Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

पथरीशनिश्चरे । मोरङका किसान धान खेत मास्दै सुपारी खेती लगाउन थालेका छन् । सुपारी खेतीमा बहुबाली लगाउन सकिने र सुपारीका दानासँगै पात पनि राम्रो मूल्यमा बिक्री हुन थालेपछि किसान सुपारी प्रति आकर्षित भएका हुन ।
कृषि ज्ञान केन्द्र मोरङको तथ्याङ्क अनुसार मोरङमा ९ सय ५ हेक्टर जमीनमा सुपारी खेती हुने गरेको छ । कृषि ज्ञान केन्द्र मोरङका प्रमुख दीपा देवले भन्नुभयो – हाम्रो तथ्याङ्कमा उत्पादन हुने क्षेत्र ३ वर्षयता बढेको देखिदैन । तर, असार यता सुपारी लगाउने किसान र उत्पादन क्षेत्र बढेको छ । उहाँका अनुसार मोरङमा आर्थिक वर्ष ०८१÷०८२ मा २ हजार ९४९ दशमलव ५४ मेट्रिक टन सुपारी उत्पादन भएको थियो । यो उत्पादन अघिल्लो आवको तुलनामा १ दशमलव ५४ मेट्रिक टनले बढी हो ।
मोरङमा खासगरी उत्तरी मोरङका मिक्लाजुङ, लेटाङ र केरावारीका सुपारी खेती हुने गरेको छ । लेटाङका खगेन्द्रराज भण्डारीले गत वर्ष सुपारीका पात मात्र ६ हजार रुपियाँका बिक्री गर्नुभयो । त्यस्तै सोही स्थानका हरिप्रसाद धिमालले १० हजारको पात बिक्री गर्नुभयो । भण्डारीले ६ सय बिरुवा र धिमालले १५ सय बिरुवा सुपारी लगाउनु भएको छ । सुपारी बिक्रीबाट समेत राम्रो मूल्य पाइरहनु भएका धिमाल र भण्डारी प्रतिनिधि पात्र मात्र हुनुहुन्छ । सुपारी सानो भइन्जेल तरकारी, अदुवा , बेसार खेती गर्न सकिने र र ठूलो भएपछि सुपारीका बोटमा पान र मरिच खेती गर्न सकिने भएपछि किसानमा थप आकर्षण बढेको कृषि केन्द्र प्रमुख दीपा देव बताउनु हुन्छ ।
पछिल्लो समय मोरङका उर्लाबारी,पथरीशनिश्चरे, कानेपोखरी र बेलबारीमा पनि किसानले धान खेत मास्दै सुपारी लगाउन थालेका छन् । पथरीशनिश्चरे–३ का छवि घिमिरेले ४ कट्ठा जमीनमा १२ सय बिरुवा लगाउनु भएको छ । एक पटक लगाएपछि लामो समयसम्म आम्दानी लिन सकिेन भएपछि सुपारी लगाएको घिमिरेको भनाई छ । उहाँ मात्र होइन,जयन्द्र चुडालले एक विगाहामा, खगेन्द्र सुवेदीले ५ कट्ठामा ,मोहन गौतमले ७ कट्ठामा ,दीपक दाहालले ७ कट्ठामा खगेन्द्र लुइटेलले ५ कट्ठामा र बासु काफ्लेले एक कट्ठामा सुपारी खेती लगाउनु भएको छ ।
कोशी नर्सरीका सञ्चालक उस्मान खानले सुपारी रोपिदिएर एक वर्षसम्म स्याहार गरिदिने र वर्षदिन अघि मरेकाका बिरुवा साटिदिने गरी प्रति बिरुवा २ सय रुपियाँमा सेवा दिएपछि किसान सोही अनुसार सुपारी खेतीमा लागेका छन् । तर,हाल आएर किसान ठगिएको अनुभुति गर्न थालेका छन् । किसान बासुदेव काफ्लेले भन्नुभयो–हाल आएर उनी किसानको फोन उठाउन छोडेका छन् ।
यता मोरङको कानेपोखरी क्षेत्रमा समेत सुपारी खेतीको लहर चलेको छ । कानेपोखरी–५ को कालिका नर्सरीका सञ्चालक बासुदेव राजवंशीले भन्नुभयो – १ वर्ष यता १ लाख बिरुवा बिक्री गरिसकेको छु । कानेपोखरी, बेलबारी र पथरी सम्मका ग्राहकले बिरुवा लानु भएको छ । राजवंशीले ८० हजार विरुवा भारतबाट र अरु आफैले हुकाएको नर्सरीबाट बिक्री गर्नु भएको हो । कानेपोखरी ७ कि बिमला कोइरालाले भन्नुभयो – ३ कट्ठा जग्गामा २ सय बिरुवा लगाएको छु । ५० रुपियाँ गोटाका बिरुवा शत प्रतिशत हुकिएको कोइरालाले बताउनु भयो ।
कोशी प्रदेशकै ठूलो दीपेश नर्सरी सुन्दरहरैँचा खोर्सानेका सञ्चालक दीपेश जोगीले यो वर्ष मात्र डेढ लाख बिरुवा बिक्री गरिसक्नु भएको छ । तर, उहाँले देशभर बिरुवा वितरण गर्नुहुन्छ । दीपेशले भन्नुभयो – मोरङमा मात्र ३० हजार बढी बिरुवा बिक्री भएको छ ।
उत्तरी मोरङमा भने नर्सरीबाट किनेर भन्दा आफैं नर्सरी राखेर बिरुवा लगाउने क्रम बढेको छ । किसानले दाना खरिद गर्ने र आफैं नर्सरी राखेर बिरुवा उतपादन गर्दा लागत खर्च कम हुने गरेको किसानको भनाई छ ।



Share via
Send this to a friend