हरिप्रसाद कोइराला,
विराटनगर । कोशी प्रदेश भित्र सामाजिक सुरक्षा कोषमा २ हजार १९३ वटा रोजगारदाता संस्था आवद्ध भएका छन् । चालु आर्थिक वर्ष २०८१÷०८२ मा मात्र १८६ वटा रोजगारदाता संस्था थप भएका हुन् ।
सामाजिक सुरक्षा कोषको कार्यालय विराटनगरका प्रमुख दीपकराज भट्टका अनुसार २ हजार १९३ वटा रोजगारदाता संस्थाका ६१ हजार २८६ जना कामदार÷कर्मचारी कोषमा आवद्ध भएका छन् । चालु आर्थिक वर्षमा मात्र ९ हजार २ सय श्रमीक, कामदार तथा कर्मचारीहरू कोषमा आवद्ध भएको कार्यालय प्रमुख भट्टले बताउनु भयो । कोषको तथ्याङ्क अनुसार १८ वटा सरकारी,५९५ वटा शैक्षिक संस्था,१८२ वटा सहकारी संस्था र २५ वटा अस्पताल कोषमा आवद्ध भएका छन् ।
देशभरका सरकारी तथा नीजि गरी १५१ वटा अस्ताल कोषमा आवद्ध छन् । जसमध्ये कोशी प्रदेशका मात्र २५ वटा अस्पताल सामाजिक सुरक्षा कोषमा आवद्ध छन् । नीजि विद्यालयको सहभागिता पनि बढेको कार्यालय प्रमुख भट्टले बताउनु भयो । उहाँका अनुसार शैक्ष्ँिक संस्थाका १ हजार ६५८ जना कामदार,कर्मचारी र श्रमीक कोषमा आवद्ध छन् । यस्तै सहकारी संस्थाका २ हजार ६५६ कर्मचारी तथा कामदार आवद्ध छन् । कोषमा हालसम्म कुल ७९ अर्ब ९ करोड रुपियाँ जम्मा भइसकेको छ जसमा कोशी प्रदेशबाट ४ अर्ब ७० करोड रुपियाँ जम्मा भएको छ । हालसम्म देशभरबाट १४ अर्ब २३ करोड भुक्तानी भइसकेको छ ।
सरकारले सबै खाले कामदारलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य आवद्ध गराउन निर्देशन दिएपछि कोषमा आवद्ध हुने रोजगारदाताको सङ्ख्या अझ बढ्ने कार्यालय प्रमुख भट्टले बताउनुभयो । हाल विराटनगर कार्यालयले ४६६ वटा रोजगारदाता संस्थालाई अनिवार्य आवद्धताका लागि पत्राचार गरेको छ । उहाँले भन्नुुभयो – बागमति बाहेक अन्य प्रदेशको तुलनामा आवद्धता चार गुणाले आवद्धता वृद्धि भएको छ ।
रोजगारदाताले तलवमानको २० प्रतिशत र श्रमीक,कामदार वा कर्मचारीले ११ प्रतिशत रकम कोषमा जम्मा गरेपछि सामाजिक सुरक्षा कोषले सबै खाले जोखिम ब्योहोर्दै पेन्सन समेत दिने ब्यवस्था रहेको छ ।

























