उर्लाबारी, । नेकपा एमालेको भ्रातृ संगठन युवा संघका कोशी प्रदेश समितिका पुर्व सदस्य विशाल गुरुङको नेतृत्वमा शनिबार सय जना युवा,तरुण नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। तरुण दल उर्लाबारी नगर समितिको आयोजनामा सम्पन्न तरुण भेला कार्यक्रमको अवसरमा विभिन्न पार्टीमा आस्था राख्ने तथा स्वतन्त्र युवा सामूहिक रूपमा नेपाली कांग्रेस प्रवेश गरेका हुन्।
उर्लाबारी–७ स्थित उर्लाबारी पार्टी प्यालेसमा सम्पन्न कार्यक्रममा नवप्रवेशी युवाहरूलाई नेपाली कांग्रेस कोशी प्रदेशका सहमहामन्त्री तथा मोरङ क्षेत्र नं.–१ का प्रतिनिधिसभा उम्मेदवार खड्गबहादुर फागोले टीका र खादा लगाइ पार्टीमा स्वागत गर्नुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार खड्ग फागोले युवाहरूको बढ्दो आकर्षणले नेपाली कांग्रेसप्रतिको जनविश्वास अझ सुदृढ हुँदै गएको बताउनुभयो। उहाँले भन्नुभयो, “आज युवाहरूले स्वेच्छाले नेपाली कांग्रेस रोज्नु परिवर्तनको स्पष्ट संकेत हो। नेपाली कांग्रेस सत्ता प्राप्तिका लागि होइन, जनताको सेवाका लागि बनेको पार्टी हो।”
उहाँले थप्नुभयो, “जनताको समस्या नजिकबाट बुझ्ने, जनताको साक्षी राखेर विकास गर्ने हाम्रो स्पष्ट प्रतिबद्धता हो। फागुन–२१ को निर्वाचन लोकतन्त्र र समृद्धिको परीक्षा हो, जसमा युवाको भूमिका निर्णायक रहनेछ।”
तरुण दल उर्लाबारी नगर समितिको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा नेपाली कांग्रेस मोरङ क्षेत्र नं.–१ का सभापति शंकर राईले युवाहरूको प्रवेशले पार्टी थप सशक्त बनेको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “युवाको जोश, जाँगर र चेतनाबाट मात्रै मुलुकको राजनीतिक परिवर्तन सम्भव हुन्छ। नेपाली कांग्रेस युवामैत्री पार्टी हो भन्ने कुरा आजको कार्यक्रममा प्रमाणित भएको छ।”
नेपाली कांग्रेस महासमिति सदस्य सिता कार्कीले लोकतन्त्र जोगाउन युवाहरू एकजुट हुनुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले भन्नुभयो, “निराशाको राजनीतिलाई पराजित गर्न सचेत युवा शक्ति नेपाली कांग्रेसको झण्डामुनि उभिनु अत्यन्त सकारात्मक सन्देश हो।”
कार्यक्रममा कांग्रेस नेता तथा कोशी प्रदेश सदस्य अर्जुन तुम्रोक, महाधिवेशन प्रतिनिधिहरू गोमा नेपाल, कुमार कँडेल, दिपेन्द्र धिमाल, देवराज चाम्लिङलगायतले आ–आफ्नो धारणा राख्दै नवप्रवेशी युवाहरूलाई तन, मन र वचनले पार्टीको अभियानमा सक्रिय हुन आग्रह गर्नुभयो।
तरुण दल केन्द्रीय सदस्य शचिन शाक्यले भन्नुभयो, “युवा शक्ति नै परिवर्तनको इञ्जिन हो। नेपाली कांग्रेसमा प्रवेश गर्नु भनेको जिम्मेवारी थपिनु हो। अबको लक्ष्य निर्वाचन जित्नु र जनताको भरोसा कायम राख्नु हो।”
नेपाली कांग्रेस उर्लाबारी नगर सभापति सुरेन्द्र लिम्बुले स्थानीय तहदेखि केन्द्रसम्म कांग्रेसको संगठन निरन्तर मजबुत बन्दै गएको बताउनुभयो। उहाँले फागुन–२१ को निर्वाचनमा मोरङ–१ बाट खड्ग फागोलाई विजयी गराउन युवाहरू अग्रपंक्तिमा उभिनुपर्नेमा जोड दिनुभयो।
नवप्रवेशी युवाहरूको तर्फबाट बोल्दै मनोज तामाङले विगतको राजनीतिक यात्राको समीक्षा गर्दै नेपाली कांग्रेस रोज्नुको कारण स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, “हामीले धेरै अभ्यास गर्यौँ, धेरै अनुभव गर्यौँ। अब देश र समाज परिवर्तन गर्ने शक्ति नेपाली कांग्रेसमै छ भन्ने निष्कर्षसहित यहाँ आएका हौँ।”
कार्यक्रम तरुण दल उर्लाबारी कार्यवाहक सभापति विक्रम चापागाईंको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रम सञ्चालन उर्लाबारी तरुण दल सचिव प्रेम बोहोराले गर्नुभएको थियो।

























