काठमाडौं ।नेपाली कांग्रेसका लोकप्रिय युवा नेता तथा प्रतिनिधिसभाका सांसद डा. सुनिल शर्माले हुम्ला जिल्लाको सर्केगाड गाउँपालिका–३ स्थित उनापानी गाउँमा भएको आगलागी पीडितलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गर्नुभएको छ।
सर्केगाड गाउँपालिका-३ का बासिन्दा ३७ वर्षीय बिर्ख रावत, ४७ वर्षीया बाटुली फडेरा, ४३ वर्षीय लाल कुवार फडेरा, ४४ वर्षीय पाले फडेरा, ४३ वर्षीया आशा फडेरा, २९ वर्षीय बिरजन फडेरा र ४२ वर्षीय धनबहादुर रावतका घर आगलागीबाट जलेर नष्ट भएका थिए।
सहयोग राशिको हस्तान्तरण बुधबार संविधानसभा सदस्य रिता शाही, नेपाली कांग्रेस हुम्लाका पूर्व सभापति जयपति रोकाया, क प्रदेश सभापति मानदेव शाही, नेविसंघका केन्द्रीय सदस्य याङ्जोर कार्की लगायतको उपस्थितिमा गरिएको हो।
डा. शर्मा प्रतिनिधिसभाका एक मात्र सांसद हुनुहुन्छ जसले तलब–भत्ता नलिने निर्णय गर्नुभएको छ। उहाँले सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आउनुभएको छ। शिविरमा उपचार सम्भव नभएका बिरामीलाई काठमाडौं मेडिकल कलेज वा नोबेल मेडिकल कलेजमा ल्याई निःशुल्क उपचारको व्यवस्था समेत गर्दै आउनुभएको छ।
उहाँद्वारा गरिएका यस्ता मानवीय र निस्वार्थ कार्यहरूले “नेता भनेको जनताको साँचो अभिभावक हो” भन्ने सन्देशलाई व्यवहारमा पुष्टि गरिदिएका छन्।
























