मोरङ । भारतबाट अवैध रुपमा माछा भित्रिदा माछा उत्पादक किसान मारमा परेका छन् । मोरङको रङ्गेली नगरपालिका वडा नं.–१ गोहीगाढामा ६ विगाहामा पाँच बिगाहा जलाशय क्षेत्रमा ब्यावसायिक माछा उत्पादन गरिरहेका किसानले भारतीय माछा नेपाल आउने क्रम नरोकिएर नेपाली किसान बिस्थापित हुने बताएका छन् ।
२०७७ साल चैतमा ३५ बिगाहा जमीन खरिद गरी जयश्रीराम एग्रो फार्म प्रालिले पाँच बिगाहामा माछापालन सुरु गरेको हो । ३० करोड रुपियाँ लगानी गरी माछासँगै , पशुपालन, ड्रयागन फ्रुट, फलफुल खेती र मौसमी खेती गरिरहेको फर्मले माछालाई बढी महत्व दिएको थियो । नेपाली बजारमा माछाको माग उच्च छ । तर, नेपाली माछा उत्पादन भएपछि भारतबाट अवैध रुपमा माछा भित्रिने गर्छन् । जसले गर्दा नेपाली ब्यावसायि मारमा पर्ने गर्छन् । फर्मका सञ्चालक टेकनाथ पौडेलले भन्नुभयो – बजार भरि हाम्रो पोखरीको माछा भनेर माछा बिक्री हुन्छ । जबकी हामीले माछा निकालेकै हुन्नौ । वार्षिक १ लाख किलो माछा निकाल्ने लक्ष्य सहित सुरु भएको फर्मले बार्षिक ८० हजार किलो माछा उत्पादन गरिरहेको छ । माछाको माग पनि छ ।
तर, नेपाली उपभोक्ताले शुद्ध माछा खान पाउँदैनन् । उहाँले भन्नुभयो – ६० प्रतिशत रकम खर्च हुन्छ । बाँकी शुद्ध नाफा हो तर, उत्पादक किसानको हातमा बजार हुँदैन । एकपटक माछा किनेर लगेको ब्यापारीले ३÷४ वर्षसम्म पोखरीको नाम बेचेर भारतीय माछा बेचिदिन्छन् ।
मङ्सिर देखि माघसम्म माछा ब्यापार हुने मुख्य सिजन हो । यही सिजनमा भारतीय माछा भन्सारबाटै भित्रिन्छन् । भारतले दिने अनुदान ,लगानी र खर्च नेपालको भन्दा कम हुन्छ । त्यसैले उनीहरूको उत्पादन नेपालको भन्दा सस्तो हुन्छ । हामीले ४ सय रुपियाँमा बिक्री गरेको माछा उनीहरू तीनसयमा बेचिदिन्छन् । जसले गर्दा हाम्रा माछा बिक्दैनन । पौडेलले भन्सारबाट अबैध रुपमा माछा भित्रिने क्रम नरोकिए नेपाली माछा उत्पादक किसानले ब्यवसायबाट पलायन हुनुपर्ने बताउनु भयो ।
हामीले त माछा उत्पादन मात्र गरिरहेका छैनौं । पशुपंक्षी,२ बिगाहामा ड्रयागन खेती, एक बिगाहामा आँप,लिचि,कटहर, एभोकाडो लगायत फलफुल खेती र एक बिगाहामा हरियो सागसब्जी खेती छ । २० बिगाहामा मौसम अनुसार धान, मकै,गहु, तोरी लगायतका बाली लगाउने गरेका छौं । तर, माछा मात्र उतपादन गर्ने किसानलाई उठ्न दिँदैन ,पौडेलले भन्नुभयो ।
१४ जना कामदारले रोजगार पाइरहेको जयश्रीराम एग्रो फार्मले माछा,ड्रयागन फ्रुट र चैते धान खेतीमा अध्ययन गरिरहेको छ । सञ्चालक पौडेलले भन्नुुभयो–२०३५ सालमा भित्रिएका माछाका भुरा बाटै अहिलेसम्म नेपालको माछापालन चलिरहेको छ ।चीनबाट ल्याइएको त्यो जात मन्सुली धानको बीउ जस्तै भएको छ । उत्पादन खिएकोे खिएकै छ । त्यसैले हामी माछा, ड्रयागन र चैते धानकोे नस्ल सुधारका लागि अध्ययन गरिरहेका छौं ।
सरकारले समयमा मल र बीउ मात्र उपलब्ध गराए, कृषि उत्पादनमा बैदेशिक परनिर्भता घटाउन सकिने सञ्चालकहरूको भनाई छ । सञ्चालक पौडेलले भन्नुभयो – माटो सुधारमा समय लाग्ने रहेछ । विगतमा हाम्रो खेतीपाति गोबर मलमा निर्भर थियो । किसानले रासायनिक मल खोजि गर्दैन थिए । तर, नेपालमा रासायनिक मल भित्रिएपछि किसानको आकर्षण गोबरमल प्रति घट्यो । पछिल्लो २ दशक नेपालमा रासयनिक मलको प्रयोग अत्यधिक भयो । जसले गर्दा माटोेको उर्भरशक्ति क्षय भएको छ । सरकारले पहिले गोबरमल बिस्थापित गरायोे ,अहिले पर्याप्त रासयनिक मल दिन सक्दैन । कृषि उत्पादनको जड समस्या नै यही हो ।’
फर्मका ब्यवस्थापक मेघराज घिमिरेले भन्नुभयो– उपभोक्ता शुद्ध भन्दा सस्तो खोज्छन् । भारतीय माछा भन्सार नतिरी आउँछ । फर्मालिन हालेर आएका माछा अखाद्य हुन्छन् । तर, पनि ग्राहकले सस्तो नै रोज्छन् । उपभोक्ता अधिकारवादीहरूले यस विषयमा सचेतना जगाउनु पर्ने घिमिरेले बताउनु भयो ।

























