Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

मोरङ । समयमा पानी नपर्दा कोशी प्रदेशमा अझै ११ प्रतिशत खेतमा रोपाइँ हुन सकेको छैन् ।
कोशी प्रदेशका १४ चौध जिल्लामा २ लाख ७६ हजार ३८६ दशमलव ७२ हेक्टरमा धान खेती हुने गरेको छ । जसमध्ये हालसम्म २ लाख ४६ हजार ६५ दशमलव ४४ हेक्टरमा धान रोपाइँ भएको छ । कृषि विकास निर्देशनालय कोशी प्रदेशका निमित्त निर्देशक टोनी बर्देवाका अनुसार कोशीम हालसम्म ८९ दशमलव ३ प्रतिशत मात्र रोपाइँ भएको छ । गत वर्षको यही अवधिमा ९५ दशमलव १ प्रतिशत रोपाइँ भएको थियो ।
कोशी प्रदेशमा सघन रुपमा धान खेती हुने झापा, मोरङ र सुनसरी जिल्लामा समेत धान रोपाइँ सन्तोषजनक रुपमा हुन सकेको छैन् । मोरङमा ९२ प्रतिशत रोपाइँ भएको छ । गत वर्ष यही अवधिमा ९८ प्रतिशत रोपाइँ भएको थियो । सुनसरीमा ९५ र झापामा ८९ दशमलव ४७ प्रतिशत मात्र रोपायँ भएको छ । मोरङमा ६९ हजार ८१७ हेक्टरमा धान बाली लगाउने गरिन्छ । यस्तै सुनसरीमा ४८ हजार ९ हेक्टर र झापामा ७५ हजार ४५९ हेक्टर क्षेत्रमा धान बाली लगाइन्छ ।
मोरङमा भने अझै पनि रोपाइँ चलिरहेको छ । ढिलो पाक्ने मङ्सिर धानको खेती हुने दक्षिणी मोरङमा भदौको पहिलो सातासम्म खेती हुने गरेको छ । सनपाट खेती गर्ने किसानले सनपाट निकालेर मसिनो धान रोप्ने गरेका छन् । मोरङमा रोप्न बाँकी रहेको जग्गा भनेको सनपाट खेती रहेको जग्गा हो । कृषि ज्ञान केन्द्र मोरङका अनुसार जिल्लामा १ हजार ४ हेक्टर क्षेत्रफलमा जुट(सनपाट) खेती हुने गरेको छ ।

 



Share via
Send this to a friend