Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

माेरङ । मोरङको निर्वाचन क्षेत्र नं.३ मा अधिकांश नयाँ अनुहार चुनावी मैदानमा छन् । उमेद्वार नयाँ भए पनि चार दशक पुराना एजेण्डा बोकेर मत माग्न घरदैलो गरिरहेका छन् ।
विभिन्न राजनीतिक परिवर्तन पछि कहिले निर्वाचन क्षेत्र नं. २ र कहिले ३ मा परेका तत्कालिन पथरी,शनिश्चरे, बयरवन,केरौन गाविसका बासिन्दाको उही भूगोलमा चार पटक ठेगाना बदलियो । ब्यवस्था परिवर्तनसँगै ठेगाना बदलिए पनि ऐँजेरु झैं बनेको सुकुम्बासी समस्या र जग्गामा रहेको द्वैध स्वामित्वको समस्या अझै समाधान भएको छैन । जिल्लामा सबैभन्दा बढी सुकुम्बासी र अब्यवस्थित बसोबासी रहेको तत्कालिन पथरी,शनिश्चरे गाविसमा हसन्दह गाविस जोडेर पथरीशनिश्चरे नगरपालिका बनाइयो । यता बयरवन, केरौन र होक्लाबारी जोडेर कानेपोखरी गाउँपालिका बनाइयो । गाविसहरू गाउँ÷नगरपालिका भए । वडाहरू फेरिए । तर, साविकका समस्या ज्युँका त्युँ छन् ।
हालसम्म सात वटा सुकुम्बासी समाधानका नाममा आयोग गठन भए । तर ,कुनै आयोगले सुकुम्बासीलाई जग्गाधनी प्रमाणपुर्जा दिन सकेनन । पछिल्ला दुई आयोगले केही काम थालेका थिए । तर, पुरा नहुँदै सरकार बदलियो । यतिबेला घरदैलो गरिरहेका नेतालाई मतदाताको पहिलो प्रश्न नै धनीपुर्जा कहिले दिने भन्ने छ ।
२०७४ को निर्वाचनका क्रममा तत्कालिन एमाले उमेद्वार भानुभक्त ढकालले –‘ २०७९ को चुनाबमा आउँदा सुकुम्बासीको समस्या लिएर भोट माग्न नआउने’ मन्तब्य राख्नु भयो । एमाले र तत्कालिन एमाओवादीको साझा उमेद्वार रहनु भएका ढकालले चुनाब जितेर शक्तिशाली केपी ओली सरकारमा स्वास्थ्य, कानून र पर्यटन मन्त्री बन्नुभयो । तीन पटक मन्त्री बन्दा पनि सुकुम्बासी समस्या हल नगरेको आक्रोस २०७९ निर्वाचनमा मतदानबाट पोखे । ढकाल कांग्रेसका सुनील शर्मासँग २२ हजार ६३६ मतान्तरले पराजित हुनुभयो । १६५ वटा सङ्घीय निर्वाचन क्षेत्रमा मोरङ ३ नेकपा एमालेको सबैभन्दा सुरक्षित क्षेत्र मानिन्छ ।
मोरङ ३ मा चार नगरपालिका र एक गाउँपालिकाका २६ वटा वडा पर्छन । पूर्वपश्चिम राजमार्गसँग जोडिएको यो निर्वाचन क्षेत्रमा सघन शहरी क्षेत्र देखि अब्यवस्थित बसोवासी र धेरै सुकुम्वासी वस्ती छन् । कुनै पनि सिंगो पालिका नरहेको मोरङ ३ मा सुन्दरहरैँचा नगरपालिकाको वडा नंं. १,८–१२ ,बेलबारी नगरपालिकाको १–४ र ८–११ ,पथरी शनिश्चरे नगरपालिकाको १–४ र ७–१० तथा कानेपोखरी गाउँपालिकाका १–४ वडा पर्छन् ।
