दमक÷सिम्रिक बचत तथा ऋण सहकारी संस्था लि. बिर्तामोड–४ ले मङ्गलबार आफ्ना उत्कृष्ठ कारोवार गर्ने शेयर सदस्यहरूलाई पुरस्कार तथा राहत प्रदान गरेको छ ।
सिम्रिक बचतको चौथौं वार्षिक साधारणसभा अन्तर्गत दमकमा भएको तेस्रो इकाईगत साधारणसभाका अवसरमा कारोवार तर्फ तीन जनालाई पुरस्कार तथा राहत तर्फ १० जनालाई नगद राहत प्रदान गरिएको हो । तेस्रो इकाईगत साधारणसभाको कार्यक्षेत्र भित्रका पाडाजुँगी, पुरानो आम्दा,क्याम्पसरोड,गौरादह र गौरीगञ्ज सेवाकेन्द्र शेयर सदस्यहरूबाट उत्कृष्ठ कारोवार गर्ने मनोज राई,देवीमाया ओली र गोपाल गुरागाईलाई पुरस्कृत गरिएको हो । यस्तै लीला धिमाल, जानुका खड्का, मञ्जु थापा,शारदा बस्नेत,सुरज संग्रौला,रिताकुमारी अधिकारी,सन्ध्या धिमाल,मीना न्यौपाने ,भीमकुमार गुरुङ र रामु सोरेनलाई राहत वितरण गरिएको हो ।
गोर्खा डिपार्टमेन्टको सभाहलमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि दमक ९ का वडाध्यक्ष कुवेरप्रसाद भट्टराईले साधारणसभामा जानुपुर्व संस्थाको सूचाङ्क हेर्ने गरेको बताउनु भयो । समग्रमा सिम्रिक साकोसका सूचाङ्क राम्रो भएको बताउँदै भट्टराईले पैसा किनेर पैसा बेच्ने भन्दा पनि कृषि उत्पादन क्षेत्रमा लगानी बढाएर शेयर सदस्यलाई आर्थिक रुपमा सम्पन्न बनाउनु पर्नेमा जोड दिनुभयो । सदस्यहरूलाई सहकारी प्रतिको आकर्षण बढाउन जोडदिँदै भट्टराईले सरकारले गर्न नसक्ने काम सहकारीबाट सम्भव हुने बताउनु भयो ।
दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईले सहकारीलाई जोगाएर सञ्चालन गर्ने चुनौति रहेको बताउनु भयो । उहाँले भन्नुभयो – दमकमा मात्र सय बढी सहकारी छन् । ति सबै सहकारीको एउटै उदेश्य छ । तर, सबैले मापदण्ड पालना गरेका छैनन् । सहकारीले सिद्धान्त र मूल्यलाई पछ्याउने हो सहकारी कहिल्यै अप्ठ्यारो नपर्ने उहाँको भनाई थियो ।
संस्थाका अध्यक्ष सुवास भट्टराईको सभापतित्वमा भएको कार्यक्रममा कार्यकारी प्रमुख कमल बहादुर बस्नेतले संस्थाको पछिल्लो आर्थिक वर्षको गतिविधि र संस्थाका सूचाङ्क माथि प्रकाश पार्नु भएको थियो ।
अध्यक्ष भट्टराई आगामी आर्थिक वर्षका लागि प्रस्तावित कार्ययोजना प्रस्तुत गर्नु भएको कार्यक्रम प्रेम बस्नेतले सञ्चालन गर्नुभएको थियो ।

























