हरिप्रसाद कोइराला
लेटाङ । पाँचधर्मका धर्म गुरुहरू एकै स्थानमा बसेर धर्म भित्र विभेदका विषयमा छलफल र बहस गर्ने अवधारणका साथ मोरङको लेटाङ नगरपालिकामा अन्तरधार्मिक शान्तिपार्क निर्माण भइरहेको छ ।
नगरको गौरवको आयोजनाका रुपमा शान्तिपार्क निर्माण गरिएको हो । नेपालमा अन्यत्र कर्त पनि पाँच धर्मका अनुयायीहरू एउटै स्थानमा बसेर ध्यान गर्ने,छलफल गर्ने ठाउँ छैन् । त्यसैले यो पार्कलाई देशको एउटा धार्मिक पर्यटकीय गन्तब्यका रुपमा विकसित गर्ने गरी काम सुरु गरिएको लेटाङ नगरपालिकाका नगर प्रमुख भुपेन्द्रकुमार लावतीले बताउनु भयो । उहाँका अनुसार नगरपालिकाले ६ करोड ८ लाख रुपियाँको लागत परियोजना निर्माण गरी सङ्घीय सरकारमा पठाएको थियो । सङ्घीय सरकारको ६५ प्रतिशत र लेटाङ नगरपालिकाको ३५ प्रतिशत लागत साझेदारीमा अन्तरधार्मिक शान्तिपार्क निर्माण सुरु भएको नगरप्रमुख लावतीको भनाई छ ।
लेटाङ नगरपालिकाले आर्थिक वर्ष ०८१÷०८२ मा १ करोड रुपियाँ विनियोजन गरेको थियो । उक्त रकमबाट शान्तिपार्कको जग निर्माण गरी पहिलो तला ढलान सम्पन्न भएको छ । नगरको वडा नं.१ राजारानीमा निर्माण भइरहेको यो पार्कमा संसारभर मानिने प्रमुख धर्मका गुरूहरू एउटै स्थानमा बसेर अन्तर धर्मका विषयमा छलफल र बहस गर्नेछन् ।तत्कालिन लेटाङभोगटनी नगरपालिका हुँदा एक नगरपालिका एक पहिचान कार्यक्रम अन्तर्गत २०७२ मा ऐतिहासिक राजारानी पोखरी परिसरमा अन्तर धार्मिक शान्तिपार्क निर्माण गर्ने कार्यक्रम तय भएको थियो ।तर, बजेटको अभावमा शान्तिपार्क निर्माणको काम अघि बढ्न सकेको थिएन ।
हाल शान्तिपार्क ६ कट्ठा जग्गामा निर्माण भइरहेको छ । ५ करोड २९ लाख रुपियाँमा फुलमन डिप्लोपर्स प्रालिले ठेक्का लिएको शान्तिपार्क निर्माणको काम ३ वर्ष भित्र सम्पन्न गर्ने गरी भइरहेको वडा नं.१ का वडाध्यक्ष विष्णुबहादुर मगरले बताउनु भयो । हालसम्म ४७ प्रतिशत भौतिक तथा वित्तीय प्रगति भएको वडाध्यक्ष मगरले बताउनु भयो ।
हिन्दू,बौद्ध,मुस्लिम,किरात र इसाई धर्मका धर्मगुरुहरू एउटै मञ्चमा बसेर अन्तरधर्मका विषयमा बहस गर्न सकनु भन्ने प्रमुख उदेश्यले शान्तिपार्क निर्माण गर्न लागिएको सामूदायिक विकास मञ्च नेपाल (सीडीएफ)का अध्यक्ष रामचन्द्र बुढाथोकीले बताउनु भयो । अन्तरधार्मिक शान्तिपार्कको ‘मिनियचर’(नमूना)माथि सबैधर्मका गुरूहरूको साझा धारणा निर्माण भएपछि शान्तिपार्क निर्माणको अवधारणा आएको सीडीएफ नेपालका तत्कालिन निर्देशक एवम् हालका नगर प्रमुख भूपेन्द्रकुमार लावतीको भनाई छ । नगर प्रमुख लावतीले शान्ति ,सद्भाव र मेलमिलापको प्रतिविम्बका रुपमा शान्तिपार्क रहने बताउनु भयो । ‘सबैधर्मको चाहना अहिंसा र शान्तिको कामना’ भन्ने नारालाई सार्थक बनाउन शान्तिपार्कको महत्वपूर्ण भूमिका रहने स्थानीयको बुझाई छ ।
हालको मन्दिर डाँडामा निर्माण गरिने शान्तिपार्कको भ्यूटावरबाट प्राकृतिक दृश्यावलोकन गर्न सकिने छ । पार्कमा पाँच धर्मका पाँचद्वार राखिनेछ । चार तले उक्त पार्कमा हरेक धर्मले आफ्नो द्वारबाट प्रवेश गरेपछि आफ्ना धर्म ग्रन्थ,सांस्कृतिक पहिचान खुल्ने सामग्री र धर्मका हांगा विंगाको झलक हेर्न पाउने छन् । सबैभन्दा माथिल्लो तलाबाट बरिपरि घुमेर दृष्यावलोकन गर्न सकिने छ ।
संसारभर धर्मका नाममा लडाई चलिरहेको बेला लेटाङले निर्माण गरिरहेको अन्तरधार्मिक शान्तिपार्कले सबै धर्मावलम्वीहरूलाई एकै स्थानमा जोड्ने र विभेदको अन्त्य हुने स्थानीयले अपेक्षा गरेका छन् ।


























