कानेपाेखरी । दुई वर्षमा सम्पन्न गर्ने गरी २०७४ सालमा निर्माण सुरु भएको मोरङको कानेपोखरी – ३,जोगीकुटीको बयरवन खानेपानी आयोजना सात वर्ष बितिसक्दा पनि अझै निर्माण सम्पन्न भएको छैन् ।
सङ्घीय सरकारको खानेपानी तथा ढल ब्यवस्थापन कार्यालयको अनुदान सहयोगमा निर्माण सुरु भएको आयोजना बजेट अभावमा सम्पन्न हुन नसकेको हो । खानेपानी तथा ढल ब्यवस्थापन कार्यालयले सह लगानीका कार्यक्रमलाई प्राथमिकतामा राखेपछि आयोजनाको बिचल्ली भएको स्थानीय उपभोक्ता बताउँछन् । आयोजनाले हालसम्म ४ लाख ५० हजार लिटर क्षमताको ओभर हेडट्याङ्की निर्माण गरी बोरिङबाट पानी निकालेर फिल्टर मेसिन समेत राखि सकेको छ । तर,स्थानीय उपभोक्ताबाट आवश्यकता अनुसार साझेदारी नभएपछि काम अघि नबढेको आयोजनाका विराटनगर कार्यालय प्रमुख सुरतलाल चौधरीले बताउनु भयो ।
मन्त्रालयले साल बसाली थोरै थोरै बजेट पठाउँछ । त्यही पैसाले काम गर्दा आयोजना सम्पन्न गर्न ढिलाई भएको हो , उहाँले भन्नुभयो । चौधरीका अनुसार हालसम्म ३३ प्रतिशत भौतिक प्रगति भइसकेको छ । सरकारको ११ करोड ६८ लाख ५१ हजार २३९ रुपियाँ र उपभोक्ताको ३ करोड ११ लाख ३२ हजार ३७७ रुपियाँ गरी कुल १४ करोड ७९ लाख ८३ हजार ६१६ रुपियाँमा निर्माण हुने भनिएको आयोजना अन्तरगर्त पाइप बिच्छ्याउने काम हालसम्म हुने सकेको छैन् । उपभोक्ता समितिका अध्यक्ष टङ्केश्वरी याक्खाले भन्नुभयो – ‘१५ देखि २० लाख रुपियाँ भए पाइप ओच्छ्याएर पानी वितरण गर्न सकिन्थ्यो । तर, स्रोतको अभावमा काम अघि बढाउन सकेको छैनौं । सरकारले सह लगानीका आयोजनालाई प्राथमिकतामा राख्दा विपन्नहरूको बसोवास रहेको क्षेत्रका आयोजना अन्यायमा परेको अध्यक्ष याक्खाले बताउनु भयो।
२० हजार ९८४ जनसङ्ख्याका लागि लक्षित यो आयोजना अन्तरर्गत २ हजार ७९ परिवार लाभान्वित हुने बताइएको छ । तर, उपभोक्ताले आयोजनाको माग अनुसार लगानी गर्न नसक्दा शुद्ध पानी पिउने दिन कुर्दै उपभोक्ता बसिरहेका छन् । सो क्षेत्रको पानीमा अत्यधिक आर्सेनिक रहेको बताइएको छ । चापाकलको पानीले धोएका लुगा रङ नलगाइ राता हुने लगायतको समस्या रहेको सेवा क्षेत्रका गृहणीहरू बताउँछन् ।

























