हरिप्रसाद कोइराला
लेटाङ । बन कार्यालय, लेटाङ नगरपालिका र सङ्घीय खानेपानी आयोजना बिच समन्वय हुँदा नसक्दा दुई वर्षमा सम्पन्न हुने आयोजना ६ वर्ष बित्न लाग्दा पनि सम्पन्न भएको छैन् ।
मोरङको लेटाङमा सङ्घीय खानेपानी आयोजनाले २८ करोड ९९ लाख ५८ हजार ८० रुपियाँमा लेटाङ बजार ढल निर्माण तथा प्रशोधन आयोजना सञ्चालन गर्न टेण्डर आह्वान गरेको थियो । गोल्डेन विकोइ खुस्बु जेभी कम्पनीले १९ करोडमा ठेक्का प्राप्त गरेको यो योजना २०७६ सालको असार २५ गते सङ्घीय खानेपानीले २ वर्षमा ढल निर्माण तथा प्रशोधन आयोजनाको काम सक्ने गरी ठेक्का लगाएको हो ।
जतिबेला आयोजनाको डिपीआर बनेको थियो । त्यो बेला लेटाङका अधिकांश सडक ग्राभेल थिए । २०७४ मा स्थानीय सरकार बनेपछि जनसहभागितामा सडक कालोपत्रे भए । सडक कालोपत्रे भएपछि ढल निर्माण तथा प्रशोधन आयोजनाको ठेक्का स्वीकृति पत्र लिएर सङ्घीय खानेपानी आयोजना र निर्माण कम्पनीका प्रतिनिधि लेटाङ नगरपालिका पुगे ।
२०७६ सालको कात्तिक १८ गते लेटाङ नगरपालिकाका तत्कालिन प्रमुख शङ्कर राईको अध्यक्षतामा आयोजनालाई काम गर्ने वातावरण तयार गरी दिने विषयमा छलफल भयो । छलफलमा स्थानीयले ठूूला आयोजनाले बनिसकेका सडक, खानेपानी र विद्युत प्रशारणलाई अबरुद्ध गर्ने र भत्किएको संरचना नबनाई छोडिदिने गरेको भन्दै संरचना नबिगारि ढल निर्माण गर्न सुझाएका थिए ।
सङ्घीय खानेपानी आयोजनाका प्रमुख डिभिजन इन्जिनीयर सुरतलाल चौधरीले भन्नुभयो– सम्झौता अनुसार कम्पनीले २०७८ को असार २४ गते काम सम्पन्न गरी आयोजना हस्तान्तरण गर्नु पर्ने थियो । तर,५ वर्ष ४ महिना बितिसक्दा पनि आयोजना सम्पन्न भएको छैन् । उहाँका अनुसार डिपीआर गरेको समयमा सडक ग्राभेल थियो । काम सुरु गर्न आउँदा कालोपत्रे भयो । स्थानीयको लागत सहभागितामा बनेको कालोपत्रे भत्काएर पाइप गाड्ने वातावरण बनेन । बनसँग स्वीकृति नलिई काम सुरु भएकोले एक वर्ष समय वनसँग कानूनी प्रक्रिया पु¥याउन लाग्यो । चौधरीले निर्माण कम्पनीले काम गरेको भुक्तानी दिन नसक्दा काम समयमा सम्पन्न नभएको बताउनु भयो । एकातिर साइड खाली गर्न सरकारी निकाय बिच नै समन्वय हुँदैन । अर्को तर्फ सरकारले समयमा भुक्तानी दिन सक्दैन ।चौधरीले बिग्रिएको संरचना निर्माण गर्न नयाँ भेरिएसन अर्डर (भिओ) गर्नुपर्ने लगायतका सबै कानूनी अप्ठ्यारा र जटिलताले गर्दा काम समयमा सम्पन्न गर्न नसकिएको बताउनु भयो । उहाँका अनुसार बजारको हरेक घरबाट निस्कने ढल डम्पिङ साइड सम्म पु¥याउन ९ हजार ४२४ मिटर लम्वाई पाइप गाड्नु पर्नेथियो । पाइप गाड्ने काम सकिएको छ । स्थानीयको माग अनुसार भत्किएको ठाउँमा अस्फाल्ट प्रविधिको कालोपत्रे गरिसकेका छौं । ८० प्रतिशत भौतिक प्रगति भइसक्दा वित्तीय प्रगति ६९प्रतिशत मात्र भएको छ ।
नगरको वडा नं. ३ स्थित कमलपुर सामूदायिक वन नजिकै २ विगाहा जग्गामा ढलको डम्पिङ हुने प्रबन्ध मिलाइएको छ ।उक्त काम पनि सम्पन्न भइसकेको निर्माण कम्पनीका प्रतिनिधि दीपक पौडेलले बताउनु भयो । सरकारी निकाय बिच समन्वय नभई ठूला आयोजना ठेक्का लगाउँदा समस्या भएको पौडेल बताउनु हुन्छ । सरकार समयमा भुक्तान दिन सक्दैन । अर्को तर्फ निर्माण कम्पनीले काम गर्ने वातावरण हुन्न,कहिले बनले स्वीकृति माग्छ, कहिले उपभोक्ताले काम गर्न दिँदैनन । उहाँले २ जना कर्मचारी ५ वर्ष देखि आयोजनाको डम्पिङ स्थलमा राखिरहेको बताउनु भयो ।
लेटाङ नगरपालिकाका नगर प्रमुख भूपेन्द्रकुमार लावतीले नगरको विकासमा दीर्घ कालिन असर पु¥याउने आयोजनाहरू समयमा सम्पन्न नहुँदा समस्या भइरहेको बताउनु भयो । उहाँले कतिपय सङ्घीय आयोजनाहरू स्थानीय सरकारसँग परामर्स नभई आउने गरेकोले समयमा सम्पन्न नहुने गरेको बताउनु भयो ।

























