
कमलकुमार घिमिरे , स्वर्णलक्ष्मी साकोस दमककाे प्रबन्धक हुनुहुन्छ । देशैभर सहकारी संस्थाहरूले शेयर सदस्यको बचत हिनामिना गरेका समाचारहरू आइरहेका बेला दमकको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था भने सदस्यको दैलो दैलोमा पुगेर सहकारी शिक्षा र आफ्ना कार्यक्रमहरूको प्रचार गरिरहेको छ । यसै सन्दर्भमा सहकारी संस्थाका प्रबन्धक घिमिरेसँग गरिएको कुराकानीको सार संक्षेप
– बचत ऋण सहकारी संस्थाहरू जोखिममा परिरहेको खबर दैनिक जस्तो आउँछन , स्वर्णलक्ष्मीले भने सेवा केन्द्र बिस्तारलाई तिब्रता दिइरहेको छ, कारण के हो ?
० स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि . को मुख्य कार्यक्षेत्र झापाको दमक हो । यसका अतिरिक्त झापाको झिलझिले र सुरुङ्गा ,मोरङको उर्लाबारी र पथरीशनिश्चरे नगरपालिकामा सेवा केन्द्र मार्फत शेयर सदस्यलाई सेवा दिइरहेको छ । स्वर्णलक्ष्मी समूदायमा आधारित बचत ऋण सहकारी संस्था हो । जनसंख्याको हिसाबले हेर्ने हो भने संस्थाको कार्यक्षेत्र भित्र १४ लाख भन्दाबढी मानिसको बसोबास छ । २ लाख ७५ हजार भन्दा बढी घर परिवार यो क्षेत्रमा बसोबास गर्नुहुन्छ । संस्थाको सेवा केन्द्रहरू ४ वटा र मुख्य कार्यालय दमक सहित ५ वटा कार्यालयबाट हामी सेवा प्रबाह गरिरहेका छौं। सदस्य संख्या ८ हजार ५०० रहेको छ ।
मुख्य कार्यालय दमकमा नै भएकाले ५ हजार भन्दा बढी शेयर सदस्य दमक कार्यालय अन्तरगत नै हुनुहुन्छ । पछिल्लो समय सदस्यहरुको चाहना पनि स्थानीय स्तरमै सेवाकेन्द्र आएदेखि काम गर्न, तथा सेवा प्राप्त गर्न सजिलो हुन्थ्यो भन्ने माग अधिक आएपछि हामीले ४ स्थानमा सेवाकेन्द्र बिस्तार गरेका छौं । हामी आक्रामक ढंगबाट अधि बढेका छैनौं । सेवाकेन्द्र बिस्तार गर्दै गर्दा सदस्य बिस्तार भैसकेर कार्यालय सञ्चालनमा ब्रेक इभन पोइन्टको अबस्थामा ऋण लगानी तथा बचतको आकार पुगेपछि तथा आम्दानी र खर्चको बिश्लेषण गरेरमात्र वित्तीय अबस्थालाई ध्यान दिएर त्यो लेबल पार गरेपछि नयाँ सेवा केन्द्र मात्र बिस्तार गर्ने नीतिका साथ काम गरिरहेका छौं । हाम्रा सबै सेवा केन्द्रहरु सामान्य नाफा कै अवस्थामा छन ।
– सेवा केन्द्र मार्फत बनेका शेयर सदस्यहरू दिगो हुँदैनन, भनिन्छ । तपाईहरूको संस्थाको अवस्था बताइदिनुन ?
