हरिप्रसाद कोइराला,
उर्लाबारी । कतार,मलेशिया र दुवईमा झण्डै ११ वर्ष पसिना बगाएर नेपाल फर्किनु भएका झापाको दमक – ३ तारावारीका ३७ वर्षीय यमकान्त गौतम ३ वर्षयता शैलुन सञ्चालन गरेर मासिक एक लाख रुपियाँ कमाइ रहनु भएको छ ।
मोरङको उर्लाबारी –७ मा सञ्चालन भइरहेको शैलुनमा कपाल र दारी काटेको अन्यत्र भन्दा सस्तो छ । जाडोमा हिटर र गर्मीमा एसी सहितको सेवा दिइरहनु भएका गौतमलाई भ्याई नभ्याई बढेपछि पछिल्लो एक वर्षयता भाइले पनि साथ दिइरहनु भएको छ ।
जातले बाहुन । शिक्षा सम्बन्धि काम गर्नुपर्ने हो । न बाबु बाजेले गरेको ,न आफ्नो समूदायले गरेको ।तर,सीप बेचेर ब्यावसाय गर्न गौतमलाई न जातले छेक्यो ,न उमेर नै बाधक बन्यो । पाखुरामा बल भइन्जेल उहाँले आफ्नो पसिना खाडीमा बगाउनु भयो । चालिस पुग्नै लाग्दा उहाँले नेपाल फर्केर आफ्नै ब्यावसाय सुरु गर्नुभयो । नेपालीमा एउटा गीत छ, ‘ सुन साइली चालिस कटेसि रमाउँला’ । औषत नेपालीको दनिचर्या नै चालिस कटेपछि मात्र माटो प्रति माया जाग्ने गौतमको बुझाई छ ।
सुरुका दिनमा यमकान्तले कपाल काट्ने काम गरेर कमाई होला भन्ने कल्पना सम्म गर्नु भएको थिएन् । ११ वर्ष विदेश बसेर दुई चार पैसा कमाइ त भयो । तर, सधैं पराई । चाडपर्व,आफन्त सबै बिर्सिनु पर्ने । त्यसैले उहाँ स्वदेश मै केही गर्नुपर्छ भन्ने निर्णयमा पुग्नुभयो । गौतमले कपाल काट्ने सीप कुनै प्रशिक्षण केन्द्रमा सिक्नु भएको होइन । बिदेशमा साथीभाईको कपाल काट्दा काट्दै उहाँले कैँची,छुरा र काइयो चलाउन सिक्नुभयो । लामो समय एउटै काम गर्दागर्दै उहाँमा शैलुन चलाएर पनि गरिखान सक्छु भन्ने भोक जाग्यो । त्यसपछि उहाँले बिदेश जाने योजना बिसर्जन गरेर उर्लाबारीमा ब्यावसाय सुरु गर्नुभयो ।
ब्यावसाय सुरु गरेयता यमकान्तलाई ग्राहकको अभाव छैन् ।गौतम दैनिक ४५÷५० जनाको कपाल काट्नु हुन्छ । गौतम कुनै पनि ट्रेड युनियनमा आवद्ध हुनुहुन्न । त्यसैले सङ्घले राखेको दर भन्दा सस्तोमा सेवा दिइरहनु भएको छ । गौतमले भन्नुभयो – शैलुनलाई ‘हेन्डम पार्लर’को रुपमा सञ्चालन गरेको छु । झण्डै १२ लाख जति लगानी गरेर पार्लरको सजावट गरें । उहाँले भन्नुभयो–अन्य शैलुनमा पाउने सबै सेवा मैले पनि दिएको छु । उर्लाबारीका अरु शैलुनमा कपाल काटेको एक सय पचास रुपियाँ पर्छ । हामी सय रुपियाँमा काट्छौं । दारी कटाई पनि अन्यत्र भन्दा ३० रुपियाँ सस्तो छ । सुरुमा लगानी भयो । त्यसयता सीप बेचर कमाई भइरहेको छ ,–गौतमले भन्नुभयो ।
ग्राहकको भीड बढेपछि गतवर्ष देखि यमकान्तले माइलो भाइ निरहरि गौतमलाई पनि काम सिकाउनु भयो । अहिले यमकान्त र निरहरि बिहान देखि साँझ अबेरसम्म शैलुन मै काम गर्नुहुन्छ । ग्राहकहरू पालोमा बसेर फर्किएको संस्मरण गर्दै उहाँले भन्नुभयो – अझै आठ दश वटा यस्ता शैलुन उर्लाबारीमा चल्छन् । युवा पुस्ता पैसा कमाउन खाडी जान्छन्, भारतीयहरू शैलुन चलाएर लाखौं रुपियाँ आफ्नो देशमा लगिरहेका छन् । उहाँले काम गर्न सक्दा नेपालमा सम्भावना नै सम्भावना रहेको बताउनु भयो ।

























