Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

उर्लाबारी । लिम्बू समुदायको मुख्य पर्ब चासोक तङ्नाममा अन्य जातिका मानिसहरू समेत उल्लेख्य सहभागिता हुन थालेको छ । मोरङको उर्लाबारीमा आइतबार सुरु भएको चासोक तङ्नाममा प्रतिनिधि सभा सदस्य डिगबहादुर लिम्बूसँग माझी, दनुवार, खसआर्य,धिमाल र नेवार जातिका मानिसहरू पालम बजाउँदै धान नाँच्नु भयो ।
हरेक वर्ष धान्य पूर्णिमाको दिन मोरङको उर्लाबारीमा लिम्बू समूदायले नयाँ अन्न खान सुरु गरेको अवसरमा धुमधामसाग चासोक तङ्नाम मनाउने गरेका छन् । पुर्व मन्त्री एवम् सङ्घीय सांसद डिगबहादुर लिम्बू झण्डै आधा घण्टा पालमको लयमा धान नाँच्नुभयो । उहाँलाई समूदायका सबै जातिले साथ दिए । धान नाच लिम्बू समूदायका पर्वमा नाचिने सांस्कृतिक नाँच हो ।
पाँच दिवसीय चासोक तङ्नाम उत्सवको उद्घाटन गर्दै सांसद लिम्बूले जातीय संस्कृति र परम्पराको संरक्षण भए मात्रै जातीय पहिचान जिवित रहने बताउनुभयो ।उहाँले परम्पराको संरक्षणका नाममा पर्वलाई भड्किलो नबनाउन आग्रह गर्दै सबै जातका पर्व र संस्कृतिमा सामुहिक सहभागिताले समाजमा बन्धुत्व र भातृत्व बढ्ने उल्लेख गर्नुभयो । सानो देश भएर पनि १२० भन्दा बढी जातिको बसोवास भएको नेपालमा सबै जात जातिका पर्व र संस्कृति जगेर्ना गर्नु राजयको दायित्व भएको बताउँदै उहाँले भाषा र लिपीको संरक्षणमा जोडदिन आग्रह गर्नुभयो ।
उर्लाबारी नगरपालिकाका नगर प्रमुख गङ्गाप्रसाद खरेलले पर्वका नाममा मदिरा सेवन र जुवाजन्य खेल नखेलाउन आग्रह गदै सबै धर्म संस्कृतिको संरक्षणमा नगरपािलकाले मियोको भूमिका निर्वाह गर्ने उल्लेख गर्नुभयो ।
कृषि उत्पादनको सुरुवात भए देखि नै लिम्बु समुदायले चासोक तङ्नाम पर्व मनाउँदै आएका हुन्। हिउँदमा अन्नबाली पाक्न थाले देखि थन्क्याउने समयभरि यो चाड मनाइने गरिएको छ । चासोक तङ्नामका बेला थान थापेर प्रकृतिदेवीलाई पुकार्दै नयाँ अन्नबाली पुज्ने र बाली उब्जाइदिने प्रकृति–जल, जमिन, वायु, अग्नि सूर्य लाई विशेष प्रकारले पूजा गरी चासोक तङ्नाम मनाउने गरिएको किरात याङ्थुङ चुम्लुङ उर्लाबारीका कोषाध्यक्ष कर्ण मादेम्वाले बताउनु भयो । मानिसलाई बचाउने अन्नको सम्मान गर्ने विशेष दिन चासोक भएको उहाँको भनाई छ ।
लिम्बू मुन्धुम अनुसार आदिम लिम्बू पुर्खा सावा येत्हाङले काँचो कन्दमूल खोजी खाने गर्दथे ।काँचो कन्दमुलबाट उन्मुक्ति पाउन उनै पुर्खाले तपस्या गर्नुभयो। यसको सुनुवाइ गर्दै तागेरानिङ्वाभुमाङले मानिसलाई आगोसहित पारामा (कोदो जातको पाङ्दुर), क्यावो (फापर), फामु (कागुनी) लगायत बिज दिएको लिम्बू शास्त्रमा उल्लेख गरिएको छ । प्राप्त बिज सावा येत्हाङका चेली सिबेरा याक्थुङमा (लिम्बू महिला) ले संरक्षण गरेर कृषि युगको सुरुआत गरेको लिम्बू समूदायको मान्यता रहेको छ । त्यसपछि मानिस खाद्यान्न पकाएर खान अभ्यस्त भएको लिम्बू समूदायको भनाईछ ।
चासोकको अवसरमा लिम्बू प्रचलनमा रहेका तर हाल लोप हुँदै गएका खेलहरू छेलो हान्ने, हाँडी फुटाउने , धनुष हान्ने खेलहरू खेलाइने भएको छ । यो वर्ष भेट्रान फुटवल पनि आयोजना गरिएको छ । फुटबल प्रतियोगिताको सांसद लिम्बूले आज नै उद्घाटन गर्नुभयो ।
किरात याक्थुम चुम्लुङ उर्लाबारी नगर समितिका अध्यक्ष बानु सुब्बाको सभापतित्वमा भएको कार्यक्रममा सञ्चारकर्मी रुपेन्द्र शेर्मा(लिम्बू) स्वास्थ्यकर्मी गणेश लिम्बू र नेपाली सेनाका उच्च सैनिक अधिकारी होराइजन अन्छङ्वोलाई सम्मान गरिएको थियो ।



Share via
Send this to a friend