कानेपोखरी / मोरङको कानेपोखरी गाउँपालिकाको लगानीमा महिलाहरू उद्यमशील बन्दै गएका छन् । पालिकाले हालै मात्र बेसिक ब्युटिसियन तालिम सम्पन्न गरी सहभागिलाई प्रमाणपत्र प्रदान गरेको छ । सोमबार पालिकाको सभाहलमा गाउँपालिकाका अध्यक्ष राजमती इङ्नामको अध्यक्षतामा औपचारिक कार्यक्रमका बीच तालिमको सम्पन्न भएको हो ।
२०८१ साउन १ गते देखि सुरु भएको तालिम करिब दुई महिनासम्म चलेको थियो । तालिममा दुई सिफ्टका कक्षामा जम्मा ६० जना प्रशिक्षार्थीले भाग लिएका थिए । सौन्दर्य सम्बन्धी आधारभुत तालिम समापनसँगै नेल आर्ट तालिम सुरु भएको छ । नेपालमा नै पहिलोपटक यो तालिम स्थानीय तहले प्रदान गर्न लागेको प्रशिक्षक निरम बस्नेतले बताउनु भयो । नेल आर्टमा २० जना सहभागी छन् । तालिम अत्यन्त महँगो रहने गर्दछ । यस्तै त्यसपछि ब्युटिसियन एडभान्स तालिम समेत सञ्चालनको चरणमा रहेको छ ।
महिलाको क्षमता आत्मनिर्भरता र सीप माथि निखार ल्याउन पालिकाले लगानी गरेको र भविष्यमा महिलालाई पुर्ण रोजगारी हुन यस्ता खाले कार्यक्रमको आयोजना भएको पालिका अध्यक्ष राजमति इङ्नामले बताउनुभयो । उहाँले महिला अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत महिला हुँदा समेत महिलाहरूमा लगानी गर्न सकेनौं भने कहिले लगानी हुन्छ भन्ने सोचले कार्यक्रम यकिन गरि लगानी गरेको बताउनुभयो।
पहिला पहिला पनि महिलामा लगानी भएका थिए । तर,पुराना कार्यक्रम सधैँ एकै नासका सिलाई कटाई लगायत भै रहेकोले अब चाहिँ महिलाको मागमा आधारित कार्यक्रम सञ्चालन गरौं भनेर यो सञ्चालन गरेका हौं इङ्नामले भन्नुभयो । यस्तै तालिम प्राप्त महिलालाई अघि बढ्न र आत्मनिर्भर बन्न र आफूमा भएको कला र सीपलाई निखार्न पालिकाको साथ साथै आफैले पनि प्रयास गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा उत्कृष्ट पाँच सहभागीलाई एडभान्स ब्युटिसियनको तालिममा समेत सहभागी गरिने अध्यक्ष इङ्नामले जानकारी दिनुभयो।
पालिकाको दस लाख लगानीमा तालिम सञ्चालन भइरहेको प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवले बताउनुभयो । महिला उद्यमशीलतामा गुडिया तालिम, क्रिस्टल माला, धिमाल पेटानी, जुत्ता तालिम र युवा लक्षितमा ड्राइभिङ,बेकरी, कफी तालिम गाउँपालिकाले आयोजना गर्दै आएको छ । पालिकाको आयोजनामा सञ्चालन भइरहेको तालिममा इन्टरनेसनल ब्युटिसियन एकेडेमीले सहजीकरण गरिरहेको छ । यो वर्ष मात्र विभिन्न तालिममा पालिकाका ५ सय जनाले सीप सिकी सकेका छन् ।

























