पथरीशनिश्चरे । काठमाडौंको सङ्कटा क्लव मोरङको पथरीशनिश्चरेमा जारी प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण इन्ट्रा पथरीशनिश्चरे गोल्डकप २०८१ को सेमिफाइनमा प्रवेश गरेको छ ।
सोमबार भएको खेलमा भारतको युनाइटेड खर्साङ फुटबल क्लव ( युकेएफसी) दार्जिलिङलाई २–० गोलले हराउँदै सङ्कटा सेमिफाइनलमा प्रवेश गरेको हो । खेलको २८ ओैं मिनेटमा सङ्कटाका कृपा चौधरीले टिमका लागि उद्घाटन गोल गरे । पोष्टमा प्रहार गरेको बल युकेएफसीका गोल रक्षक रुपक कोयाले नियन्त्रण प्रयासमा रिवाउण्ड भएको बललाई कुनै गल्ती नगरीकन कृपाले जालि चुमाएका थिए । खेलको अतिरिक्त समयमा सङ्कटाका युवराज ढकालले एक गोल थप्दै टिमलाई सेमिफाइनल यात्रा सुनिश्चित गराए ।
भारतीय टिमले पटक पटक राम्रा अवसर बनाए पनि बललाई जालिको दिशा दिन सकेनन । हरेक पल्ट युकेएफसीका लागि सङ्कटाका आइकिन्स वुफर बाधक बने ।
सोमबारको खेलमा सङ्कटाका पुष्कर खड्काले म्यान अफ द म्याच घोषित हुँदै ट्रफि सहित ५ हजार रुपियाँ प्राप्त गरे । मङ्गलबार काठमाडौंको विग्रेड ब्वाइज र सिराहाको सहलेस फुटबल क्लव बिच खेल हुनेछ ।
पथरी ११ फुटबल क्लवले आयोजना गरेको प्रतियोगिताका विजेताले ३ लाख र उप विजेताले २ लाख प्राप्त गर्नेछन् ।

























