हरिप्रसाद कोइराला,
उर्लाबारी । थोरै लगानी र श्रमबाट उल्लेख्य आर्थिक लाभ लिन सकिने भएपछि किसानले मौरीपालन ब्यावसाय रोज्न थालेका छन् । तर, भारत लगायत तेस्रो देशबाट आउने सस्तो मूल्यको महसँग प्रतिस्पर्धा गर्न नसक्दा नेपाली उत्पादकहरू बजारको खोजीमा छन् ।
यतिबेला नेपाली किसानलाई मह काड्न भ्याई नभ्याई छ । तीनै तहका सरकारले मौरीपालक किसानलाई सहयोग पनि गरिरहेको छ । उत्पादन सन्तोष जनक भएपनि बजारको अभाव रहेको किसानको गुनासो छ । मोरङको उर्लाबारी–४ का भोलाराज पोख्रेलले भन्नुभयो – हाम्रो उत्पादन भारत लगायत देशबाट आउने मह भन्दा महँगो पर्छ । आम उपभोक्तालाई सस्तो चाहिएको छ । पोख्रेलले अखाद्य महका कारण नेपाली किसान मारमा परेको बताउनु भयो ।
एक दशक अघिसम्म नेपालमा पूजा, तिथि श्राद्ध र सुत्केरीलाई खुवाउन मात्र महको प्रयोग हुन्थ्यो । अहिले प्रयोग बढेको छ ।प्रयोग बढेपनि नेपाली उत्पादनले बजार पाउन सकेको छैन् । पोख्रेलले प्रसस्त उत्पादन गरेर पनि ब्यापारका लागि धेरै समय कुर्नु परिरहेको उल्लेख गर्नुभयो ।
ब्यापार तथा निकासी प्रबद्र्धन केन्द्र विराटनगरका सुचना अधिकारी देवराज न्यौपानेका अनुसार चालु आर्थिक वर्षको पछिल्लो ६ महिनामा नेपालबाट २ करोड ७३ लाख ७० हजार रुपियाँको ४ हजार ४८६ किलो मह निर्यात भएको छ । यही अवधिमा भारत लगायत तेस्रो देशबाट ५ करोड ७२ लाख ५३ हजार रुपियाँको २ लाख ४ हजार ७९४ किलो मह आयात भएको छ । केन्द्रको तथ्याङ्कमा उल्लेख भए अनुसार आयातित मह औषत प्रतिकिलो २७९ रुपियाँमा आउने गरेको छ भने नेपालबाट निर्यात हुने मह औषत ६ हजार १०० रुपियाँ किलो निर्यात भएको छ । नेपाली मह(भीरमौरी, पुत्का,हिमाली) औषधिको रुपमा निर्यात हुने गरेको छ ।
यस्तै आर्थिक वर्ष २०८०÷०८१ मा नेपालबाट ५ करोड ७४ लाख ७५ हजार रुपियाँको १० हजार ८७९ किलो मह निर्यात भएको थियो । सोही वर्ष १७ करोड ६१ लख ७८ हजार रुपियाँको ८ लाख ८ हजार ४७१ किलो मह आयात भएको थियो ।

नेपाली किसानले लगातार महको उत्पादन बढाए पनि निर्यातमा समस्या भइरहेको छ । आयात प्रतिस्थापन गर्न सकिएको छैन् । नेपाल मौरीपालक महासङ्घका केन्द्रीय अध्यक्ष सुवासचन्द्र घिमिरेका अनुसार हाल महासङ्घमा सूचीकृत किसानबाट ४ हजार ९४५ मेट्रिकटन मह उत्पादन हुन्छ । पछिल्ला केही वर्षयता नेपाली बजारमा ६ हजार मेट्रिकटन मह खपत हुँदै आएको छ । नेपालमा एक हजार देखि पन्ध्र सय मेट्रिक टन मह अपुग हुन्छ । तर, उपभोक्ताले महको गुणस्तर र उपयोगका विषयमा नबुझ्दा नेपाली उत्पादन खेर जाने र अखाद्य मह बिक्री हुने गरेको छ । उहाँले भन्नुभयो– महमा स्वाद र रङको एकरुपता कहिल्यै हुन्न । मौसम अनुसार हरेक महिना फरक फरक हुन्छ । स्थान र भूगोल विशेषमा एउटै स्रोतको मह फरक स्वादमा उत्पादन हुन्छ । आम उपभोक्तालाई एउटै रङ र स्वादको चाहिएको छ । मह प्राकृतिक वस्तु हो ,प्रकृति अनुसार अलग अलग स्वाद र रङमा पाइने उत्पादनलाई बहुराष्ट्रिय कम्पनीले सदावहार रुपमा एउटै रङ र स्वादको बनाएर पठाइदिँदा नेपाली उत्पादनले बजार नपाएको घिमिरे बताउनु भयो ।
देशमा प्रसस्त उत्पादन भएपछि बिदेशबाट ब्राण्ड लागेर आउने महको आयात बन्द गर्नु पर्ने किसान बताउँछन् । मेलिफेरा मौरीपालन उत्पादक सहकारी संस्था लि. उर्लाबारीका अध्यक्ष बोधराज खतिवडाले भन्नुभयो– सरकारले मौरीलाई चरण क्षेत्रको ब्यवस्थापन गर्न सके मोरङका किसानले मात्र हरेक वर्ष १२÷१३ करोड रुपियाँको मह निर्यात गर्न सक्ने थिए ।तर, निर्यातको यही अवस्था रहे हाल उत्पादन महले नै बजार नपाउने देखिन्छ। उर्लाबारीमा मात्र एकसय बढी किसान महको ब्यावसायिक उत्पादन गरिरहेका छन् ।

























