रतुवामाई । दक्षिणी मोरङको रतुवामाई नगरपालिका वडा नं.४ झुर्कियामा ३ वर्ष अघि निर्माण सम्पन्न भएको शीत भण्डार(कोल्डस्टोर) अझै सञ्चालनमा आउन सकेको छैन् ।
रतुवामाईको. २, ३ र ४ न. वडामा तरकारीको ब्यावसायिक खेती गर्ने किसानको मागलाई सम्बोधन गर्दै नगरपालिका र वडा नं. ४ को संयुक्त लगानीमा शीत भण्डार गरिएको थियो । ३ वर्ष अघि अघिल्ला जनप्रतिनिधिहरू कै पालामा निर्माण सम्पन्न भएको शीत भण्डार निर्माण ८० लाख रुपियाँ खर्च भएको छ । २५ टन क्षमताको शीत भण्डार सञ्चालनमा नआउँदा किसानले तरकारी तथा फलफूल जोहो गरेर बिक्री गर्न पाएका छैनन् । वडा नंं. ३ महादेवाका तरकारी किसान प्रमोद गनगाईले भन्नुभयो – आलु राख्न दमक वा विराटनगर पु¥याउँनु प¥थ्यो । शीत भण्डार बनेपछि उत्पादन बढाएँ । तर, तीन वर्ष भयो । शीत भण्डार सञ्चालनमा आएको छैन । किसानले कहिले कुलरको अभावमा त कहिले सञ्चालन कार्यविधि अभावमा शीत भण्डार सञ्चालन नभएको जवाफ पाउने गरेका छन् । अर्का किसान बासुदेव मण्डलले भन्नुभयो– गाउँ मै शीत भण्डार बन्ने भएपछि उत्साही भएर आलु र प्याजको उत्पादन गर्न थप जग्गा लिजमा लिएँ । तर, ३ वर्ष भयो । गाउँको शीत भण्डारमा राख्न पाएको छैन् ।
वडा नम्वर ४ का वडाध्यक्ष महावीर प्रसाद गनगाईले शीत भण्डार सञ्चालन कार्यविधिको अभावमा शीत भण्डार सञ्चालनमा आउन नसकेको बताउनु भयो । गनगाईले सुरुमा जेनेरेटर र कुलर थिएन । त्यो पनि ब्यवस्था भयो । अहिले कार्यविधि छैन् । कति पैसा लिने भन्ने निर्णय भएपछि सञ्चालनमा आउँछ ।उहाँले पटक पटक कार्यपालिका बैठकमा कुरा राख्दा पनि सुनुवाई नभएको बताउनुभयो ।
नगरपालिकाका प्रवक्ता भुलबहादुर कार्कीले भन्नुभयो –नगरपालिकाले सञ्चालन गर्न सक्ने अवस्था छैन् नीजि कम्पनी वा ब्यावसायीलाई ठेक्कामा दिने नगरको तयारी हो । तर, नीतिगत रुपमा नगरको तयारी पुगेको थिएन । अहिले सम्पूर्ण कानूनी आधार तय गरी सकेका छौं । अब चाँडै सञ्चालन हुन्छ । तर, ठेक्का लागेन भने के गर्ने भन्ने जवाफ हामीसँग पनि छैन् ।

























