उर्लाबारी । जैविक मल प्रति किसानको आकर्षण बढ्दा मोरङको उर्लाबारी–९ का राजीव खड्कालाई मल उत्पादन गर्न भ्याइ नभ्याई छ । बैदेशिक रोजगारमा १६ वर्ष काम गरेर नेपाल फर्किनु भएका खड्काले १५ महिना अघि प्राङ्गारिक मल उद्योग सञ्चालनमा ल्याउनु भएको हो ।
नगरपालिकाहरूले प्रचारप्रसार र प्रबद्र्धनमा सहयोग गरेपछि यतिबेला खड्का ट्रकमा हालेर मल बिक्री गर्न विभिन्न कृषि सहकारीलाई पठाइरहनु भएको छ । सन् २०१९ मा नेपाल फर्किनु भएका खड्काले सुरुमा आमा कृषि फर्म दर्ता गरेर गाई र बाख्रापालन गर्नुभयो । दुबइ, कतार र कुवेतमा गरी १६ पसिना बगाउनु भएका खड्काले श्रीमती र छोराछोरी पनि उतै लगिसक्नु भएको थियो । मासिक ६ लाख ५० हजार रुपियाँ कमाइ रहनु भएका खड्कालाई दुवईमा सिकेको सीप नेपालमा आएर प्रयोग गर्ने भोक जाग्यो र उहाँ नेपाल फर्किनु भयो । दुवईबाट हेल्थ सेफ्टी एण्ड इन्भारमेन्ट(एचएसई)उत्तीर्ण गर्नु भएका खड्काले ठूलो जागिर छोडेर नेपालमा पशुपालन र जैविक मल उत्पादन गर्ने सपना देख्नुभयो । कमाएर ल्याएको सबै पैसा गाई बाख्रापालनमा लगाउनु भयो ।
सन् २०२० बाट सुरु भएको आमा कृषि फर्मले लगानीको ब्याज पनि उठाउन सकेन । जति जोतिए पनि आम्दानी र खर्च बराबर । अहिले पनि ५६ वटा बोयर जातका बाख्रा ६ वटा लैना गाई सहित १६ वटा बाछाबाछी खड्काको फर्ममा रहेका छन् । पशुपालनबाट राम्रो लाभ लिन नसकेपछि खड्काले गाईको गोवर र बाख्राको जुतो र कुखुराको सुली प्रयोग गरेर प्राङ्गारिक मल उत्पादन गर्न थाल्नुभयो ।१५ महिना अघि सुरु भएको मल उद्योगमा हालसम्म १ करोड ५ लाख रुपियाँ खर्च भइसकेको छ । कोशी प्रदेशको कृषि मन्त्रालय कृषि ज्ञान केन्द्र मोरङले ५० लाख अनुदान दिएको छ भने बाँकी खर्च खड्काले आफैं ब्यवस्थापन गर्नु भएको छ । खड्काले भन्नुभयो–प्राङ्गारिक मलले सन्तोषजनक परिणाम दिएको छ । खड्का अनुसार हाल दैनिक १५ सय किलो मल उत्पादन भइरहेको छ । प्रयोग गर्ने किसानबाट प्राप्त हौसलाले थप लगानी गर्ने उर्जा मिलेको खड्काको भनाई छ । हाल प्रति किलो ३८ रुपियाँमा बिक्री भइरहेको मल फट्टा मेसिन खरिद गर्न सके ३० रुपियाँ सम्ममा बिक्री गर्न सकिने खड्काले बताउनु भयो । खट्टा मेसिनलाई २५ लाख रुपियाँ पर्छ ।
कोशी प्रदेशका स्थानीय सरकारले सहकारी मार्फत प्राङ्गारिक मल खरिद गर्ने सम्झौता गरेपछि खड्का हाल १९ घण्टा उद्योग मै काम गर्नुहुन्छ । उहाँले भन्नुभयो – १५ जना कामदार हुनुहुन्छ । उहाँहरूसँगै हामी दम्पत्ति पनि खट्छौं । एकजना भारतीय कृषि प्राविधिक हुनुहुन्छ । खड्काले पछिल्लो १ महिना यता झापा, मोरङ, सुनसरी र मधेश प्रदेशका केही जिल्लामा मल पठाइसक्नु भएको छ ।
खासगरी नर्सरीहरू, तरकारी खेती, फलफूल खेतीलाई एकै वर्षमा रासायनिक मल मुक्त गराउन सक्ने क्षमता राख्ने यो मलमा नाइट्रोजन २,पोटास २ दशमलव ७८ ,फस्फोरस ३, अर्गानिक कार्वन २१ प्रतिशत र पीएच लेवल ७ दशमलव ७ रहेको प्रमाणित भएको छ । गोबर,सुली र जुतोमा अरु १२ तत्वको मिश्रणबाट यो दानादार मल बनाइन्छ । दुवई र कुवेत बस्दा मुम्बईका कृषि बैज्ञानिकहरूसँगको सङ्गतले खड्कालाई कृषि क्षेत्रमा आकर्षित गरेको हो । उहाँले भन्नुभयो –घर आएर गोठ बनाउँन थाल्दा धेरैले खड्का बहुलायो भने , कतिले ओठ लेप्राए । यद्यपि जे सपना बोकेर नेपाल आएको थिएँ । त्यो पुरा गर्ने अभियानमा छु ।
कच्चा पदार्थ पु¥याउन सक्दा दैनिक १५ हजार किलो मल उत्पादन गर्न सकिन्छ । तर, हाल सरदर २ हजार किलो मल उत्पादन भइरहेको छ । केराखेती, ड्रयागन फ्रुट,नर्सरी र तरकारी खेती गर्ने किसानलाई नै पु¥याउँन सकेको छैन् । धान, मकै, तोरी बालीका लागि उत्पादन गर्न लगानी अझै ठूलो चाहिन्छ । उहाँले सरकारले रासयनिक मलमा दिने अनुदान जैविक मलमा लगानी गर्ने हो भने ५ वर्षमा रासायनिक मल बिस्थापित गर्न सकिने बताउनु भयो ।
