० हामीले सेवा केन्द्रहरु बिस्तार गर्दै गर्दा सदस्यहरुको माग र त्यस क्षेत्रमा बसोबास गर्ने मानिसहरुले हामी शेयर सदस्य बन्छौं भन्नु भएकोले वहाँहरुको चाहनामा हामीले सेवाकेन्द्र बिस्तार गरेका हौं । सदस्य दिगो हुँदैनन् भन्नुको अर्थ सदस्यता लिने भन्दा त्याग्ने प्रवृति प्रतिसतमा बढीहुनु भन्ने बुझाइ हो। तर स्वर्णलक्ष्मी साकोसका कुनै पनि सेवाकेन्द्रमा तेस्तो अवस्था छैन । दिनानुदिन सदस्यता लिइरहनु भएको छ । हाम्रा कार्ययोजनाहरू, सदस्यले पाउनेसेवा सुबिधालाई सदस्यले मन पराउनु भएको छ । हामीले भन्नै पर्ने हुन्छ । स्थानीय स्तरका कतिपय बर्षौ पुराना संस्थाहरुको भन्दा हाम्रा सेवाकेन्द्रका सदस्यहरुको संख्या बढी छ । झिलझिलेमा ९ सय भन्दा बढी,उर्लाबारीमा १ हजार १ सय भन्दा बढी, सुरुङ्गामा ८०० भन्दा बढी गौरादहमा ६०० भन्दा बढी सदस्यहरु आबद्ध भैसक्नु भएको छ । दैनिक जसो आबद्ध हुने क्रम बढीरहेको छ त्यसैले दिगो हुँदैनन् । संस्था छोड्छन भन्ने कुराले सदस्य माथि अन्याय हुन्छ भन्ने लाग्छ ।
–संस्थाले बाह्य ऋण अलि बढी नै लिएको देखिन्छ ? शेयर सदस्यलाई ऋण लगानीका लागि लिनु भयो कि सदस्यको निक्षेप फिर्ता गर्न ?
० पहिलो कुरा त हामी बाह्य ऋण ल्याएर कारोबार बृद्धि हुन्छ भन्ने कुरामा बिश्वास गर्दैनौं । बाह्य ऋणका सन्दर्भमा सहकारी सम्बन्धी पल्र्स मोनिटरिड्ड सिस्टमले पनि ५ प्रतिसत भन्दा बढीहुनु हुदैन भन्ने मान्यता राख्दछ । हाम्रो संस्थाको बाह्य ऋणको अबस्था अलि बढी छ । यो चाँहि कोभिड १९ पश्चात अर्थतन्त्रमा आएको सिथिलता र मन्दीको कारणबाट सहकारी संस्थाहरु अछुतो रहन सकेनन,बैंकहरु नयाँ र थप लगानी बन्द गरेर ८/९ प्रतिसतको ब्याजलाई बढाएर १५/१६ प्रतिसतमा पुर्याउँदै नाफा कमाउने ध्याउन्नमा लागे । त्यो अबस्था हुँदै गर्दा हाम्रा सदस्यका बित्तीय आवश्यकता पुरा गर्न साना तिना लगानीहरु गरिरहनु हाम्रो दायित्व र कर्तब्य पनि हुन आयो । यो अबस्थामा संस्थाका सम्पतिहरु बन्धक राखेर भएपनि बाह्य ऋण ल्याएर सदस्यका बितिय आबश्यकता पुरा गर्ने कर्ममा जुटेका हौं । सदस्यकै आवश्यकता वा ऋण माग पुरा गर्न बाह्य ऋण लिइएको हो । सदस्यको बचत निक्षेप फिर्ता गर्न बाह् ऋण लिनु पर्ने बाध्यता र अबस्था आइपरेको छैन । आइ नपरोस भन्ने पनि चाहन्छौ । हाम्रो वासलातको समिश्रण सन्तुलनले पनि यो कुरा पुष्टि गर्छ ।
–गत वर्ष भन्दा वासलात र नाफा घटेको छ। मुख्य कारण के रह्यो ?