कुल एक लाख ५८ हजार ५७ जना मतदाता रहेको यस निर्वाचन क्षेत्रमा २१ जना उमेद्वार चुनावी मैदानमा छन् । अघिल्लो निर्वाचनमा जित निकाल्नु भएका डाक्टर सुनील कुमार शर्मालाई काङ्ग्रेसले पुन उमेद्वार बनाएको छ । डाक्टर शर्माले भन्नुभयो –‘२०८४ सम्ममा सबै काम गरिसक्ने तयारी थियो । तर, बिच मै चुनाब भएकोले बाँकी प्रतिवद्धता पुरा गर्न पुन आएको हुँ । ’जेनजी बिद्रोह भएको थिएन भने थप ३ हजार बढीले जग्गाधनी प्रमाण पुर्जा पाउने थिए । उहाँले प्रतिवद्धता गरेका ६० प्रतिशत काम पुरा गरेको बताउनु भयो । शर्माले बेलबारीमा सर्पदंश उपचार केन्द्र,नोवेल र काठमाडौं मेडिकल कलेजमा निशुल्क उपचार ब्यवस्था,पूर्वाञ्चल विश्व विद्यालयमा एमवीवीएस अध्ययन सुरु गर्ने लगायतका काम पुरा गरिसक्नु भएको छ । यस्तै डाँस खोलामा तटबन्ध, पथरीमा खानेपानीका लागि बजेट ब्यवस्थापनका काम सम्पन्न गरिसक्नु भएको छ ।
नेकपा एमालेले साहित्यिक पृष्ठभुमिका इरनकुमार राईलाई उमेद्वार बनाएको छ । राईले सधैं जित्दै आएको निर्वाचन क्षेत्रमा नेकपा एमालेले पुन जित प्राप्त गर्ने दाबी गर्नुभयो । उहाँले भन्नुभयो–‘ तमोर चिसाङ डाइभर्सन निर्माण गरी यस निर्वाचनको सिंचाई समस्या दिगो रुपमा समाधान गर्ने पार्टीको प्रमुख एजेण्डा हो । कृषि ,उद्योग निर्माण र पूर्वपश्चिम राजमार्ग सौन्दर्यीकरण लगायत भुमि सम्बन्धी अधुरा काम गर्ने एजेण्डा त छँदैछन् ।
रास्वपाका उमेद्वार गणेश कार्की सुशासन कायम, भ्रष्टाचारका बिचारधीन मुद्धालाई किनारा लगाउने र दोषीलाई कार्यबाही गर्ने, सुकुम्वासी समस्याको स्थायी समाधान,नक्कली पुर्जा च्यात्ने र जसले जग्गा भागेको छ उसैलाई पुर्जा दिने,प्राकृतिक स्रोतको दिगो उपयोग लगायतका एजेण्डा लिएर मतदाताको घरदैलोमा पुगिरहनु भएको छ ।
नेकपाका उमेद्वार डाक्टर देउमान सम्बाहाम्फे पनि सुकुम्वासी समस्याको दीगो समाधान, दोहोरो स्वामित्वको जग्गा ब्यवस्थापन र २०७२ को संविधानबाट प्राप्त हक अधिकार सुरक्षित राख्ने एजेण्डा सहित चुनाबी मैदानमा हुनुहुन्छ । उहाँले पार्टीको बलियो सङ्गठन र पार्टीले उठाएका राष्ट्रिय एजेण्डा(सङ्घीय शासन,समानुपातिक निर्वाचन प्रणाली र गणतन्त्र) संस्थागत गर्न अरु दलले नसक्ने भएकोले नेकपाले जित्ने दाबी गर्नुभयो ।
उज्यालो पार्टी नेपालका उमेद्वार मित्रसेन योञ्जन विद्युत, स्वास्थ्य र शिक्षा निशुल्क बनाउने र भ्रष्टाचारीलाई आफ्नो पार्टीको सरकार बन्नासाथ कार्यबाही गर्ने एजेण्डा लिएर मत मागिरहनु भएको छ । ५० हजार मेगावाट विद्युत उत्पादन गर्न सके सबैका लागि स्रोत जुट्ने उहाँको दाबी छ ।



Share via
Send this to a friend