इनरुवा । कोशी प्रदेशका सहकारीहरूको जोखिम दोब्बरले बढेको छ । कोशी प्रदेश सरकारको प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयले आव २०८०÷०८१ मा १४ जिल्लाका ५ सय वटा सहकारी संस्था र सङ्घहरूको अनुगमन गरेको थियो । जसमध्ये १४६ वटा सहकारी संस्था उच्च जोखिममा देखिएका छन् । कार्यालयका वरिष्ठ शाखा अधिकृत मनोज कार्कीले दिनु भएको तथ्याङ्क अनुसार आर्थिक वर्ष ०७९÷०८० मा ७८ वटा सहकारी संस्था मात्र उच्च जोखिममा रहेको थिए ।
यस्तै मध्यम जोखिममा ३३० वटा,न्यून जोखिममा २४ र अति न्यून जोखिममा शुन्य सहकारी रहेका छन् ।सहकारीमा जोखिमको भार झण्डै सय प्रतिशतले बढको छ । कार्यालयले जोखिममा रहेका सहकारी संस्थाको नाम भने उल्लेख गरेको छैन् ।
कार्यालयको तथ्याङ्क अनुसार झापामा सबैभन्दा बढी ५५ वटा सहकारी उच्च जोखिममा रहेका छन् । १३५ मध्यम जोखिममा र न्यून जोखिममा ५ वटा सहकारी रहेका छन् । अघिल्लो आवमा ३५ वटा सहकारी संस्था उच्च जोखिममा थिए भने मध्यम जोखिममा १४१ वटा र न्यून जोखिममा आठ वटा सहकारी रहेका छन् । धेरै सदस्य भएका ठूला सहकारी रहेको झापामा अघिल्लो आवको तुलनामा सहकारीको जोखिम अझ बढेर गएको देखिन्छ । यस्तै मोरङमा अघिल्लो आवमा १९ वटा सहकारी उच्च जोखिममा देखिएका थिए । गत आवमा थप १६ वटा सहकारी उच्च जोखिममा परेका छन् । मध्यम जोखिममा एकसय वटा र १२ वटा सहकारी रहेका छन् । अघिल्लो आवमा मध्यम जोखिममा १२८ र २० वटा सहकारी न्यून जोखिममा रहेका थिए । सुनसरीमा उच्च जोखिम सहकारी सङ्ख्या झण्डै दोब्बरले बढेका छन् । अघिल्लो आवमा १५ वटा उच्च जोखिममा रहेकोमा गत आवमा २९ वटा सहकारी उच्च जोखिममा परेका छन् ।
सहकारी डिभिजन कार्यालय विगठन भएपछि सहकारी विभागले एउटा स्थानीय तहमा मात्र कार्यक्षेत्र रहेका सहकारीलाई सोही पालिकाले अनुगमन, नियमन र निरीक्षण गर्ने कानूनी ब्यवस्था गरेको छ । त्यस्तै एक भन्दा धेरै पालिका कार्यक्षेत्र रहेका सहकारीलाई प्रदेश सरकारले र एक भन्दा बढी प्रदेशमा कार्यक्षेत्र भएका सहकारीलाई विभागले अनुगमन गर्ने ब्यवस्था रहेको छ ।

