० स्वर्णलक्ष्मी साकोसको १४ बर्षे यात्रामा पहिलो पटक अघिल्लो बर्षसँग तुलना गर्दा केही प्रतिशतले वासलात घटेको छ, तर यस भित्र केही कारणहरु छन । पहिलो त हामीले सवा २ करोड भन्दा बढी बाह्य ऋण यो बर्ष घटाएका छौं । अर्को कुरा गत बर्ष बैंकले दिने मुद्धति निक्षेपको दर हामीले सदस्यलाइ दिने ब्याजदर भन्दा बढी नै थियो ।हामीलाई सन्दर्भ ब्याजको क्यापले ऋणमा ब्याज बढाउन सक्ने अबस्था थिएन । जसको कारणबाट ब्याजदरमा बैंकसँग प्रतिस्पर्धा गर्न सकेनौं ।स्वभाबैले बढी आम्दानी हुने ठाउँमा लगानी गर्नु वा बढी आय आर्जन गर्न चाहनु मानबीय गुण हो । हाम्रो पनि केही सदस्यहरुले त्यो बास्तबिकतालाई पछ्याउनु भयो । त्यसले पनि अघिल्लो बर्षको तुलनामा केही प्रतिशत बचतमा गिरावट आयो र समग्र बासलात लाई असर ग¥यो । साथै बित्तीय खर्चहरु गत बर्ष भन्दा बढे र यसले नाफालाई पनि प्रभाबित गर्यो ।
–बजारमा थुप्रै बचत ऋण सहकारी संस्था छन ,स्वर्णलक्ष्मी साकोस मै किन सदस्य बन्ने ? खास विशेषता के हुन ?
० अत्यन्तै राम्रो प्रश्न राख्नु भएको छ, स्वर्णलक्ष्मी साकोसको परिचय नै समुदायमा आधारित सदस्यको हित के गर्दाहुन्छ भन्ने कुरालाई केन्द्रमा राखेर कारोबार गर्ने संस्थाको रुपमा यो परिचित छ ।सदस्य मात्र हैन ,समाजका निम्ति पनि यसले थुप्रै काम गरेको छ । यसले कोभिड बिरुद्धको कार्यमा स्थानीय स्तरमा नगरपालिकासँग समन्वय गरेर काम गरेको छ । अस्पतालहरुमा रगतको अभाब भएको अबस्थामा रक्तदान कार्यक्रम आयोजना गरी त्यसको पुर्ति गर्ने । आगलागी पीडितहरुलाई आर्थिक सहयोग,भुकम्प पीडितहरुलाई आर्थिक सहयोग, सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार बालबालिकालाई भाग्यबोक्ने झोला बितरण, वातावरणीय सुन्दरता र स्वस्थ्यताका निम्ति टोलबिकास संस्थाहरुलाई गमला बितरण लगायतका सामाजिक कामहरु गरिरहेका छौं।
स्वर्णलक्ष्मी साकोसमा सदस्य बनि सकेपछि सदस्यले प्राप्त गर्ने थुप्रै सुबिधाहरु हामीसँग छन । हामी स्वरोजगार बन्न चाहने सदस्यलाई स्वरोजगार तालिमहरु प्रदान गर्छौं ब्युटीसियन तालिम,सिलाईकटाई,कम्प्युटर मर्मत, मोटरसाइकल मर्मत लगायतका तालिमहरु हामी प्रदान गरिरहेका छौं ।तालिम तथा सीप प्राप्त गरेर त्यही बिषयमा आफै परियोजना सञ्चालन गर्न चाहने सदस्यलाई स्टार्टअफ लोन पनि प्रदान गर्छौं ।
