विराटनगर । नेपालबाट भारततर्फ प्लाई र रेडिमेड ढोका निर्यात हुने क्रम बढेसँगै नेपाली उद्योगहरूले कच्चा पदार्थको अभाव खेप्न थालेका छन् । मोरङको पथरीशनिश्चरे ९ जरायोटोलस्थित डोर कन्सेप्ट नेपाल कम्पनीले २ वर्ष अघि देखि प्लाई उत्पादन गर्न थालेको हो ।
कोशी प्रदेशका पहाडी जिल्लाबाट आउने कच्चा पदार्थको मूल्य दोब्बर वृद्धि हुँदा उत्पादन घट्न गई बजारमा माग अनुसार आपुर्ति गर्न नसकिएको उद्योगी रामकुमार राईले बताउनु भयो । राईका अनुसार विगतमा ३५० रुपियाँ पर्ने गोलिया काठ अहिले ६ सय रुपियाँ पुगेको छ । एकातर्फ नेपाली प्लाईको माग भारतमा बढेको छ भने अर्को तर्फ कच्चा पदार्थको अभावमा उद्योगले क्षमता अनुसार उत्पादन गर्न सकेका छैनन ।
दैनिक १८ हजार स्वायर फुट उत्पादन क्षमताको डोर कन्सेप्ट नेपाल कम्पनीले हाल १५ हजार स्वायर फुट प्लाई उत्पादन गरिरहेको राईले बताउनु भयो । उहाँका अनुसार प्लाईको मूल्य उद्योगले बढाएका छैनन । तर, ब्यापारीको हातमा पुगेपछि उद्योगले जिम्मा लिन सक्दैनन,राईले भन्नुभयो ।
२४ करोड रुपियाँको लगानीमा सुरु भएको उद्योगमा हाल २ सय जनाले काम गरिरहेका छन् । कच्चा पदार्थ र फेस(प्लाईमा लगाउने कच्चा पदार्थ, जुन भारतबाट ल्याउनु पर्छ ) सहज उपलब्ध हुने हो भने उत्पादनमा समस्या छैन । तर, कहिले पहाडको बाटो बिग्रिएको, कहिले बनले काठ रोकेको बहानामा कच्चा पदार्थ समयमा उपलब्ध नहुँदा माग अनुसार उत्पादन हुन सकेको छैन । सञ्चालक राईले भन्नुभयो –हामीले भारत वा तेस्रो देश निर्यात हुने गरी उत्पादन गर्न सकेका छैनौं । तर,बी ग्रेडको उत्पादन गर्न थालेका छौं । भारत र तेस्रो देश ए ग्रेडको प्लाई मात्र निर्यात हुने गर्छ ।
बेलबारी उद्योग वाणिज्य सङ्घका महासचिव एवम् पाथीभरा ट्रेडर्स बेलबारी –११ का सञ्चालक विवेक मिश्र उद्योगीले नगद पैसा दिँदा पनि नेपाली ब्यापारीलाई प्लाई बिक्री गर्न नमानिरहेको बताउनु हुन्छ । मिश्रले भन्नुभयो – पातलो प्लाईमा प्रति स्वायर एक रुपियाँ पचास पैसा र मोटो प्लाईमा अढाई रुपियाँ सम्म मूल्य वृद्धि भएको छ । वृद्धि भएको मूल्य तिरेर पनि उपभोक्ताको माग धान्न समस्या भइरहेको महासचिव मिश्र बताउनु हुन्छ ।

























