उर्लाबारी । मोरङको पथरीशनिश्चरे नगरपालिकाको वडा नं. ४ ले बाली विज्ञान पढिरहेका तीन जना विद्यार्थीलाई छात्रवृति प्रदान गरेको छ ।
वडा कै भगिरथ माध्यमिक विद्यालयमा अध्ययन गरिरहेका तीन जना विद्यार्थीलाई अध्ययन पुरा गरेपछि स्वयंसेवक भएर वडामा काम गर्ने गरी छात्रवृति प्रदान गरेको हो । वडाले सुजता अछामी र वन्दना सुवेदीलाईलाई ४०÷४० हजार रुपियाँ र अभिषेक ठटाललाई २० हजार रुपियाँ प्रदान गरेको हो । वडाले पछिल्लो दई वर्षयता छात्रवृति प्रदान गर्दै आएको छ । कृषि पेशा प्रति आकर्षण बढाउन र उत्पादित जनशक्तिलाई स्थानीय स्तरमा रोजगार दिन यो कार्यक्रम ल्याइएको वडाध्यक्ष लोककिरण न्यौपानेले बताउनु भयो । बाली विज्ञान पढिसक्दा हाम्रो जनशक्ति बिदेसिन्छ । हामीले यहीँ केही गर्न सकिन्छ भन्ने सन्देश दिन खोजेका छौं । वडाध्यक्ष न्यौपानेले भन्नुभयो –बर्सेनि वडाले तरकारीको बीउ वितरण गर्छ । तर, तरकारी बीउ लिने किसान नै झोला बोकेर तरकारी किन्न बजार जान्छ ।

न्यौपानेले यो जनशक्तिले पढाई सकेपछि स्वयंसेवक भएर वडाम काम गर्नुपर्छ । उहाँहरूले खेतीमा आकर्षण बढाउने,नयाँ प्रविधि भित्राउने गरी किसानलाई सहयोगी साथीको रुपमा काम गर्नु हुनेछ । न्युनतम पारिश्रमिक दिएर ’स्वयंसेवक कृषि प्राविधिक’ नियुक्त गरी वडाका किसानहरूको व्यावसायिक तथा वैज्ञानिक खेती प्रणाली तर्फ आकर्षित गर्न परिचालन गर्ने उद्देश्य रहेको उहाँले बताउनुभयो ।

























