कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाले विभिन्न नौ शीर्षकको बजेट कटौति गर्ने निर्णय गरेको छ । जेनजी पुस्ताको आन्दोलनका क्रममा झण्डै पाँच करोड मूल्य बराबरको भौतिक पूर्वाधार,प्रविधि र जिन्सी सामान क्षति भएपछि पालिकाले बिहीबार १९ औं विशेष गाउँसभा मार्फत खर्च कटौतिको निर्णय गरेको हो ।
बैठकले विभिन्न वडा कार्यालयहरू र शाखाले तय गरेका लक्षित कार्यक्रमहरू,खेल सामग्री वितरण र छात्रवृति कार्यक्रममा विनियोजित बजेट कटौति गर्ने निर्णय गरेको छ । यस्तै विभिन्न जात जातिको संस्कृति प्रवद्र्धनमा विनियोजित रकम,वडा स्तरीय चालु खर्चका लागि विनियोजित पाँच लाखसम्मका कार्यक्रम, पालिका भरिका पाँच लाख सम्मका सबै योजना , गोष्ठी र तालिम सम्बन्धि कार्यक्रम,निशुल्क शिक्षा पालिकाको ईच्छा कार्यक्रम र नागरिक उपचार सहयोगको ६० प्रतिशत रकम कटौति गर्ने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्नु भएके छ ।
गाउँपालिकाको प्रशासनिक कार्य तत्काल सञ्चालन गर्न अप्ठ्यारो भएपछि पालिकाले बिहीबार आकस्मिक रुपमा १९ औं विशेष गाउँसभा बोलाएको थियो । गाउँपालिकाको खण्डहर भवनमा म्याट ओछ्याएर भुई मै बसेको गाउँसभा अध्यक्ष राजमति इङ्नामको अध्यक्षतामा भएको थियो । तर, गाउँसभाले गरेका निर्णय प्रति स्थानीयले बिरोध जनाएका छन् । धर्म संस्कृति प्रवद्र्धन ,शिक्षा, छात्रवृति र उपचार सहयोग नागरिकले पाउने प्रत्यक्ष सुविधा हुन । ति सबै सुविधा कटौति गरेपछि नागरिक स्तरमा अझ वितृष्णा हुने देखिएको छ ।
नेपाली काङ्ग्रेस कानेपोखरी गाउँ समितिका सभापति योगेन्द्रप्रसाद दाहालले युवा लक्षित कार्यक्रम कटौति भएकोमा आपत्ति जनाउनु भयो । बजेट कटौति भएका अधिकांश कार्यक्रम जेनजी पुस्तासँग जोडिएका छन् । यो निर्णयले सङ्लिदै गएको राजनीतिमा थप सङ्कट आउन सक्ने दाहालले सङ्केत गर्नुभयो । त्यसैले पालिकाले निर्णय सच्याओस । नेकपा एमालेका गाउँ उपाध्यक्ष कृष्ण थामीले विषम परिस्थितिमा निर्णय लिँदा सक्रिय दल र सरोकारवालाहरूसँग सहमति जुटाएर लिएको भए उपयुक्त हुने बताउनु भयो । उहाँले पालिका पुननिर्माण लागि गर्न लागिएको भएपनि परिस्थिति प्रतिकुल रहेकोले सहमतिको आवश्यकता औंल्याउनु भयो ।
नेकपा माओवादी केन्द्रका गाउँ अध्यक्ष दुर्गाबहादुर कार्कीले जेनजी पुस्तासँग प्रतिशोध लिने गरी बजेट कटौति गरिएको बताउनु भयो । उहाँले छात्रवृति,खेलसामग्री,निशुल्क शिक्षा जस्ता जेनजी पुस्ताका लागि विनियोजित बजेट कटौति भएपछि नयाँ समस्या उत्पन्न हुन सक्ने उल्लेख गर्नुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका गाउँ अध्यक्ष सुनीलदत्त अधिकारीले बजेट समानुपातिक रुपमा कटौति गरेर आवश्यक सामग्री खरिदका लागि स्रोत सुनिश्चित गर्नुपर्ने बताउनु भयो । उहाँले जेनजी पुस्ताका लक्षित कार्यक्रम कटौति गरेको देखिन्छ । यो निर्णयले थप समस्या उत्पन्न गर्नसक्ने अधिकारीले बताउनु भयो । मुख्यकुरा मितब्ययी हुनु प¥यो ,–उहाँले भन्नुभयो ।
