बचत तथा ऋणमा प्रतिस्पर्धी ब्याज, शेयरमा लाभाँस प्राकृतिक प्रकोपको कारणबाट सदस्यको सम्पतिमा भौतिक क्षति भएमा रु.१०,०००।– अक्षरेपी (रु दशहजार सम्म)आर्थिक सहयोग,सदस्यलाई दीर्घ रोगहरु क्यान्सर,मुटु तथा मिर्गौलामा समस्या भएमा रु १०,०००। आर्थिक सहयोग, सदस्यलाई सर्पदंस उपचरका लागि रु.५,००० आर्थिक सहयोग,सदस्यको कारणबस शल्यक्रिया गर्नुपर्ने भएमा रु.३,०००। उपचार खर्च,महिला सदस्य सुत्केरी भएमा सुत्केरी स्याहार खर्च बापत रु.३,०००।– २ पटक सम्मलाइ आर्थिक सहयोग, उत्कृष्ट अंक हाँसिल गरी १२ कक्षा पासगर्ने सदस्यका छोरा छोरी सम्मान कार्यक्रम,जेष्ठ सदस्य सम्मान तथा तिर्थाटन कार्यक्रम, बुहारी स्वागत कार्यक्रम, लागत सहभागितामा पेन्सन बचत कार्यक्रम, सदस्य सम्मान तथा पुरस्कारका कार्यक्रम, मोबाइल बैकीड्ड सेवा तथा सदस्य मृत्यु राहतकोष मार्फत सदस्यको मृत्यु भएमा सदस्यको परिवारलाई रु.१५,०००। आर्थिक सहयोग गरेर सदस्यको सर्वोपरि हितलाई केन्द्रमा राखेर काम गरिरहेकोले सदस्यता नलिनु भएका महानुभाबहरु लाइ पनि सदस्यता लिइ एउटै परिवारमा सामेल भइ सहकार्य र सहयात्रा गर्न प्रस्ताब पनि गर्दछु ।
–लगभग ८ हजार सदस्य रहेको सहकारी संस्थामा सल्लाहकार समिति ५ सदस्यीय र सञ्चालक समिति ७ सदस्यीय मात्रै छ नि ,किन ?
० पक्कै पनि ८,५०० भन्दा बढी सदस्य भएको संस्थाको सञ्चालक समिति ७ सदस्य छ, यसमा हामीले पुनर्बिचार गरेर गत साधारण सभाबाट १ उपाध्यक्ष र १ सदस्य थप गरी ९ सदस्य बनाउने गरी निर्णय भैसकेको छ । सल्लाहकारमा ५ सदस्य हुने गरी नीति गत ब्यबस्था गरेका छौ किनकी भित्रबाट भन्दा बाहिरको हेराइ अर्थपुर्ण र संस्थाको हितकर हुन्छ ।
– सहकारीमा समस्या आउनुको मूख्य कारण के लाई मान्नु भएको छ ?
० समय सान्दर्भिक र दिर्घकालिन रुपमा पनि उत्तर खोजिरहनु पर्ने प्रश्न राख्नु भाको छ यसको लागि धन्यबाद, सहकारीमा समस्या आउनुमा मुलत २ वटा कारण छन भन्ने लाग्छ ।पहिलो, नियोजित र स्वार्थका कारणबाट सिर्जित समस्याहरु । दोस्रो,सञ्चालन प्रक्रियामा ज्ञान सिप र अनुभबको कमिका कारणबाट सिर्जना भएका समस्याहरु ।
पहिलो समस्या सिर्जना हुनुमा स्वार्थ प्रधान छ । यसले सहकारीका मुल्य,मान्यता, आर्दश सिद्दान्त र दृष्टिकोणहरुलाई चिन्दैन,देख्दैन । आफना आफन्त परिवार नातागोता लाई सञ्चालक तथा लेखा सुपरिबेक्षण समितिमा राख्ने रु १०० को सदस्यता दिलाउने र बजारबाट पैसा सङ्कलन गर्ने र आफ्ना आफन्तको ब्यापार ब्यबसायमा लगानी गर्ने यो प्रवृतिका कारणबाट आज सहकारी संस्थाहरु समस्यामा परेका छन र यीनले सरकारको न्युन जनशक्ति कमजोर अनुगमन पद्धतिको फाइदा उठाएका छन यो समस्याको मुल कारण हो भन्ने लाग्छ ।
