काठमाडौं ।
नेपाली कांग्रेसका महासमिति सदस्य डा. सुनिलकुमार शर्माले नेपालको राजनीतिक नेतृत्व र दलहरूलाई गम्भीर आत्मसमिक्षा गर्न चेतावनी दिनुभएको छ। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले समयमै गल्ती सुधार्न नसकिए अर्को ठूलो जनविद्रोह हुन सक्ने खतरा औंल्याउनुभएको हो।

उहाँले भन्नुभयो – “समयमै राजनीतिक दल र नेताहरूले सुझबुझका साथ गरेका गल्ती र राजनीतिक अपराधहरूको आत्मसमिक्षा गरेर सुधार नगरे भविष्यमा यो भन्दा ठूलो विद्रोह हुने निश्चित छ।”
जेन्जी आन्दोलनको सन्दर्भ

डा. शर्माले जेन्जी आन्दोलनलाई केवल युवाको आन्दोलन नभई आम जनताको विद्रोहको रूपमा बुझ्नुपर्ने बताउनुभयो। उहाँले प्रत्यक्ष कार्यकारीको निर्वाचन, कार्यकाल सीमा, दलहरूको अनिवार्य महाधिवेशन, न्यायालयमा राजनीतिक नियुक्ति निषेध, लोक सेवा आयोग सरहको स्वायत्त निकाय गठन, एनआरएनलाई अधिकार सुनिश्चित गर्ने, विपन्न परिवारलाई १ प्रतिशत ब्याजदरमा शिक्षाका लागि सफ्ट लोन उपलब्ध गराउने तथा १० लाखसम्मको निःशुल्क स्वास्थ्य बीमा संविधानमै सुनिश्चित गर्नुपर्ने माग गर्नुभयो।
उहाँका अनुसार, “यदि यस्ता आधारभूत मागहरू संविधानमै सम्बोधन भएनन् भने आजदेखि १०–१५ वर्षभित्र फेरि अझ ठूलो आन्दोलन हुने निश्चित छ।”
कडा चेतावनी
डा. शर्माले आगामी विद्रोह अझै कठोर र हिंसात्मक हुन सक्ने चेतावनी दिनुभयो। उहाँका शब्दमा – “यो पटक नेताहरू कुटिए मात्र, तर भविष्यमा उनीहरू खोजीखोजी पासविक ढंगले मारिन सक्ने, आफ्नै घरमा पनि सुरक्षित नहुने अवस्था आउन सक्छ।”

राजनीतिमा मात्रै होइन, सामाजिक सेवामा पनि डा. शर्मा सक्रिय रहनुभएको छ। प्रतिनिधि सभामा सांसद हुँदा तलब–भत्ता नलिने एक मात्र व्यक्तिका रूपमा उहाँ चिनिनुहुन्छ। देशभर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै उपचार सम्भव नभएका बिरामीलाई काठमाडौं वा नोबेल मेडिकल कलेजमा ल्याएर निःशुल्क उपचारको व्यवस्था मिलाइरहनुभएको छ।
उहाँकै पहलमा नोबेल मेडिकल कलेजमा आफ्नै निर्वाचन क्षेत्रका लागि ५० शय्याको निःशुल्क क्याबिन स्थापना गरिएको छ। हालै मोरङको बेलबारीमा एम्बुलेन्स हस्तान्तरण गर्नुभएको उहाँले निजी पहलमा देशका सात स्थानमा एम्बुलेन्स उपलब्ध गराइसक्नुभएको छ।
यी मानवीय कार्यहरूले “नेता भनेको जनताको साँचो अभिभावक हो” भन्ने सन्देशलाई अझ बलियो बनाएको उहाँको भनाइ छ।

























