Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

कानेपाेखरी । मोरङको कानेपोखरी गाउँपालिका–६ मा रहेको भुल्के सुन्तली सामुदायिक वन उपभोक्ता समूहले करिब ६ हेक्टर क्षेत्रफलमा वृहत् विरुवा रोपण कार्यक्रम सम्पन्न गरेको छ। बुधबार आयोजित विशेष समारोहका बीच समूहले कार्यालयको उत्तरतर्फ फलफूल, जडिबुटी, घाँस तथा काठका विभिन्न प्रजातिका विरुवाहरू रोपेको हो। ६ हजार सातसय विरुवा राेपण कार्यक्रमको उद्घाटन कानेपोखरी गाउँपालिका अध्यक्ष राजमति इङ्नामले गर्नुभयो। उहाँले वन समूहको सक्रियता र समर्पणप्रति प्रशंसा गर्दै भन्नुभयो, “भुल्के सुन्तली सामुदायिक वनले अन्य सामुदायिक वनहरूभन्दा उदाहरणीय प्रगति गरेको छ।” साथै उहाँले सामुदायिक वनमार्फत पर्यटन प्रवर्द्धन, रोजगारी सृजना तथा विपन्न वर्गको आर्थिक सशक्तिकरणका लागि गाउँपालिकाबाट आवश्यक सहयोग उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

अध्यक्ष इङ्नामले थप्नुभयो, “वन संरक्षणसँगै यसको उत्पादनलाई व्यवस्थित गरेमा आयआर्जनको प्रमुख स्रोत बनाउन सकिन्छ। गाउँपालिका योजनाबद्ध रूपमा सहकार्य गर्न तयार छ।”

कार्यक्रममा विशिष्ट अतिथि सव–डिभिजन वन कार्यालय कानेपोखरीका प्रमुख वन अधिकृत मोहमद अलाउद्दिनले वनको महत्वबारे व्यापक रूपमा जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “वन केवल काठको स्रोत होइन, यो मानव जीवन, जलवायु र भविष्यसँग प्रत्यक्ष सम्बन्धित क्षेत्र हो। यसको सुदृढ व्यवस्थापन र संरक्षणबाट समुदायलाई दीर्घकालीन फाइदा प्राप्त गर्न सकिन्छ।”

कार्यक्रममा सामाजिक व्यक्तित्व अम्बिका प्रसाद अर्यालले सामुदायिक वन स्थापनाको प्रारम्भिक चरणका कठिनाइहरू स्मरण गर्दै वर्तमान सफलताको जग विगतका संघर्षमा रहेको बताउनुभयो।

त्यसैगरी, युवा व्यवसायी सन्तोष फुयलले भुल्के सुन्तली सामुदायिक वन ग्रामिण सुधार सामुदायिक वनबाट छुट्टिएर बनेको ऐतिहासिक पक्षलाई उल्लेख गर्नुभयो।

महिला समाजसेवी यसोदा लिम्बुले सामुदायिक वनमा सबै उपभोक्ताको समान सहभागिता सुनिश्चित गर्न आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, “सामुदायिक वन सबैका लागि हो, र म उपभोक्ता भएकाले यसको संरक्षण र विकासमा सक्रिय भूमिका खेल्नेछु।” साथै, पर्यटकीय सम्भावनालाई मूर्तरूप दिन गाउँपालिकासँग सहकार्य गर्न वन समूह तयार रहेको जानकारी पनि दिनुभयो।

कार्यक्रममा समूहका अध्यक्ष भीमराज लिम्बुले रोपिएका विरुवाहरूमा कल्की, रातो सिरिस, अशोक, जामुन, करम, तेजपात लगायतका बहुउपयोगी प्रजातिहरू रहेको जानकारी दिनुभयो। उहाँले भविष्यमा उक्त क्षेत्रलाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्य रहेको बताउनुभयो

कार्यक्रमको सञ्चालन कार्यालय सचिव शेरबहादुर दर्नालले गर्नुभएको थियाे ।



Share via
Send this to a friend