कानेपोखरी / मोरङको कानेपोखरी स्थित जनमुखी बचत तथा ऋण सहकारी संस्थाले एकल पुरुष शेयर सदस्यलाई मासिक एक सय रुपियाँ भत्ता दिने भएको छ ।
शनिबार भएको ३२ औं वार्षिक साधारणसभाले एकल पुरुषलाई मासिक भत्ता दिने निर्णय पारित गरेको हो । संस्थाले यस अघि ७० वर्ष माथिका २६ जना शेयर सदस्यलाई मासिक एक सय रुपियाँ पोषण खर्च वापत दिँदै आएको थियो ।
संस्थाकी सबैभन्दा जेष्ठ सदस्य ९४ वर्षीया जमुनादेवी गड्ताैला साधारणसभाकाे उद्घाटन गनुर्भयाे । कार्यक्रममा बाेल्दै नेफ्स्कुनका पूर्व सञ्चालक एवम् जिल्ला बचत संङ मोरङका सल्लाहकार गोमा नेपालले ठूला सहरका ठूला सहकारीले समूदायमा आधारित सहकारीलाई बदनाम गराएको बताउनु भयो । उहाँले समूदायमा आधारित सहकारी संस्थाले ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाएको बताउँदै विपन्न वर्गका लागि ग्रामीण क्षेत्रका सहकारीहरू वरदान सावित भएको उल्लेख गर्नुभयो ।
कानेपोखरी –७ का वडाध्यक्ष मोहनप्रसाद अधिकारीले समूदायका सहकारीले सामाजिक क्षेत्रमा परिवर्तन ल्याएको बताउनु भयो । उहाँले सहकारी संस्थाहरू राज्यले गर्नु पर्ने काम गर्न तयार भएको बताउँदै समूदायसँग जोडिएका सहकारीहरू कहिल्र्य नबिग्रिने बताउनु भयो ।
१ करोड ८६ लाख ८६ हजार शेयर पुँजी रहेको सहकारी संस्थामा १ हजार २०८ जना शेयर सदस्य रहेका छन् । ९ करोड ७९ लाख १५ हजार ३३७ रुपियाँ बचत निक्षेप रहेको संस्थाले गत असार मसान्त सम्ममा ९ करोड ९७ लाख ९० हजार ९८२ रुपियाँ ऋण लगानी गरेको छ । संस्थाको कोष हिसावमा १ करोड ५३ लाख ९७ हजार ४५२ रुपियाँ रहेको छ । गत आर्थिक वर्षको कारोवारबाट संस्थाले ३२ लाख १४ हजार ५१९ रुपियाँ शुद्ध बचत प्राप्त गरेको छ ।
संस्थाका अध्यक्ष सञ्जीव खड्काको अध्यक्षतामा भएको साधारणसभामा गत वर्षको प्रगति प्रदेदन र आगामी आर्थिक वर्षका लागि प्रस्तावित कार्ययाजना अध्यक्ष खड्काले नै प्रस्तुत गर्नु भएको थियो । कोषाध्यक्ष सञ्जीव गुरूङले चालु आर्थिक वर्षका लागि १ करोड ७६ लाख ८३ हजार १ सय रुपियाँको प्रस्तावित आय ब्यय प्रस्तुत गर्नुभयो । लेखा सुपरीवेक्षण समितिका संयोजक मेनुका पौडेलले आन्तरिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नु भएको कार्यक्रममा गतवर्षको आर्थिक कारोवारका आधारमा विभिन्न १३ जना शेयर सदस्यलाई नगद सहित सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।
पूर्व सञ्चालक सम्मानबाट छत्रबहादुर कटुवाल, उत्कृष्ठ ऋण कारोवार तर्फ विष्णुप्रसाद कोइराला र उमा घिमिरे, बचत कारोवार तर्फ अन्जना कटुवाल र लीलाबहादुर श्रेष्ठ पुस्कृत हुनुभयो । यस्तै जेष्ठ सदस्य सम्मानबाट दलबहादुर थामी र दुर्गादेवी न्यौपाने , सर्वाधिक शेयर कारोवार गर्ने हिमप्रसाद तिम्सिना,बाल बचतकर्ता हरि तिम्सिना ,उत्कृष्ठ दैनिक बचतकर्ता जुनिता राई ,उत्कृष्ठ ऐच्छिक बचत पूजा लिम्बू र शेयर सदस्यका छोरी छोरी मध्ये कक्षा १२ मा सर्वाधिक अङ्क प्राप्त गर्ने रुस्तम श्रेष्ठ र पुनम जोगीलाई नगद सहित पुरस्कृत गरियो ।
सहकारी संस्थाले आफ्ना सदस्य सुत्केरी हुँदा पोषण खर्च र मृत्यु हुँदा अधिकतम ३० हजार रुपियाँ सम्म पारिवारिक राहत वितरण गर्दै आएको छ । संस्थाले सहकारीको कार्यलय रहेको वडाका तीन वटा शैक्षिक संस्थालाई साधारणसभाको अवसरमा चार चार वटा डष्टविन समेत प्रदान गरेको थियो ।
सोही अवसरमा सहकारी संस्थाले खुला रक्तदान तथा निशुल्क आँखा जाँच शिविरको आयोजना गरेको थियो । कार्यक्रममा ३२ जनाले रक्तदान गर्नु भएको थियो भने १३८ जनाले आँखा जाँच गराउन्ु भएको थियो । साधारणसभा कानेपोखरी –७ को जनकल्याण मावि परिसरमा भएको थियो ।

























