काठमाडौँ – माेरङ ३ बाट निर्वाचित सांसद एवम नेपाली कांग्रेसका प्रभावशाली नेता डा. सुनीलकुमार शर्माको पहलमा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट ५३८ जना लाभान्वित भएका छन्। काठमाडौँ मेडिकल कलेज (केएमसी) का विशेषज्ञ चिकित्सकहरूको सहभागितामा काठमाडौँको धुम्बाराहीमा सञ्चालन भएको उक्त शिविर आध्यात्मिक परोपकार संस्था र धन्वन्तरी स्पोर्ट्स हबको संयुक्त आयोजनामा सम्पन्न भएको हो।
केएमसीका प्रबन्धक तथा प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालका अनुसार शिविरमा १३५ जनाको ल्याब परीक्षण, १०९ जनाको भिडियो एक्स–रे, ८१ जनाको ईसीजी गरियो। त्यस्तै, ११ जनाको दाँत खोलिएको छ भने १९ जनालाई थप उपचारका लागि केएमसीमा रेफर गरिएको छ।
गरिब, असहाय र विपन्न नागरिकसम्म स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले डा. शर्माले विभिन्न स्थानमा यस्ता निःशुल्क शिविर सञ्चालन गर्दै आएका छन्। उनका अनुसार, यस अभियानबाट ग्रामीण भेगदेखि शहरी क्षेत्रसम्मका महिला, बालबालिका, ज्येष्ठ नागरिकलगायत आर्थिक रूपमा कमजोर वर्ग लाभान्वित हुँदै आएका छन्।

























