएर काम गर्नु ।’ उहाँको फेसन वेयरमा तीज नजिकिएर मात्र होइन ,ओैषत रुपमा सधैं कामको चाप बढी नै हुनेगर्छ । दशैं र बिबाहको सिजनमा थप कारिगढ राखेर काम गर्नुपर्छ । चाडपर्व आएको बेला सुवास आफन्त र नातेदार सँग मज्जाले बसेर कुरा गर्न सम्म पाउनुहुन्न ।उहाँ भन्नुहुन्छ – ‘ग्राहकले विश्वास गरेर काम दिएको हुन्छ । हामीले ग्राहकले मागेको समयमा सेवा दिन सकेनौं भने विश्वसनीयता गुम्छ ।’
राम्रो कमाई गरिरहेको बेला सुवास अझ धेरै कमाउने सपना बोकेर कतार जानुभयो । ८ वर्ष कतारमा पनि सिलाई सम्बन्धि काम गर्नु भएका उहाँले पैसा खासै कमाउन नसके पनि सीपको गुणस्तर भने अझ निखार आयो । कतारको ८ वर्षको बसाईमा आधुनिक डिजाइनका लुगा सिलाउने,बुटिक भर्ने काम सिकेर आउनु सुवासले पाँच वर्षयता कुनै महिना खालि बस्नु परेको छैन।
दौरा सुरुवाल,कोटपेन्ट,सर्ट पाइजामा,स्कुल ड्रेस लगायत महिलाका फेसनेवल कपडामा बुटिक भर्ने काम पनि उहाँ आफै गर्नुहुन्छ ।मासिक २० हजार रुपियाँ घरभाडा तिरिरहनु भएका सुन्दासले आफ्नो फेसन वेयरमा हालसम्म ६ लाख रुपियाँ लगानी गरिसक्नु भएको छ । सिलाईका लागि आधुनिक प्रविधिका मेसिन उपकरण जोडिसकेको छु । अब थप खर्च छैन । दैनिक १० जनाले आठ÷दश घण्टा काम गरिरहनु भएको छ ।
कुनै समय पथरी बजारमा भारतीय सिलाइकर्मीको उल्लेख उपस्थिति थियो ।पहाडे समुदायका दर्जीहरू आफ्नो पुर्खाैलि पेशाबाट विस्थापित हुँदा भारतीय व्यावसायीको उपस्थिति बढेको सुन्दासको बुझाई छ ।बालिघरे प्रथाबाट बिष्टहरूका कपडा सिलाएर आर्थिक रुपमा कहिल्यै उठ्न नसकेका दर्जीहरू हातमा सिप भएर पनि पेशाबाट विमुख भएका थिए । पसल नचलेपछि कतिले ब्यावसाय बदले । कति पुर्णरुपमा विस्थापित भए ।
अहिले समय बदलिएको छ। तराईमा बालिघरे प्रथा हटिसकेको छ । पथरीमा २५ वटा साना ठुला सिलाइ सेन्टर छन्।ति मध्ये दुईवटा मात्रै मुस्लिम समुदायका पसल छन् । खुला बजारमा मुस्लिम समुदायले पसल गर्न पाउनु हुँदैन भन्ने आसय होइन ।तर, हातमा सीप भएर पनि बेरोजगार भएर बसिरहेका सिलाइकर्मीहरूलाई काम फर्काउने हो ,भने बर्सेनि बाहिरिने करोडौं रुपियाँ स्वदेश मै रहने सुन्दासको बुझाई छ । सुन्दासले दशजनालाई रोजगार मात्रै दिनु भएको छैन । सयौंलाई सीप सिकाएर ब्यावसायिक पनि बनाउनु भएको छ । सुन्दास जस्तै विदेशमा सिकेको सिपलाई स्वदेशमा बिक्री गर्ने हो भने धेरै युवाले बेरोजगार भएर बस्नुपर्ने थिएन ।

























