Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

हरिप्रसाद कोइराला
पथरीशनिश्चरे । आवश्यकता र माग भन्दा पनि लहडमा योजना छनौट गर्दा मोरङको पथरीशनिश्चरे नगरपालिकाको वडा नं.१ मा निर्माण भएको पशुबधशाला अझै सञ्चालनमा आउन सकेको छैन ।
कोशी प्रदेश सरकारको अनुदान सहयोगमा चार वर्ष अघि बधशालाको पूर्वाधार पूर्ण रुपमा निर्माण भई नगरपालिकालाई हस्तान्तरण भएको थियो ।तर, भवन भित्र आवश्यक पर्ने उपकरण खरिद गर्ने खर्च प्रदेश सरकार र नगरपालिकाले ब्यवस्थापन नगर्दा बधशाला गोठमा परिणत भएको छ । कोशी प्रदेश सरकारको पशुपंक्षी निर्देशनालयको पशु वधस्थल निर्माण सुधार कार्यक्रम अन्तर्गत अनुदान सहयोगमा बधशाला निर्माण गरिएको थियो । उसबेला प्रदेश सरकारले सिंधै स्थानीय सरकारलाई अनुदान दिने कानूनी ब्यवस्था थियो । कोशी प्रदेश सरकारको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका सुचना अधिकृत पशुचिकित्सक डा.विनोदकुमार साहले भन्नुभयो –‘हस्तान्तरण भइसकेको योजनालाई थप अनुदान दिन मिल्दैन । स्थानीय सरकारले नै बजेट ब्यवस्था गरेर बधशाला सञ्चालन गर्नुपर्छ।’
यता पथरीशनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहनप्रसाद तुम्वापो बधशालामा उपकरण खरिद नगरको प्राथमिकतामा पर्छ पर्दैन,केही भन्न नसकिने बताउनु हुन्छ । मैले एक्लै बजेट बनाउने होइन ।नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शशि राईले बजेट निर्माण गर्ने नगरकार्यपालिका भएकोले यस विषयमा बोल्न नमिल्ने बताउनु भयो । हाम्रो अधिकार भनेको विनियोजित बजेट कार्यान्वयन गर्ने मात्र हो । बजेट हाल्ने होइन ।
पथरी बजारको झण्डै डेढ बिघा जग्गा छ । सोही जग्गाको गोसलाइनमा निर्माण भएको बधशाला निर्माण भएको हो ।
कोशी प्रदेशको पशु बधस्थल निर्माण सुधार कार्यक्रमको ५० लाख रुपियाँ अनुदान र छिमेकी पालिकाहरूको साझेदारीमा कूल ७५ लाख १४ हजार ४ सय ५१ रुपियाँमा बधशाला निर्माण गर्ने डिपीआर बनेको थियो । तर, निर्माण कम्पनी मादी आरकेडा कन्ट्रक्सन इटहरीले ५० लाख ९३ हजार ५ सय ७९ रुपियाँमा बधशाला(घर) निर्माण गरेर नगरलाई जिम्मा लगाएको हो ।
बधस्थलमा दैनिक ठूला ५ वटा र साना १२ वटासम्म पशु वध गर्न र प्रशोधन गर्न सकिने छ ।बधशालामा भित्र पशुको स्वास्थ्य परीक्षण,बध गरेपछि प्रशोधन,फ्रिजिङ गर्ने लगायतका उपकरण राख्न अझै १०÷११ लाख रुपियाँ आवश्यक पर्ने बताइएको छ ।
प्रदेशको योजनामा नगरले वेवास्ता गर्दा चार वर्ष अघि निर्माण सम्पन्न बधशालाका झ्यालका शिसा फुट्न थालेकाछन् । ग्रील भत्किएको छ ,भने सटरमा तीनपत्र खिया लागेको छ । रङ्ग रोकन खुइलिसकेको छ ।भित्र घाँस पराल राख्न थालिएको छ। कुनै कोठामा सुँगुरको चारो राखिएको छ ।
पथरीबजारमा खुला रुपमा खसी, बोका,सुँगुर,बंगुर,राँगा, भैंसी काट्ने गरिन्छ । मासु ब्यवसायी आशा राईका अनुसार पथरी बजारमा दैनिक सुँगुर, राँगा १५÷१६ वटा र खसी,बोका १० वटा बध हुने गरेको छ ।



Share via
Send this to a friend