दोश्रो समस्या सहकारीको संख्यात्मक रुपमा बृदि हुँदै जाँदा यो आम सदस्यको दुख जिलो गरेर जम्मा भएको सम्पति हो, यस्तो पैसा परिचालन गर्न निश्चित ज्ञान, सिप र अनुभब चाहिन्छ । तर राज्यको तवरबाट यो कुरालाई अत्यन्तै हलुका ढंगबाट लिनेकाम भयो र सहकारी संस्थाहरु धमाधम दर्ता भए । कतिपय बिना योजना र लक्ष्यमा देखासेखीमा दर्ता भए । अध्यक्ष हुन नपाको झोकमा संस्थाहरु गठन र दर्ता भए । बैचारिक रुपमा मन नमिलेकै कारणले मन र दर्शन मिल्ने मिल्ने मिलेर संस्थाहरु गठन,दर्ता भए । सञ्चालन प्रकृयाका नीतिगत सर्वोच्चता र सञ्चालन स्वतन्त्रता बुझ्न नसकी आर्दशतम ब्यबसायिकताको सामान्य मान्यतालाई पनि नबुझेकै वा बुझ पचाएकै कारण सहकारी संस्थाहरु समस्यामा परेका हुन भन्ने लाग्छ ।
–सहकारी अभियान र नियमन गर्ने सरकारी निकायको काम प्रति तपाईको प्रतिक्रिया के छ?
० अभियान एउटा सहकारी संघ संस्थाहरुको समस्याहरुमा सामाधानका निम्ति तत्पर रहने, सरकार लगायत अन्य पक्षहरुसँग संस्थाको पक्षमा बहस र पैरबी गर्ने संघ संस्थाहरुको साझा थलो पनि भएकोले यसले आफ्ना संघ संस्थाहरुको सर्वोपरि हितमा काम गर्न सकोस, आफ्नो र पराइ नदेखोस सबैलाइ समान ब्यबहार गरोस यहि भन्न चाहन्छु ।
सरकारी निकायहरु त्यसमाथि हाम्रा नियमनकारी निकायहरुको क्षमतामा बिकास हुनुपर्दछ । थोरै जनशक्तिले बग्रेल्ती सहकारीको अनुगमन, नियमन र कार्बाहि चाँहि गर्न सक्दैन । तर आवश्यक जनशक्ति बिषय बिज्ञ नियन्त्रक बाट संस्थाहरु चुस्त राख्न सरकारले ध्यान पुर्याउनु पर्दछ । यहाँ नराम्रो गर्नेहरुका कारण राम्रो गरांै भन्नेहरुलाई अप्ठ्यारो भएको छ। यस तर्फ सरकारको चासो रहनु पर्दछ । नराम्रो गर्नेलाई सुधारात्मक र निरोधात्मक कार्बाहि र राम्रो गर्नेलाई पुरस्कार तथा प्रोत्साहनको ब्यबस्था राज्यले गर्नु पर्दछ ।
–अन्त्यमा केही छुट्यो कि ?
० त्यस्तो छुटेजस्तो त लाग्दैन । सबै पक्षलाइ समेटेरै प्रश्नहरु उठान गर्नु भएको छ । जाँदा जाँदै एउटा सवाल चाँहि सहकारी संस्था हरुले गरिरहेका राम्रा र प्रगतीशिल कार्यहरुमा पनि संचार क्षेत्रका आँखा पुगुन भन्न चाहन्छु ।
बर्ग, बाद, र लहडमा हैन साँच्चीकै सहकारीका मुल्य मान्यता,आर्दश,सिद्धान्त राज्यले निदृष्ट गरेका कानुनहरुका आधारमा स्वनियमन र सुसासन सहकारीको मुल मर्मलाई केन्द्रमा राखेर समाज रुपान्तरणको महायज्ञमा काम गरौं । सबै सहकारीकर्मीहरू यही भन्न चाहन्छु ।