काठमाडौं । नेपाली कांग्रेसका नेता एवं महासमिति सदस्य डा. सुनिल कुमार शर्माले पार्टीको हालको अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै कांग्रेसभित्र आत्मसमीक्षा र नवनिर्माणको आवश्यकता अनिवार्य भएको बताउनुभएकाे छ ।
उहाँले सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुभएको विचारमा पार्टी नेतृत्वप्रति आक्रोश, नीति–निर्णयमा देखिएको असफलता, गुटबन्दी, भ्रष्टाचार, सेवा प्रवाहमा असमानता लगायत विषयमा तीखा टिप्पणी गर्नुभएको हाे।
डा. शर्माले भन्नुभयो, “पार्टीको अपजसको दोष केवल सभापतिलाई थोपार्नु न्यायोचित हुँदैन, हामी सबै यसको हिस्सेदार हौं ।”
उहाँका अनुसार, नेपाली कांग्रेसको गौरवशाली इतिहासमा आजको स्थिति लाजमर्दो बिन्दुमा आइपुगेको छ । पार्टी इतिहासमा बीपी कोइराला, गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला लगायत नेताहरूको योगदान स्मरण गर्दै उहाँले अहिलेको कांग्रेस त्यस गौरवको प्रतिरूप नभएको बताउनुभयो ।
देशको दुःखद यथार्थ चित्रण गर्दै उहाँले भन्नुभयो, “आम नागरिक दुई छाक खाना र एक सिटामोलको खोजीमा छन्, बालबालिका खोलामा बगिरहेका छन् तर नेताहरू भोज भतेर र गाडीको लस्करमा रमाइरहेका छन् ।”
उहाँले जिल्लास्तरमा हुने पार्टी कार्यक्रमहरूमा हुने खर्च, मदिरा र मासुको तामझाम, देखावटी शक्ति प्रदर्शन, र पार्टी केन्द्रीय कार्यालयमा चलाइने गुटगत कार्यालयहरूको अपारदर्शिताबारे पनि प्रश्न उठाउनुभयो ।
कांग्रेस नेता शर्माले पार्टीभित्रको आर्थिक अनियमितता र नेतृत्वको मौनता प्रति असन्तुष्टि प्रकट गर्नुभयो । उहाँले भन्नुभयो, “विदेश, तस्करी वा ठेक्काबाट आएको पैसाको स्रोत खोलिँदैन, यो पारदर्शिता होइन, भ्रष्टाचारको मौन स्वीकृति हो ।”
शिक्षा क्षेत्रमा गरिएको सिन्डिकेट, निजी विद्यालय बन्द गर्ने प्रयास, नर्सिङ कलेजहरू बन्द गरिनुजस्ता कदमप्रति पनि उहाँले आक्रोश प्रकट गर्नुभयो ।
त्यस्तै, गैरआवासीय नेपालीहरूमाथि ‘अनागरिक’ जस्तो व्यवहार गरिएको, सम्पत्ति कायम गर्न नपाएको, र उनीहरूको मौलिक पहिचान नै खोसिएको घटनालाई उहाँले लाजमर्दो बताउनुभयो ।
संसदभित्र जनताको आक्रोश प्रवेश गरेको विषयलाई गम्भीर चेतावनीका रूपमा चित्रण गर्दै उहाँले भन्नुभयो, “यो लोकतन्त्रको मृत्युको संकेत हो, जनताको आवाज अब थुन्न सकिन्न ।”
गुटबन्दी, पुराना योगदानकर्तालाई कारबाही गर्ने प्रवृत्ति, पद बाँडफाँटमा योग्यता हैन गुटीय स्वार्थ हेर्ने मानसिकता, र पार्टी पदाधिकारीहरूको मौनतालाई उहाँले नेतृत्वको नैतिक पतनको सङ्केत भन्नुभयो ।
“आफ्नै पार्टीभित्र गलत देख्दा पनि महामन्त्री र पदाधिकारी मौन छन्, यो केवल लापरवाही हैन, देशप्रति विश्वासघात हो,” उहाँले भन्नुभयो ।
डा. शर्माले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, स्वतन्त्र न्यायपालिका, भ्रष्ट न्यायाधीशको बर्खास्ती, कार्यकारीमा दुई कार्यकालको सीमा जस्ता सुधारका एजेन्डा तत्काल नलिइए देश ठूलो विद्रोहतर्फ जान सक्ने चेतावनी दिनुभयो ।
उहाँले पार्टीभित्र सुधारको संकेत देखिन नसकेको अवस्थामा वर्तमान कार्यकारी नेताहरूले पदको मोह त्यागी नयाँ पुस्तालाई जिम्मेवारी दिने समय आएको बताउनुभयो ।
“यदि आत्मसमीक्षा गरेर काँग्रेस सुधारको बाटोमा लाग्यो भने मात्रै अपजसको ढोका चिर्न सकिन्छ,” उहाँले भन्नुभयो ।
नेतृत्वले सत्तालाई खेल सम्झिरहेसम्म देश उज्यालो नहुने बताउँदै उहाँले भन्नुभयो, “जबसम्म नेतृत्वले जिम्मेवारीलाई सत्ताको खेल सम्झिरहन्छ, तबसम्म देश, समाज र पार्टी उज्यालोमा जान सक्दैन ।”

























