Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

हरिप्रसाद कोइराला
केराबारी । परम्परागत बालिबाट बर्षभरि खान नपुुग्ने मोरङको केरावारी–३ भोगटेनीका युवा किसान यतिबेला स्ट्रबेरीको ब्यावसायिक खेतीमा लाग्नु भएको छ । तीन वर्षअघि सम्म मकै, गहुँ र कोदो रोपिएको खेत अहिले नयाँ रङ्ग र मीठो स्वादले भरिएको स्ट्रबेरीले ढाकिएको छ ।गाउँमा कोदो,मकै र गहुँ जस्ता परम्परागत बालि बीउँ जोगाउन मात्र लगाउन थालिएको छ ।
स्थानीय पूजा मगरले तीन वर्ष अघि कृषि प्राबिधिक दाजु निर्मल र समाजकी अगुवा आमा पूर्ण कुमारीको साथ र सहयोगमा गाउँमा स्ट्रबेरी खेती भित्राउनु भएको हो । रहरले गमलामा रोपेको स्ट्रबेरीको बिरुवाले अहिले गाउँको परिचय नै बदलिदिएको छ । पूजाले भन्नुभयो – अहिले गाउँमा स्ट्रबेरी नलगाउने कुनै घर छैन् । स्ट्रबेरी खेतीमा लाग्न उहाँलाई मेनोनाईट सेन्ट्रल कमिटी नेपाल र ब्रेड फर द बल्र्ड जर्मनीको सहयोगमा पहाडी ग्रामीण बिकास संस्था(हर्डन)ले सञ्चालन गरेको तालिमले बाटो देखायो । संस्थाले तालिम मात्र दिएन सहुलियत कर्जा पनि दियो । त्यही ५ प्रतिशत ब्याजमा लिएको कर्जाले पूजाको स्ट्रबेरीको ब्यावसायिक खेतीले सार्थकता पायो ।
पूजाले गमलामा हुर्काएको बिरुवाबाट बेर्ना तयार गर्नुभयो । नपुग बिरुवा नर्सरीबाट खरिद गर्नुभयो । नर्सरीका बिरुवा पुरै परिवार लागेर करिब ३ रोपनीमा रोप्नुभयो ।उहाँले पहिलो वर्ष ३ लाख र दोस्रो बर्ष २ लाख ५० हजार र गत वर्ष ५ लाख रुपियाँको स्ट्रबेरी बिक्री गर्नु भएपछि अहिले गाउँमा स्ट्रबेरी खेतीको लहर नै चलेको छ । गाउँमा बाख्रा, बंगुर र गाईपालन नगर्ने कोही छैन् । त्यसैले रासायनिक मल प्रयोग गर्नु परेको छैन् । अर्गानिक उत्पादन भएकोले हालसम्म बजारको अभाव झेल्नु परेको छैन् । व्यापारीहरू घर घरमा पुगेर प्रति केजी रु.४५० का दरले लिएर जान्छन ।
पूजाले जम्मा एक लाख लगानी गर्नु भएको छ । ५ प्रतिशतको सहुलियत कर्जा ७० हजार र स्वलगानी ३० हजार । एक लाख लगानीबाट उहाँले तीन वर्षमा पाँच लाख बढी आम्दानी लिइसक्नु भएको छ । स्ट्रबेरी खेतीको लागि मल व्यवस्थापन गर्न पुजाको परिवारले एउटा गाई तथा ३० वटा बाख्रासमेत पाल्नु भएको छ ।

पूजा मगरको ब्यावसायिक सफलतालाई २२ वर्षीय मोहन मगरले पनि पछ्याइरहनु भएको छ । क्याम्पस पढ्ने अवसर नपाएपछि उहाँ मेहनत र आँट सहित खेतीतर्फ मोडिनु भयो । सहयोगी संस्था उही , सस्तो ब्याज दरको कर्जा मलका लागि घरमै बाख र गाईको प्रसस्त गोबर जुत्तो थियो । गोडमेल र सिंचाई आफ्नै गर्ने मल्चिङका लागि ऋणको रकम खर्च गर्ने सोचेर उहाँले एक रोपनीमा स्ट्रबेरी राप्नुभयो ।
मङ्सिरदेखि फल्न थाल्ने स्ट्रबेरी बैशाखसम्म लगातार फलिरहन्छ । पाँच ÷छ महिना लगातार खेतभरी राताम्य स्ट्रबेरी देख्दा मोहन मात्रै होइन, उहाँको परिवारले दुखका दिन सकिएको अनुभुति गरिरहेको छ । उहाँले भन्नुभयो, मकै, कोदो,गहुँले दिने आम्दानी भन्दा पाँच गुणा बढी फाइदा लिन सकिने रहेछ । अहिले सम्म ३०० किलो उत्पादन गरिसक्नु भएका मोहनले पहिलो वर्ष नै एक लाख ३५ हजार रुपियाँ आम्दानी गर्नुभयो । अहिले मोहन तीन रोपनीमा खेती लगाउने तयारी गरिरहनु भएको छ ।
गत वर्ष देखि खेती सुरु गर्नु भएकी गङ्गा श्रेष्ठले भन्ुभयो – ब्यापारीले साना दाना लाँदैनन । त्यसैले साना दानाबाट रक्सी (मदिरा) बनाउन थालेकी छु । गङ्गा श्रेष्ठ पनि पहिलो वर्षको आम्दानीबाट स्ट्रबेरी खेती प्रति आकर्षित हुनु भएको छ ।
अचेल उत्तरी मोरङको पहाडी गाउँ भोगटेनी पुग्ने हो भने हरघरका बारीमा हरिया पातमाथि चम्किएका राताम्य स्टबेरी देखिन्छन् । गाउँका आमा–बुबादेखि युवासम्म सबैले हातमा टोकरी बोकेर खेतमा पस्ने दृश्य देख्दा गाउँमा नयाँ उत्साह छाएको महसुस हुन्छ ।
त्यसैले अहिले धेरैले भोगटेनीलाई ‘स्टबेरी गाउँ’ भनेर भन्न थालेका छन् । बैदेशिक रोजगारको सपना नदेखि स्वदेश मै नयाँ ब्यावसाय गर्ने हो भने पैसा कमाउन घर परिवार छोडेर बिदेश जानु पर्दैन भन्ने गतिलो उदाहरण पहाडी गाउँ भोगटेनीबासीले दिएका छन् । उहाँहरूको काम र लगनशिलता देखेर केरावारी गाउँपालिका कृषि तथा सहकारी शाखाले किसानलाई मल्चिङ प्लाष्टिक, पानी राख्ने ड्रमलगायतका सामाग्री प्रदान गरेको शाखा प्रमुख टेकप्रसाद बास्तोलाले बताउनु भयो ।



Share via
Send this to a friend