लेटाङ । कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले सञ्चारकर्मीहरूको सहयोग बिना कोशी प्रदेश पर्यटन वर्ष २०८२ सफल बनाउन नसकिने बताउनुभएको छ ।
शुक्रबार मोरङको लेटाङमा कोशी प्रदेश सरकार, पर्यटन, वन तथा वातावरण मन्त्रायलको पर्यटन कार्यालय धरानको सहयोगमा भएको पर्यटन पत्रकारिता तालिमको उद्घाटन गर्दै मन्त्री मण्डलले यस्तो बताउनुभएको हो । मन्त्री मण्डलले कोशी प्रदेशमा धार्मिक पर्यटनको उच्च सम्भावना रहेको उल्लेख गर्दै धार्मिक पर्यटनका माध्यमबाट राष्ट्र पुँजी निर्माण गर्न सकिने बताउनुभयो । उहाँले हामीसँग भएका रामसार क्षेत्र, आरक्षण क्षेत्रको प्रचार हुनसके भारत र तेस्रो देशबाट आउने पर्यटकको सङ्ख्या बढाउन सकिने उल्लेख गर्नुभयो ।
लेटाङ नगरपालिकाका नगर प्रमुख भुपेन्द्रकुमार लावतीले लेटाङलाई पर्यटकीय सहर बनाउन सकिने बताउनुभयो । कोशी प्रदेश सरकारसँग सहकार्य गरेर काम गर्ने उल्लेख गर्दै नगर प्रमुख लावतीले लेटाङमा देशकै एकमात्र अन्तरधार्मिक शान्ति पार्क रहेको बताउनुभयो ।
लेटाङ नगरपालिकाका उपप्रमुख कृष्णकुमारी पोख्रेलले लेटाङमा साल फुल्ने तराईदेखि गुराँस फुल्ने उच्च पहाडी भाग रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “धेरै सम्भावना भए पनि स्रोतको अभावमा लेटाङका पर्यटकीय क्षेत्रको प्रचारप्रसार हुन सकेको छैन ।’’
मन्त्रालयका सचिव विशाल घिमिरेले कोेशी प्रदेशमा संसारको सबैभन्दा अग्लो हिमाल सगरमाथा र नेपालको सबैभन्दा होचो भुभाग केचनाकवल रहेकोले पर्यटनका लागि अरु प्रदेश भन्दा महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले पर्यटनको सुरक्षा, होटल ब्यवस्थापन, गाइडहरू र यातायातको व्यवस्थापनमा कोशी प्रदेश सरकारले विशेष व्यवस्था गरिरहेको बताउनुभयो ।
सचिव घिमिरेले मुख्य पर्यटकीय गन्तव्यहरू कोशीटप्पु, सगरमाथा राष्ट्रिय निकुञ्ज, आरक्ष क्षेत्रहरू, सामसार क्षेत्र, मुन्धुममार्ग र धार्मिक पर्यटन क्षेत्रमा पर्यटनहरूका लागि सहयोग कक्ष राख्ने बताउनुभयो । भारतका तीन वटा प्रान्त सिक्किम, पश्चिम बङ्गाल र विहारसँग सिमाना जोडिएको कोशी प्रदेशले भारत लक्षित पर्यटकहरूलाई मात्र सहभागी गराउन सके लक्ष्य पूरा हुने बताउनुभयो । भारतमा प्रचण्ड गर्मी हुँदा मोरङकै जेफाले, समला, रमितेको वातावरण चिसो हुने बताउँदै उहाँले सञ्चारकर्मीहरूलाई यि क्षेत्रको प्रचारप्रसारमा सहयोग गरिदिन आग्रह गर्नुभयो ।
























