Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

हरिप्रसाद कोइराला
लेटाङ । निर्माणधीन आयोजनालाई अर्थ मन्त्रालयले रकम निकासा नगरिदिँदा करोडौंको ढल निर्माण तथा प्रशोधन आयोजनाको काम रोकिएको छ ।
मोरङको लेटाङ नगरपालिकाको वडा नं.३मा ढल प्रशोधन केन्द्र निर्माण गर्न सङ्घीय खानेपानी आयोजनाले २८ करोड ९९ लाख ५८ हजार ८० रुपियाँमा टेण्डर आह्वान गरेको थियो । गोल्डेन विकोइ खुस्बु जेभी कम्पनीले १९ करोडमा ठेक्का प्राप्त गरेको यो योजना २०७६ सालको असार २५ गते सङ्घीय खानेपानीले २ वर्षमा ढल निर्माण तथा प्रशोधन आयोजनाको काम सक्ने गरी ठेक्का लगाएको हो । तर, लामो समय सम्म बन कार्यालय, लेटाङ नगरपालिका र सङ्घीय खानेपानी आयोजना बिच समन्वय हुँदा नसक्दा दुई वर्षमा सम्पन्न हुने आयोजना ६ वर्ष बित्न लाग्दा पनि अधुरै छ ।
कालोपत्रे भएका सडक भत्काएर पुन निर्माण गर्ने विषयमा लामो छलफल चल्यो । सहमति जुटेर कालोपत्रे सडक मुनि ढल राख्ने काम सम्पन्न भयो । तर, सम्झौता अनुसार निर्माण कम्पनीलाई दिनुपर्ने ३ करोड रुपियाँ सङ्घीय खानेपानीले अझै भुक्तान गर्न सकेको छैन् ।
सङ्घीय खानेपानी आयोजनाका प्रमुख डिभिजन इन्जिनीयर सुरतलाल चौधरीले भन्नुभयो– सम्झौता अनुसार कम्पनीले २०७८ को असार २४ गते काम सम्पन्न गरी आयोजना हस्तान्तरण गर्नु पर्ने थियो । ढिलो गरी सहमति जुटेकोले झण्डै ६ वर्ष बितेपछि काम सम्पन्न भयो । जति काम भएको छ , त्यसको भुक्तानका लागि अर्थ मन्त्रालयमा बजेट माग ग¥यौं । पैसा आएको छैन् । ३ करोड रुपियाँ पुरानो भुक्तानी दिन बाँकी छ । यो आयोजना पुर्ण रुपमा सञ्चालन गर्न अझै १० करोड रुपियाँ लाग्ने अनुमान गरिएको छ । डिभिजन इन्जिनीयर चौधरीले स्रोत सुनिश्चित नभई ठेक्का लागेका योजनामा भुक्तानीको समस्या भइरहेको बताउनु भयो । उहाँले यो योजनामा सुरु देखि नै समस्या भएको सुनाउँदै भन्नुभयो डिपीआर गरेको समयमा लेटाङका सडकमा ग्राभेल थियो । काम सुरु गर्न आउँदा कालोपत्रे भयो । स्थानीयको लागत सहभागितामा बनेको कालोपत्रे भत्काएर पाइप गाड्ने वातावरण बनेन । बनसँग स्वीकृति नलिई काम सुरु भएकोले एक वर्ष समय वनसँग कानूनी प्रक्रिया पु¥याउन लाग्यो । चौधरीले निर्माण कम्पनीले काम गरेको भुक्तानी दिन नसक्दा काम समयमा सम्पन्न नभएको बताउनु भयो । एकातिर साइड खाली गर्न सरकारी निकाय बिच नै समन्वय हुँदैन । अर्को तर्फ सरकारले समयमा भुक्तानी दिन सक्दैन ।चौधरीले बिग्रिएको संरचना निर्माण गर्न नयाँ भेरिएसन अर्डर (भिओ) गर्नुपर्ने लगायतका सबै कानूनी अप्ठ्यारा र जटिलताले गर्दा काम समयमा सम्पन्न गर्न नसकिएको बताउनु भयो ।
उहाँका अनुसार बजारको हरेक घरबाट निस्कने ढल डम्पिङ साइड सम्म पु¥याउन ९ हजार ४२४ मिटर लम्वाई पाइप गाडिएको छ । यो मेघा प्रोजेक्ट हो । यत्रो प्रोजेक्टका लागि अर्थ मन्त्रालयले बजेट दिँदैन ,चौधरीले भन्नुभयो । नगरको वडा नं. ३ स्थित कमलपुर सामूदायिक वन नजिकै २ विगाहा जग्गामा ढलको डम्पिङ हुने प्रबन्ध मिलाइएको छ ।
लेटाङ नगरपालिकाका नगर प्रमुख भूपेन्द्रकुमार लावतीले नगरको विकासमा दीर्घ कालिन प्रभाव पु¥याउने आयोजनाहरू समयमा सम्पन्न नहुँदा समस्या भइरहेको बताउनु भयो । उहाँले सङ्घीय आयोजनाहरू स्थानीय सरकारसँग परामर्स नभई आउँदा समयमा सम्पन्न गर्न कठिन भइरहेको बताउनु भयो । नगर प्रमुख लावतीले विभाग र मन्त्रालयमा पटक पटक पुगेर स्रोत सुनिश्चितताका लागि पहल गरिरहेको बताउनु भयो । काम सुरु गर्नै हुन्न थियो , थालिसकेपछि आयोजना सम्पन्न गर्नुपर्छ भनेर दवाव दिएका छौं । हामीलाई विभाग र मन्त्रालयले स्रोत सुनिश्चित गरिदिने भनेको छ ,उहाँले भन्नुभयो ।

 



Share via
Send this to a friend