विराटनगर । मोरङमा पछिल्लो तीन आर्थिक वर्षयता ८९६ वटा घरेलु तथा साना उद्योगको दर्ता खारेजी भएको छ ।
गत आवमा सबैभन्दा बढी ४४८ वटा घरेलु उद्योगको दर्ता खारेजी भएको छ । घरेलु तथा साना उद्योग कार्यालय मोरङका प्रमुख भवानी घिमिरेका अनुसार हाल मोरङमा ६ हजार ४५ वटा घरेलु तथा साना उद्योग सञ्चालनमा छन् । प्रदेश सरकार र स्थानीय तहले साना उद्योगलाई नगद अनुदान दिन बन्द गरेपछि उद्योग दर्ताको क्रम समेत घटेको छ । कार्यालयको तथ्याङ्क अनुसार गत आवमा मोरङमा ७३७ वटा उद्योग दर्ता भएका थिए । आव २०८०÷०८१ मा ७४९ वटा उद्योग दर्ता गरेको घरेलु कार्यालयले आव २०७९÷८० मा एक हजार १८५ वटा उद्योग दर्ता गरेको थियो ।
यस्तै उद्योग दर्ता भएर नवीकरण हुने क्रम भने बढ्दै गएको छ । विगतमा लक्षित अनुदानका लागि उद्योग दर्ता हुने गरे पनि पछिल्ला आर्थिक वर्षमा त्यस्तो देखिन छोडेको छ । कार्यालयको तथ्याङ्क अनुसार आव ०७९÷०८० मा एक हजार ११ वटा उद्योग नवीकरण भएका थिए । त्यस्तै आव २०८०÷०८१ मा दुई हजार १४९ वटा र गत आवमा दुई हजार ८८५ वटा घरेलु तथा साना उद्योग नवीकरण भएका छन् ।
घरेलु तथा साना उद्योग कार्यालयले नवीकरणबाट राजश्व समेत उल्लेख्य सङ्कलन गर्दै आएको छ । आव २०७९÷०८० मा एक करोड ९ लाख ६० हजार ८७४ रुपियाँ राजश्व सङ्कलन गरेको कार्यालयले गत आवमा दोब्बर भन्दा बढी राजश्व वृद्धि गरेको छ । गत वर्ष कार्यालयले दुई करोड ४४ लाख एक हजार ३१० रुपियाँ राजश्व सङ्कलन गरेको छ ।

























