काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् सांसद डा. सुनिलकुमार शर्माले भदौ २३ र २४ गतेको आन्दोलनमा सहादत प्राप्त गर्नुभएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै तत्कालीन संकट समाधानका लागि अन्तरिम सरकार गठनदेखि संविधान संशोधनसम्मका ठोस कदम चाल्नुपर्नेमा जोड दिनुभयो।
एक विज्ञप्ति जारी गर्दै सांसद शर्माले आन्दोलनमा मारिनुभएका तथा घाइते युवाप्रति गहिरो दुःख व्यक्त गर्दै भन्नुभयो, “सहादत प्राप्त गर्नुभएका सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दछु। घाइते युवाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। यो पीडादायी क्षणलाई हामीले सुधारको अवसरमा रूपान्तरण गर्नुपर्छ।”
उहाँले हालको राजनीतिक अन्योलबीच मुलुकलाई संवैधानिक बाटोबाटै निकास दिनुपर्नेमा जोड दिनुभयो। आन्दोलनरत युवासमूह, सबै राजनीतिक दल, नागरिक समाज र संवैधानिक विज्ञहरूको सहभागितामा संविधान संशोधनमार्फत दीर्घकालीन समाधान खोजिनुपर्ने उहाँको धारणा छ।
डा. शर्माले प्रस्तुत गर्नुभएको प्रमुख प्रस्तावहरू यसप्रकार छन् :
अन्तरिम सरकार गठन : स्वच्छ छविका व्यक्तिको नेतृत्वमा अन्तरिम सरकार।
छ महिनादेखि एक वर्षभित्र आम निर्वाचन : निर्वाचनसँगै संविधानिक राजतन्त्र र धर्मका विषयमा जनमत सङ्ग्रह।
शक्ति सन्तुलन : प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, र एक व्यक्तिले दुई पटकभन्दा बढी राष्ट्रपति/प्रधानमन्त्री/मन्त्री नबन्ने व्यवस्था।
न्यायालय सुधार : राजनीतिक नियुक्तिका आधारमा पद पाएका न्यायाधीशलाई पदमुक्त गरी स्वतन्त्र निकायमार्फत नियुक्ति।
भ्रष्टाचार छानबिन : स्वतन्त्र उच्चस्तरीय आयोग गठन गरी २०४६ सालपछि भएका उच्च ओहोदाधारीको सम्पत्ति छानबिन र अवैध सम्पत्ति राष्ट्रियकरण।
राजनीतिक दल सुधार : दलका पदाधिकारीको कार्यकाल ४ वर्षमा सीमित, अनिवार्य महाधिवेशन नगरेमा दर्ता स्वतः खारेज।
विशेष अधिवेशन : संसदलाई अस्थायी रूपमा निष्क्रिय राखी, आवश्यक परेमा मात्र उच्चस्तरीय आयोगको सिफारिसमा विशेष अधिवेशन बोलाउने।
उहाँले भन्नुभयो, “यो केवल सरकारको संकट होइन, प्रणालीगत संकट हो। अब दलहरूले छलकपट र दाउपेच त्यागेर इमानदारीपूर्वक नयाँ बाटो रोज्नुपर्छ। युवाको सपना, आमजनताको अपेक्षा र लोकतान्त्रिक मूल्य सुरक्षित गर्न हामी सबैले संविधानभित्रको बाटो अपनाउनुपर्छ।”
डा. शर्माले राष्ट्रपतिलाई, आन्दोलनरत युवाहरूलाई, राजनीतिक दलहरूलाई र नागरिक समाजलाई “राष्ट्रिय एकता, संयमता र मेलमिलापमार्फत मुलुकलाई निकास दिन” आह्वान गर्नुभयो।
जनताप्रति उहाँको मानवीय समर्पण
डा. शर्मा प्रतिनिधिसभाका तलब–भत्ता नलिने एक मात्र सांसद हुनुहुन्छ। उहाँले सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आउनुभएको छ। यस्ता शिविरमा उपचार सम्भव नभएका बिरामीलाई काठमाडौं मेडिकल कलेज वा नोबेल मेडिकल कलेजमा ल्याई निःशुल्क उपचारको व्यवस्था गर्ने कार्य निरन्तर भइरहेको छ।
उहाँकै पहलमा नोबेल मेडिकल कलेजमा आफ्नै निर्वाचन क्षेत्रका लागि समर्पित ५० शय्याको निःशुल्क क्याबिन स्थापना गरिएको छ। पार्टी वा पहिचानको आधारमा नभई सबै नेपालीलाई समान रूपमा सेवा पुर्याउने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभएको छ।
हालै मोरङको बेलबारीमा उहाँले एम्बुलेन्स हस्तान्तरण गर्नुभएको छ, साथै देशका सात स्थानमा निजी पहलमा एम्बुलेन्स उपलब्ध गराइसक्नुभएको छ। यी मानवीय कार्यहरूले “नेता भनेको जनताको साँचो अभिभावक हो” भन्ने सन्देशलाई अझ बलियो बनाएको छ।

























