Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

विराटनगर।सुनसरी मोरङ सिंचाई योजनाको चतरा मूल नहरसँग निर्भर किसानले गहुँ बालिमा सिंचाई गर्न नपाउँदा बालि जोगाउन समस्या भएको गुनासो गरेका छन् ।
योजनाले हिउँदमा ६८ हजार हेक्टरका लागि ४५ क्युसेक पानी किसानलाई वितरण गर्नुपर्छ । तर, हाल सप्तकोशी नदीको इन्टेकबाट ११ क्युसेक मात्र पानी नहर तर्फ आइरहेको छ । इन्टेकबाट पानी कम आएकोले हाल आलोपालो गरेर सिंचाईको ब्यवस्था मिलाएको जल उपभोक्ता केन्द्रीय समन्वय समितिका उपाध्यक्ष फुदनलाल चौधरीले बताउनु भयो । चौधरीका अनुसार दक्षिण सुनसरीमा हाल कुनै किसानका पनि खेत बाँझो छैनन् । किसानले एउटा बालि उठाइसक्दा अर्को बालि लगाउँछन् । पानी बिना खेती सम्भव छैन् । अहिले आठ दिन सुनसरी र पाँच दिन मोरङका किसानलाई पानी वितरण भइरहेको छ । प्रत्येक १३ दिनमा पालो आउँछ । तर,गहुँलाई उन्नतीस ,तीस दिन भत्र सिंचाई गरिसक्नु पर्छ । ८ हजार हेक्टर क्षेत्रफल सिंचाई हुने सुकसेना शाखा नहरका अध्यक्ष सुकदेव मेहताले भन्नुभयो –११ क्युसेक पानी बाढेर लगाउँदा मुल नहरबाट सहायक नहरमा पानी उठ्न छोड्यो । त्यसैले आलोपालो सुरु भयो । बालिले पालो पर्खिदैन । उहाँले पानीको अभावका कारण सुनसरीको रामगञ्ज,सीतागञ्ज,झुम्का क्षेत्रमा गुहुँ उत्पादन ७५ प्रतिशतले घटेको बताउनु भयो ।
यता बिहीबार सुनसरीको दुहबीमा भएको किसानको कार्यक्रममा संविधानसभा सदस्य बीरेन्द्र माझीले राज्यको कुल ग्रार्हस्थ उत्पादनमा ३५ प्रतिशत भुमिका निर्वाह गरिरहेको सुनसरी मोरङको कृषि क्षेत्रमा पानीको ब्यवस्था नगर्ने हो भने खाद्य सङ्कट आउने बताउनु भयो ।
सुनसरी मोरङ सिंचाई आयोजना चतरा मुल नहर जल उपभोक्ता केन्द्रीय समन्वय समितिको साधारणसभामा उपस्थित सयौं किसानलाई सम्बोधन गर्दै उहाँले खाद्य सुरक्षाका लागि सरकारले सिंचाईको ब्यवस्थामा किसानलाई सहयोग गर्नुपर्ने उल्लेख गर्नुभयो ।पानी आउन नसक्ने यही अवस्था रहे खाद्यान्नको परनिर्भरता अझ बढ्ने चेतावनी दिँदै उहाँले साना मसिना विषयमा करोडौं खर्च गर्नुको सट्टा पश्चिम उदयपुर तर्फ ढल्केको पानी इन्टेक तर्फ ल्याउन तिर लाग्नु पर्ने बताउनु भयो । मूल नहरका पूर्व अध्यक्ष समेत रहनु भएको कोशी प्रदेशका सांसद रामप्रसाद मेहताले सुनसरी मोरङ सिंचाई आयोजनाले काम गर्न सक्दैन भने आयोजना बन्द गर्नु पर्ने बताउनु भयो । आफूले कोशी प्रदेशको संसदमा पटक पटक कुरा उठाएपनि सङ्घीय योजना भएकोले सुनुवाई नभएको सांसद मेहताको भनाई छ । मेहताले सप्तकोशीमा सुनकोशी मरिड,कमला सिंचाईको जस्तै वेडवार लगाएर पानी छेक्नुको विकल्प नभएको बताउनु भयो । हरेक वर्ष हिउँदमा ढुङ्गामाटोको बाँधले कोशीको पानी छेकेर इन्टेकमा हाल्ने इन्जिनियरिङ प्रविधिको बिरोध गर्दै उहाँले बर्सेनि कोशीले राज्यको करोडौं रुपियाँ बगाएपनि किसानले पानी लगाउन नपाएको उल्लेख गर्नुभयो । केन्द्रीय समन्वय समितिका अध्यक्ष तपनकुमार दासले मेहताले आयोजनाले काम गर्न सक्दैन भने विकल्प दिनु पर्ने बताउनु भयो । उहाँले भन्नुभयो – पालिकाहरूले ३ लाख रुपियाँ कट्ठामा बिक्री नहुने जग्गाको सरकारी मूल्याङ्कन ७÷८ लाख रुपियाँ गरिदिएका छन् । बिक्री गर्दा लाभांश ५ देखि १० प्रतिशत लाभ कर तिर्नुपर्छ । नहरका किनारमा रहेका जग्गालाई आवास क्षेत्र घोषणा गरेर करको भार बढाइएको छ । जथाभावी आवास क्षेत्र घोषणा गर्दा कृषि क्षेत्र खण्डिकरण भएको उहाँले बताउनु भयो ।
किसानलाई पानी एक मात्र सर्त भएको बताउँदै दासले ६८ हजार हेक्टर क्षेत्रका किसान खेतीबाट मिमुख भए भने सरकारले यि किसानको ब्यवस्थापन कसरी गर्छ, प्रश्न गर्नुभयो ।
सुनसरी मोरङ सिंचाई आयोजना चतरा नहरले सुनसरीका ११ र मोरङका ९ वटा पालिकाको ६८ हजार हेक्टर क्षेत्र सिंर्चा गर्नेगर्छ । तर, पछिल्लो १० वर्षयता मूल नहरको इन्टेकमा कोशीको पानी चढ्न छोडेको छ । किसानका नेताहरूले सप्तकोशीमा पानी छेक्ने पक्की ‘वेडबार’बनाउन पटक पटक माग गरेरपनि सरकारी निकायले भने कहिले स्पर बनाएर करोडौं रुपियाँ सक्दै आएको छ भने दश वर्ष यता हरेक हिँउदमा ढुङ्गा माटोले पानी छेकेर इन्टेकमा हाल्ने गर्दै आएको छ । तर,किसान भने पानी छेक्ने स्थायी संरचना एक पटक बनाए हुनेमा बर्सेनि अस्थायी बाँध बनाएर पानी छेक्ने विधिको बिरोध गर्दै आएका छन् ।



Share via
Send this to a friend