केरावारी । राष्ट्रिय राजमार्गको बैकल्पिक सडकका रुपमा सरकारले राष्ट्रिय गौरवको योजना बनाएर निर्माण सुरु गरेको मदन भण्डारी राजमार्गको मोरङ खण्ड अन्तर्गत केरावारी गाउँपालिकाको भलुवा क्षेत्रमा पर्ने घर हटाउन सहमति जुटेको छ ।
एकपछि अर्को समस्या खेपि रहेको राष्ट्रिय गौरवको यो आयोजना कतै राष्ट्रिय वनका रुख हटाउन नसकेर, कतै सडक किनारका घरलाई ब्यवस्थापन गर्न नसकेर त कतै ब्यक्तिको जग्गामा सडकको डिपीआर भएर रोकिरहेको छ । मोरङ खण्डमा पर्ने ९ दशमलव ४२ किमी सडकले वनक्षेत्रको २० दशमलव ९४३ हेक्टर जग्गाका रुख हटाउने काम सकिएपछि सडक निर्माणको काम अघि बढ्ने स्थानीयको अपेक्षा थियो । मोरङको मिक्लाजुङ,लेटाङ र केरावारी गाउँपालिकामा पर्ने १ हजार ३३३ वटा रुख काटेर निर्माण क्षेत्र खालि गरिसकिएको छ । तर, केरावारी– ९ भलुवाका आठ परिवार र वडा नंं ३ को एक परिवारलाई अन्यत्र ब्यवस्थापन गर्न नसक्दा सडक निर्माणको काम रोकिएको थियो ।
केराबारी गाउँपालिकाले सडक किनारमा बसेका नौ परिवारसँग छलफल गरी सहमति जुटाएको छ । गाउँपालिका अध्यक्ष सुमन मिरिङचिङका अनुसार पालिकाले जग्गा खोजेर नौ परिवारलाई उपयुक्त स्थानमा सार्ने सहमति भएको जानकारी दिनुभयो । उहाँका अनुसार घरको क्षतिपुर्ति वितरणका लागि जिल्ला प्रशासन कार्यालय मोरङसँग क्षतिपुर्ति निर्धारण गरिदिन लागि पत्राचार गर्ने सहमति भएको छ ।
मदन भण्डारी राजमार्ग आयोजना दमक कार्यालयका निमित्त आयोजना प्रमुख सुभाषकुमार दत्तका अनुसार जिल्ला प्रशासन कार्यालय मोरङले गठन गरेको क्षतिपुर्ति निर्धारण समितिले तोके बमोजिम आयोजनाले क्षतिपुर्ति दिने बताउनुभयो । सरकारी दररेटमा दिएको क्षतिपुर्तिमा उहाँहरू सहमति हुनु भएन भने पुन समस्या आउने निमित्त प्रमुख दत्तको भनाई छ ।
तर, वडा नंं. ९ का वडाध्यक्ष गोपाल याक्खाले सरकारी दररेट अनुसार प्राप्त हुने क्षतिपुर्तिमा पीडितहरू सहमत हुनु भएन भने गाउँपालिकाले आफ्नो तर्फबाट ब्यवस्थापन गरेर भएपनि सडकको ‘राइट अफ वे’ खालि गर्ने बताउनु भयो । उहाँले राष्ट्रिय गौरवको आयोजनाको महत्व पीडितहरूले बुझिसक्नु भएकोले थप समस्या नहुने जानकारी दिनुभयो ।
केरावारी–९ का भलुवा पुर्वपट्टि सडक किनारमा रहेका इन्द्रबहादुर राई,सुरेन्द्र चौधरी,खगेन्द्र लिम्बू,कटकबहादुर राई, राजेन्द्र साह,,बालानन्द खत्री,शान्तमाया मगर, निर्मला घिमिरे र वडा नंं ३ का लालबहादुर कार्कीको घरका कारण राष्ट्रिय गौरवको आयोजना निर्माणमा ढिलाई भइरहेको हो ।
मदन भण्डारी राजमार्ग आयोजना दमक कार्यालयका निमित्त कार्यालय प्रमुख सुभाषकुमार दत्तका अनुसार रुख काट्ने बाटो खुलेसँगै राजमार्ग निर्माणको काम तीब्र गतिमा अघि बढेको थियो । साना साना विषयले ठूलो समस्या आउने गरेकोले जुन गतिमा काम हुनु पर्ने हो त्यो गतिमा हुन सकेको छैन । उहाँका अनुसार हालसम्म आयोजनाको ८७ प्रतिशत भौतिक प्रगति भएको छ । बजेटको अभाव र भुक्तानीमा कुनै समस्या छैन् । निमित्त प्रमुख दत्तले १० अर्ब १३ करोडको ठेक्का सम्झौता मध्ये हालसम्म आठ अर्ब भुक्तान भइसकेको जानकारी दिनुभयो । चालु आवमा पनि ४९ करोड रुपियाँ विनियोजन भएकोले बजेट अभाव नहुने उहाँको भनाई छ ।
निर्माण कम्पनी श्रेष्ठ–मोतिदान जेभीका सञ्चालक प्रल्हाद ढुङ्गानाले निर्माण क्षेत्र खालि भयो भने निर्धारित समयमा काम सक्ने बताउनु भयो । सबैभन्दा ठूलो समस्या सडकको डिपीआर भित्र पर्ने रुख थिए । ति रुख हटाउने काम अन्तिम चरणमा पुगेकोले असार सम्म तीब्र गतिमा काम हुने ढुङ्गानाले जानकारी दिनुभयो । उहाँले निर्माण हुन बाँकी सडकमा सवारी साधनको चाप नहुने, मानवीय उपस्थिति नहुने भएकोले काम गर्न सजिलो र छिटो हुने बताउनु भयो ।

























