Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

हरिप्रसाद कोइराला
इनरुवा ।प्रारम्भिक सहकारी संस्थालाई शिक्षा, तालिम र प्रविधिसँगै सरकारले जारी गरेका ऐन,नियमावलि,मापदण्ड र निर्देशन कार्यान्वयन गराउन सहजीकरण गर्ने उदेश्यले दर्ता भएका कोशी प्रदेशका ३२ वटा छाता सङ्घ नै अध्यावधिक भएका छैनन् । कोशी प्रदेशमा बचत तथा ऋण,कृषि,बहुउदेश्यीय,तरकारी फलफुल,सूचना तथा सञ्चार,चिया,जडिबुटी,सुपारी,दूग्ध उत्पादक,उपभोक्ता र जिल्ला सहकारी सङ्घ लगायत ६३ वटा सहकारी सङ्घ रहेका छन् ।
सहकारी संस्थाको सबैभन्दा माथिल्लो छाता सङ्घ राष्ट्रिय सहकारी महासङ्घको २०८० पुस २७ र २८ गते सम्पन्न ३१ औं साधारणसभामा कोशी प्रदेशका ५६ वटा छाता सङ्घले निर्वाचन कार्यक्रममा भाग लिएका थिए । साधारणसभा र निर्वाचनमा भाग लिएका सङ्घहरू समेत अध्यावधिक भएका छैनन् । कोशी प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय इनरुवाले भदौ १५ गते ३५ दिने सूचना निकालेर प्रदेशका ३२ वटा छाता सङ्घ सहित ५२३ वटा सहकारी सङ्घ संस्थालाई विवरण बुझाउन सूचित गरेको छ । विवरण नबुझाउनेमा झापाका सबैभन्दा बढी सहकारी रहेका छन् । झापाका ६ वटा सङ्घ र १२५ वटा सहकारी संस्था रहेका छन् ।
सहकारी रजिष्ट्रार कार्यालय कोशी प्रदेशका सूचना अधिकारी मनोज कार्कीका अनुसार तेह्रथुम,धनकुटा,भोजपुर र उदयपुरका चार ;चार वटा सोलुखुम्बु र सुनसरीका तीन÷तीन वटा र मोरङ,इलाम,पाँचथर, खोटाङ र ओखलढुङ्गाका एक÷एक वटा सङ्घ अध्यावधिक भएका छैनन् । सहकारी सङ्घ नै अध्यावधिक नभएपछि प्रारम्भिक सहकारी संस्थाले पाउने शिक्षा, तालिम र प्रबद्र्धनका कार्यक्रम नै प्रभावित हुने सूचना अधिकारी कार्कीले बताउनु भयो । कार्कीका अनुसार सहकारी अभियानकर्मी कै सङ्घहरू नियमित छैनन् । लेखापरीक्षण गराउँदैनन् ,साधारणसभा गर्न सक्दैनन् । अभियान सङ्लो नभएसम्म प्रारम्भिक सहकारी संस्था बलिया नहुने उहाँले बताउनु भयो ।
यता कोशी प्रदेश सहकारी सङ्घका अध्यक्ष डिल्ली पोख्रेलले सङ्घहरू अध्यावधिक भएर पनि विवरण नबुझाएका कारण रजिष्ट्रार कार्यालयमा अध्यावधिक नदेखिएको बताउनु भयो । उहाँले रजिष्ट्रार कार्यालयमा ३५ दिन भित्र विवरण नबुझाउने सहकारी सङ्घ खारेज गर्नुको विकल्प नरहेको बताउनु भयो । सङ्ख्या देखाएर मात्र हुन्न । काम गर्न नसक्ने सङ्घ खारेजीमा जानुपर्छ, पोख्रेलले भन्नुभयो ।



Share via
Send this to a friend