कानेपोखरी । लामो समयको प्रतिक्षापछि मोरङको पथरीशनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिकाले प्रशासनिक भवन पाउने भएका छन् । दुबै पालिकाको प्रशासनिक भवन नयाँ स्थानमा बन्ने प्रक्रिया सुरु भएको हो ।
पथरीशनिश्चरे नगरपालिकाको प्रशासनिक भवन वडा नंं १० को शिविर डाँडाका निर्माण सुरु भएको छ भने कानेपोखरी गाउँपालिकाको वडा नं. ५ को भौंसावारीमा बनाउनका लागि सङ्घीय सरकारले स्रोत सुनिश्चित गरेको छ । हाल पथरीशनिश्चरेले वडा नंं १ को पथरी बजारबाट सेवा दिइरहेको छ भने कानेपोखरीको प्रशासनिक सेवा वडा नं.६ को रमाइलो बजारमा वडा नंं ५ को भौंसावारीस्थित साविकको वडा कार्यालयबाट सञ्चालन भइरहेको छ।
राज्य पुनर्संरचना पछि पथरीशनिश्चरे नगरपालिकाको प्रशासनिक भवन कहाँ बनाउने भन्ने विवाद भएको थियो । सुरुमा साविकका पथरी र शनिश्चरे गाविस समाहित गरेर पथरीशनिश्चरे नगरपालिका गठन भएको थियो । नयाँ संविधान बनेपछि निर्माण भएको राज्यपुर्नंसंरचना समितिले नगरमा हसन्दह गाविस पनि थपिदियो । पुनर्संरचना आयोगले शिविर डाँडामा प्रशासनिक भवन निर्माण गरी केन्द्र राख्ने निर्णय गरेको थियो । उक्त निर्णय पछि नगरपालिकाको वोर्ड कहिले मङ्गलवारे डाँडामा त कहिले शिविर डाँडामा टाँगिएको थियो । भौगोलिक रुपमा विवादित स्थानीयले बिच सहमति खोजिएपछि नगरको प्रशासनिक भवन वडा नं. १० को शिविर डाँडामा निर्माण सुरु भएको हो । हाल नगरपालिका साविकको पथरी गाविसको कार्यालय र भाडाको भवनमा संयुक्त रुपमा सञ्चालन भइरहेको छ ।
कानेपोखरी गाउँपालिकाको प्रशासनिक भवन साविकको वयरवन गाविस कार्यालयमा तोकिएको थियो । साँघुरो भवनबाट सञ्चालन भइरहेको पालिकाको प्रशासनिक भवन निर्माणका लागि वडा नंं ५ को भौसावारीमा १ विघा १ कट्ठा जग्गा खरिद गरिएको थियो । तर,उक्त जग्गा खरिद प्रक्रिया नै त्रुुटिपुर्ण भएको भन्दै अदालतमा मुद्धा परेपछि लामो समय भवन निर्माण प्रक्रिया नै अघि बढ्न सकेको थिएन । अदालतले सफाई दिएपछि भवन निर्माणको बाटो खुलेको पालिकाका अध्यक्ष राजमति इङ्नामले बताउनुभयो ।सङ्घीय सहरी विकास मन्त्रालयले ५ करोड ४० लाख रुपियाँ बजेट सुनिश्चित गरेपछि पालिकाको प्रशासनिक भवन निर्माण सुनिश्चित भएको अध्यक्ष इङ्नामले बताउनुभयो । सङ्घीय सरकारको अनुदान र स्थानीय स्रोत परिचालन गरेर यसै वर्ष प्रशासनिक भवन निर्माण प्रक्रिया सुरु हुने अध्यक्ष इङनामको भनाई छ ।
उता पथरीशनिश्चरे नगरपालिकाको भवन निर्माण २०८३ को चैत मसान्तमा निर्माण सम्पन्न गर्ने गरी शिलान्यास गरिएको छ । १२ कट्ठा सरकारी जग्गाको भोगाधिकार ब्यवस्थापन गरी ११ करोड ८ लाख रुपियाँमा प्रशासनिक भवन निर्माण प्रक्रिया अघि बढेको हो । ५ तले भवन निर्माणका लागि नगरले २० करोड ३ लाख २३ हजार रुपियाँको डिपीआर तयार गरी टेण्डर आह्वान गरेको थियो । निर्माण कम्पनी अर्थो डेभलोपर्स डिजाइनर हेटौंडाले ३८ प्रतिशत कमीमा भवन बनाउने गरी टेण्डर प्राप्त गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शशि राईले बताउनु भयो । राईका अनुसार चालु वर्षमा नगरले ४ करोड ७० लाख रुपियाँ विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष पनि रकम विनियोजन हुन्छ । हालसम्म सङ्घीय सरकारले पैसा नदिएको राईको भनाई छ । हामीले स्थानीय पूर्वाधार विकास विभागसँग बजेट माग गरेका छौं । विभागले पैसा दिएन भने पनि नगरले ११ करोड रुपियाँ खर्च गर्न सक्छ भन्ने आसयले काम थालेको प्रमुख प्रशासकीय अधिकृत राईले बताउनु भयो ।
























