बेलबारी ।राष्ट्रिय सहकारी महासङ्घका कार्यबाहक अध्यक्ष रमेशप्रसाद पोखरेलले सहकारी ऐन र नियमावलीका कतिपय व्यवस्था त्रुटिपूर्ण र फरकफरक ब्याख्या गर्न सकिने खालका रहेकोले अभियान त्यस्ता विषय संशोधनका लागि सरकार सँग परामर्श र छलफल गरिरहेकाे बताउनु भएको छ।शुक्रबार माेरङकाे बेलबारीमा जिल्ला बचत तथा ऋण सहकारी संघ लि. माेरङले आयाेजना गरेकाे “सहकारीका समसामयिक बिषय ” विषयक एक दिवसीय अन्तरक्रिया कार्यक्रम बाेल्दै उहाँले यस्तो बताउनु भएको हाे । पोखरेलले भन्नुभयो – मापदण्ड र निर्देशनभन्दा माथि सहकारी ऐन र नियमावली भएकोले त्यसै अनुरुप संघ संस्था सञ्चालन गर्नुपर्छ ।
उहाँले भाखा नाघेको ऋणमा सुरक्षणकाे ब्यवस्था नगरिकन लाभांश वितरण नगर्न आग्रह गर्दै कतिपय ब्यवस्था र निर्देशन सहकारीकाे हितमा रहेको बताउनु भयो । पाेख्रेलले सहकारी रजिस्ट्रार कार्यालय काेशीले जारी गरेको निर्देशनमा संघ,प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीले मात्र सहकारी संस्थाकाे सञ्चालक बन्न नपाउने स्पष्ट निर्देशन भएकोले शिक्षकहरूलाई सञ्चालक बन्न नराेक्ने उल्लेख गर्नुभयाे । उहाँले कतिपय विषय अदालत पुगेपछि मात्रै समाधान हुने प्रकृतिका रहेको धारणा राख्नुभयाे।
नेफ्स्कुनका पुर्व सञ्चालक गाेमा नेपालले सहकारीमा प्रभाकारी सुशासनको आवश्यकता रहेकाे बताउँदै सहकारी संघ र संस्थाकाे नेतृत्व सदस्य मैत्री नहुँदा समस्या बढ्दै गएको उल्लेख गर्नुभयाे ।नेपालले भन्नुभयो – जेनजी आन्दोलनका क्रममा सहकारी संस्थाकाे बाेर्ड हटाउनु पर्ने अवस्था आयाे ।उहाँले सहकारीमा पनि नेतृत्व पुस्तान्तरणकाे आवश्यकता ओैंल्याउनु भयाे ।उहाँको भनाई थियोे – असन्तुष्टि जाग्याे भने उलटपुलट हुने रहेछ ।
जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि.मोरङका अध्यक्ष प्रेमप्रकाश कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष एकराज निराैलाले नियामक निकायहरुबाट जारी मापदण्ड तथा निर्देशनहरूमा भएका ब्यवस्थाले पार्ने असर,सहकारी संस्था सञ्चालनमा हुने कठिनाई र तिनकाे प्रभावबाट सहकारीमा पर्ने अप्ठ्यारोहरूलाई प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा लेखा परीक्षक राजेन्द्र सुवेदी ,जिल्ला सहकारी संघ माेरङका लेखा सदस्य दुर्गाप्रसाद गाैतम, एकीकृत जनभावना साकाेसका अध्यक्ष हेरम्वराज भट्टराई ,रमाइलो जनएकता साकाेसका अध्यक्ष त्रिभुनाथ फुयल,जिल्ला सहकारी संघका अमृत गुरुङ ,सुनपकुवा साकाेसका काेषाध्यक्ष राजेन्द्र आचार्य र मनकामना साकाेसका अध्यक्ष युवराज भट्टराईले विद्यमान परिस्थितिमा काम सघाउने भन्दा अह्राउने खटाउने धेरै भएकोले सहकारी सञ्चालनमा समस्या बढेको गुनासो गर्नुभयो । अन्तरक्रिया कार्यक्रममा प्रदेश बचत तथा ऋण सहकारी सङ्घ काेशीका अध्यक्ष हरिप्रसाद सुवेदी, जिल्ला सहकारी संघ मोरङका वरिष्ठ उपाध्यक्ष बिजय माझी लगायत विषयगत सङ्घका पदाधिकारीहरू , सञ्चालकहरू ,प्रतिनिधिमुलक संस्थाका अध्यक्ष तथा ब्यवस्थापक गरी ५४ जनाको सहभागिता रहेको थियो ।
जिल्ला बचत संघकाे सभाहलमा भएको कार्यक्रममा संघकी उपाध्यक्ष सीता अधिकारीले स्वागत गर्नु भएको थियो ।

























