रङ्गेली । मोरङको रङ्गेली –३ स्थित बाबुसाहेव टोलका अग्निपीडित २२ घरपरिवार अझै छाप्रो मुनि बसिरहेका छन् । सङ्घीय र प्रदेश सरकारले समयमा बजेटको सुनिश्चितता नगर्दा २२ घर सन्थाल परिवार अझै नयाँ घरमा सर्न पाएका छैनन् ।
२०८० को चैत ३ गते भएको भीषण आगलागीमा परी बाबुसाहेव टोलको सन्थाल बस्ती छिनभरमा खरानी भएको थियो । त्यसयता उनीहरू दुखका साथ दैनिकी चलाइरहेका छन् । वर्खायाम कष्टले काटे पनि दशैंमा नयाँघरमा सर्न पाउने आशा थियो । तर,दशैं तिहार गए , पावनी पनि गयो तर,नयाँ घर अझै बनेको छैन् ।
कुल ५ लाखमा निर्माण हुने घरका लागि पूर्व सर्त अनुसार कोशी प्रदेश सरकारले २५ प्रतिशत खर्च ब्योहोर्ने सहमति भएको थियो । यस्तै सङ्घीय सरकारले ५० प्रतिशत र स्थानीय सरकारले २५ प्रतिशत खर्च ब्योहोर्नेे सहमति अनुसार काम सुरु भएको थियो । तर, कार्यविधिको अभाव देखाउँदै सङ्घीय र प्रदेश सरकारले बजेट निकासा नगरेपछि रङ्गेली नगरपालिकालाई स्रोत जुटाउन थप ४ महिना लाग्यो । जसले गर्दा समयमा घर हस्तान्तरण गर्न नसकेको वडा नम्बर ३ का वडाध्यक्ष भरतराज प्रसाईले बताउनु भयो । प्रसाईका अनुसार हाल हाल घर निर्माणका लागि ह्याविटास र लुथरन वल्र्ड फेडेरेसनले सहयोग गरिरहेका छन् ।
वडाध्यक्ष प्रसाईले भन्नुभयो – स्रोत सुनिश्चित भएको भए असार अघि नै अग्निपीडितलाई नयाँ घरमा सारिसक्थ्यौं । तर,सङ्घ र प्रदेश सरकारबाट धोका भयो । नगरको बजेटबाट सम्भव थिएन । हाल नगरले प्रति घर ५० हजार,ह्याविटासले प्रतिघर १ लाख ५० हजार, सङ्घीय सांसदको जनता आवास कार्यक्रमबाट जस्तापाता र नगरको विपद कोषबाट केही रकम ब्यवस्थापन गर्ने गरी घर निर्माण सुरु गरेका छौं । ९० प्रतिशत काम सकिएको छ । माघ अन्तिम सम्ममा सबैलाई नयाँ घरमा सार्ने गरी काम भइरहेको वडाध्यक्ष प्रसाईंले बताउनु भयो ।
अग्निपीडित सुकदेव मुर्मुले भन्नुभयो – सुरुमा असार अगाडि घर बन्छ भन्नुभयो । त्यसपछि दशैं अघि भने अहिले माघसम्ममा भन्दै हुनुहुन्छ । तर, घर बन्छ जस्तो लाग्न छोड्यो । उहाँले पुसको शीत लहरमा पनि छाप्रोको बास हुनेमा चिन्ता प्रकट गर्नुभयो । उहाँमा मात्र होइन । तल्लु, भना, धारो, जुगल, मंगल, साइला, सञ्चराम, गम्बु, जङ्गली, राम मुर्मू तथा चन्द्र, सुकल, बासुदेव, चट्टा किस्कु, मनोज, बुधराम, मराहाङ हेमराम र सुमन सतार, सुकल हास्दा, लुकु टुडु , बाबूलाल बेश्राको अवस्था पनि उस्तै छ । हाल, बाबु साहेव टोलमा २२ वटा घर निर्माणधीन अवस्थामा छन् । तर, निर्माणको जिम्मा लिएको ठेकदार सातामा एक दुई दिन मात्र काम गर्न आउने गरेको पीडितको गुनासो छ । घरमा छानो लाग्यो । बेरा छैन् । शौचालय र भान्साघर अझै बनेको छैन् । पीडितहरू भन्नुहुन्छ – शौचालय र स्नान घर समयमा नबनाइदिँदा झनै ठूलो समस्या भएकोछ । रैमती मुर्मुले भन्नुभयो – शौचालयमा ढोका सम्म लगाइदिएको भए हुने थियो । तर, काम नै गरिदिदैन । बनाउने पैसा छैन् , पर्खिदा पर्खदै दिक्क लाग्न थालिसक्यो ।

























