उर्लाबारी । कुनै समय सञ्चार र खबर आदान प्रदानको सबैभन्दा छिटो र भरपर्दो माध्यम हुलाक यतिबेला गुमनाम हुँदै गएको छ ।
देशैभर सुचना र सञ्चारको पहुँच बिस्तार भएपछि हुलाक कार्यालय गुमनाम बन्दै गएको हो । तर,सरकारले एक पालिका एक हुलाक कार्यालयको ब्यवस्था गरेपछि सेवाग्राहीले हुलाक टिकट तोकिएको मूल्यमा पाउन छोडेका छन् । हुलाक कार्यालय उर्लाबारीका प्रमुख विनोद ढकालले भन्नुभयो ‘ चिट्ठी आदान प्रदान मात्र कमी भएको हो । हुलाक टिकट बिक्री बिगतको तुलनामा बढेको छ ।’ढकालका अनुसार बैंक,प्रहरी र अदालतका पत्रले हुलाकको पुरानो विरासद थानेको छ । ढकालले भन्नुभयो –कुनै कुनै महिना सादा चिट्ठी एउटा ,दुईटा मात्र हुन्छन् । बैंक र अदालतले पठाउने दर्तावाल पत्रको सङ्ख्यामा भने खासै कमी आएको छैन् ।
उर्लाबारी हुलाक कार्यालयको तथ्याङ्क अनुसार गत साउनमा ४८ हजार ४८२ रुपियाँको टिकट बिक्री भयो तर,सादा पत्र दुई वटा मात्र पत्र मञ्जुषामा खसे । बाहिरबाट २४ वटा सादा पत्र आए । २४८ वटा पत्र रजिष्र्टड भएर आए भने उर्लाबारीबाट २८४ वटा पत्र रजिष्र्टड भएर गए । रजिष्र्टड पत्र सबै बैंक,अदालत र प्रहरी कार्यालयबाट पठाइएका पत्र थिए । विदेशबाट आउने पार्सलले पनि हुलाक सेवालाई थानेको छ । खासगरी खाडी राष्ट्रबाट आउने सामानहरू पनि पार्सलबाट आउने गरेको कार्यालय प्रमुख ढकाल बताउनु हुन्छ ।

भदौमा ३० हजार ८०९ रुपियाँको हुलाक टिकट बिक्री गरेको उर्लाबारी कार्यालयको पत्र मन्जुषामा तीन वटा पत्र खसे । रजिष्र्टड र पार्सलमा भने प्रसस्त पत्र आए । कार्यालय प्रमुख ढकालले भन्नुभयो – पालिकाको वडा वडामा पनि हुलाक टिकट टाँसेर सरकारी काम गर्नुपर्छ । जसले गर्दा टिकट बिक्री घटेको छैन् । तर,पत्र मन्जुषामा खस्ने पत्रको सङ्ख्या भने शुन्यमा झरेको छ । उहाँले भन्नुभयो – मालपोत, नापी, इलाका प्रशासन , करदाता सेवा कार्यालय, इलाका प्रहरी, पालिकाहरू ,वडा कार्यालय जस्ता सरकारी कार्यालयमा परामर्स सेवा दिन बसेकाहरूले टिकट किन्ने गर्छन् ।
असोजमा पत्र मन्जुषामा एउटा पनि पत्र खसेन । जबकी असोजमा २६ हजार ३६ रुपियाँको टिकट बिक्री भयो ।
गाउँ गाउँमा रहेका अतिरिक्त हुलाक बन्द भएपछि हुलाक टिकट तोकिएको मूल्यमा पाउन छोडेको छ । सेवा परामर्सका नाममा दर्ता भएका कम्पनीहरू दश रुपियाँको टिकट ग्राहकको अनुहार हेरेर पन्ध्र÷बिस रुपियाँ सम्ममा बिक्री गर्ने गरेका छन् ।

























