पथरीशनिश्चरे । मोरङका पथरीशनिश्चरे–६ का पूर्व वडाध्यक्ष जयबहादुर तामाङ यतिबेला राजनीतिसँगै ब्यावसायिक खेतीमा लाग्नु भएको छ ।
तीन वर्ष यता उहाँ राजनीतिक कार्यक्रम , सभा, समारोहमा भन्दा आफ्नै खेतबारीमा भेटिनु हुन्छ । खाद्य बालि भन्दा फलफुल खेतीमा दोब्बर आर्थिक लाभ हुने भएपछि उहाँले धान खेत मासेर सिउँडी प्रजातिको फल (ड्रयागन फ्रुट) लगाउनु भएको छ । खाद्य बालिबाट तीन बिघा खेतमा हुने आम्दानी १० कट्ठाबाट भयो । त्यसपछि ड्रयागन खेती अझ बिस्तार गरें, उहाँले भन्नुभयो ।
अहिले दक्षिण मोरङको पथरीशनिश्चरे ६ र सुनवर्सी १ का ७ जना किसानले १५ विघा जग्गामा ड्रयागन खेती गरिरहनु भएको छ । हाल अढाई बिघा धान खेत खेत मासेर ड्रयागन लगाउनु भएका तामाङले गत असोजसम्ममा २५ लाख रुपियाँको फल बजार पठाउनु भयो । गत वर्ष प्रति किलो ६ सय रुपियाँमा बिक्री भएको ड्रयागन फ्रुट यो वर्ष ३ सय ५० रुपियाँमा बिक्री भयो । उत्पादन बढेपछि मूल्य घट्यो तर,किसानलाई घाटा छैन् । तामाङले बिदेशबाट आउने फललाई बिस्थापित गर्न उत्पादन अझै बढाउनु पर्ने बताउनु भयो ।

तामाङले हालसम्म खेतीमा डेढ करोड लगानी गरिसक्नु भएको छ । १० जनाले रोजगार पाइरहेको उहाँको पूर्वाञ्चल मल्टिपल एग्रिकल्चर प्रालि अहिले ड्रयागन फलको स्रोत केन्द्रका रुपमा बिकसित भइरहेको छ । सुरुमा एउटा जातको मात्र बिरुवा लगाउनु भएका तामाङले हाल पाँच जात बिरुवा लगाउनु भएको छ । जात अनुसार स्वाद पनि फरक छ । उपभोक्ताले रोजाई अनुसारको स्वादमा फाल खान पाउनु हुन्छ । त्यसैले नयाँ नयाँ जातको खोजिमा छु । तामाङले भन्नुभयो–औषत नेपालीले चाडवाड र विरामी पर्दा मात्र फलफुल खान्छन् । हामी सँधै खान सक्ने मूल्यमा उत्पादन गर्नुपर्छ भनेर लागि रहेका छौं ।
सुनवर्सी १ का गणेश तुर्छा राईले ४ वर्ष अघि दुईबाली धान फल्ने साडे ३ बिघा खेतमा ड्रयागन खेती सुरु गर्नुभयो । कोरोनाले निर्माण ब्यावसाय थलिएपछि कृषि कर्ममा सम्भावना खोज्न ड्रयागन खेतीमा होमिनु भएका राई यतिबेला ड्रयागन खेतीको बिस्तार,प्रसोधन र नयाँ ब्यापारिक बजारको खोजिमा हुनुहुन्छ ।वार्षिक ३० लाख रुपियाँ आम्दानी गर्ने महत्वकांक्षी लक्ष्यका साथ ड्रयागन खेतीमा लाग्नु भएका राईले डेढ करोड रुपियाँ लगानी गरिसक्नु भएको छ । उहाँले भन्नुभयो–दुई सिजन उत्पादन लिँदा ४० प्रतिशत खर्च उठिसकेको छ । २०÷२५ वर्षसम्म आम्दानी लिन सकिने भएकोले लगानी खेर जान्छ भन्ने लागेको छैन् । अझ बढी उत्पादन लिन राईले बिरुवामा राति समेत विद्युतीय उर्जा दियरहनु भएको छ । चिसो मौसममा तापक्रम कम हुँदा उत्पादनमा असर पर्ने बुझेपछि राईले बिरुवाको बिचमा विजुली बालेर छोडिदिनु भएको हो ।
गत आर्थिक वर्षमा समेत १२ हजार किलो ड्रयागन आयात भएको तथ्याङ्क छ । भण्डारण ब्यवस्थित गर्न सके ३ महिनासम्म सुरक्षित रहने भएकोले ड्रयागन उत्पादन गर्ने किसानले आत्तिनु पर्ने अवस्था नरहेको गणेशले बताउनु भयो ।
तामाङ र राईले ड्रयागनको ब्यावसायिक खेती सुरु गर्नु भएपछि अहिले उहाँका छिमेकीहरू पनि तामाङ र राईको लयलाई पछ्याइरहनु भएको छ । ड्रयागन खेती ब्यावसायि सङ्घ कोशी प्रदेशका अध्यक्ष समेत रहनु भएका तामाङका अनुसार पथरीशनिश्चरे र सुनवर्सीमा मात्र १५ बिघामा जग्गामा ड्रयागन खेती भइरहेको छ। खगेन्द्र लिम्बूले २ बिघा ५ कट्ठामा,मनिष राईले २ बिघामा,हेमेश्वर राईले २ बिघामा ड्रयागन लगाउनु भएको छ । बिघा भन्दा कम क्षेत्रफलमा लगाउने अझ धेरै किसान हुनुहुन्छ ।

























