
हरि कोइराला
मोरङ(केराबारी) ।उत्तरी मोरङको केराबारी गाउँपालिकाले विश्वमा नै संकटापन्न अवस्थामा रहेको सालक संक्षरण अभियान सुरु गरेको छ । मानिसहरूको जङ्गली स्रोत साधनसँग परनिर्भरता बढ्दै जाने क्रम बढेसँगै दुलर्भ वन्यजन्तु सालक सङ्कटमा परेको हो ।
किसानमैत्री वन्यजन्तुका रुपमा परिचित सालकको मासु र खपटामा औषधीय गुण पाईने भन्दै नेपालबाट चीन र भियतनाममा यसको चोरी तस्करी हुने गरेको छ । सालकको मुख्य आहारा मानिसको बाली नालीमा दुख दिने धमिरा र कीरा मानिन्छ । सामूदायिक वन र बैज्ञानिक वनका नाममा अब्यवस्थित रुपमा जङ्गलको घना क्षेत्र मासिन थालेपछि सालकको बसोवास क्षेत्र सङ्कटमा परेको उत्तरी मोरङको चुरे क्षेत्रका वन उपभोक्ताहरू बताउँछन् ।
केही वर्ष अघिसम्म उत्तरी मोरङको चुरेक्षेत्रमा प्रसस्त सालक भेटिन्थे । अहिले पनि केराबारी र मिक्लाजुङ गाउँपालिका र लेटाङ नगरपालिकाको चुरे क्षेत्रमा सालकको बासस्थान भेटिने गरेको छ । स्थानीय स्तरमा सालक संरक्षणमा लागेको नमुना पर्माकल्चर सिकाइ थलोका अध्यक्ष कुमारबहादुर बिश्वकर्माले भन्नुभयो–सालकको आहाराको मुख्यस्रोत धमिरा र कीरा हो । बनमा मानव उपस्थिति बढेसँगै धमिराको ढिस्का समेत लोप भएको छ । एकातिर चोरी तस्करी बढेको छ भने अर्को तर्फ बसोवास र आहारा मासिएको छ । मानिसलाई कुनै प्रकारको हानी नगर्ने सालकले माटोलाई समेत उर्भर बनाउने भर्टिकल बायो डाइभर्सिटी फण्डका सदस्य गङ्गा लिम्बु बताउनु हुन्छ । लिम्बूले भन्नुभयो– माटो खुकुलो बनाउने र किसानको अन्नबालीलाई हानी नगर्ने भएकाले सालक किसान मैत्री वन्यजन्तुका रुपमा परिचित छ । खासगरी जङ्गली वन्यजन्तु भन्दा पनि मानव आक्रमणबाट नै सालक सङ्कटमा परेकोले यसको संरक्षणका लागि वासस्थान जोगाउन मानिसले नै सहयोग गर्नुपर्ने लिम्बूले बताउनु भयो ।
लोपुन्मुख अबस्थामा पुगेको सालक जोगाउन भर्टिकल बायोडाइभर्सिटी फण्ड र नमुना पर्माकल्चर सिकाइ थलो नामका दुईवटा संस्था सन् २०१७ बाट उत्तरी मोरङमा क्रियाशील छन् ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनले सालकलाई संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ । आठ प्रजातिका सालकमध्ये संसारमै दुर्लभ मानिएका दुई प्रजाति कालो सालक (चाइनिज प्यांगोलिन) र तामे सालक (इन्डियन प्यांगोलिन) नेपालमा मात्र पाइन्छ । नेपालमा पाइने स्तनधारीमध्ये कालो सालक एउटै मात्र अन्तर्राष्ट्रिय रूपमै अति संकटापन्न वन्यजन्तु हो । यी सस्थाले यो क्षेत्रमा सालकको चोरी सिकारी र तस्करी रोक्ने, घाईते सालक उपचार गर्ने, सालक भएको स्थानको पहिचान गर्ने, सालकको महत्ब स्थानीयलाई बुझाउने तथा सालकको बारेमा जनचेतना फैलाउने लगायतका कार्य गरिरहेको भर्टिकल बायो डाइभर्सिटी फण्डका अध्यक्ष भोजराज काफ्लेले बताउनु भयो । काफ्लेका अनुसार फण्डले मोरङ, सुनसरी र संखुवासभामा सालक संरक्षण सम्बन्धी काम गरिरहेको छ ।
समुद्री सतहदेखि करिब दुई हजार मिटरसम्मको उचाइका वनजंगलमा सालक पाइने गरेको छ । अति लजालु, संवेदनशील एवम् शान्त वातावरणमा बस्न रुचाउने सालकले मानिसलाई कुनै खाले क्षति गर्दैन । एक बेतमा एउटा मात्र बच्चा जन्माउने सालकको बच्चाको जन्मदर अत्यन्तै कम हुने गर्छ । जन्मिएका बच्चामा पनि हुर्किने सम्भावना कम भएकोले सालक मैत्री वातावरण तयार गर्नुपर्ने नमुना पर्माकल्चर सिकाइ थलोका अध्यक्ष कुमारबहादुर बिश्वकर्मा बताउनु हुन्छ । ५÷७ वर्ष अघि सम्म सालक देखिरहनु भएका केरावारी–५ सतिसालेका दुर्गाप्रसाद कट्टेलले भन्नुभयो – कीराधमिरा खाएर बाँच्ने यो प्राणीको बासस्थान र खाना मासियो । बस्ने स्थानमात्र संरक्षण गरेर भएन । जङ्गलमा धमिराको ढिस्का देखिन्न । मानिसको बनमा जथाभावी प्रवेशले ढिस्का मासिए । कट्टेलले अझै पनि संरक्षणको सम्भावना रहेको बताउनु भयो ।
मोरङको केरावारी गाउँपालिकाले सालक संरक्षण सम्बन्धी कार्यविधि २०८० निर्माण गरेर स्थानीय सामूदायिक वनको सहकार्यमा संरक्षण सम्बन्धी काम सुरु गरेको छ । पाकिलाका प्रवक्ता नारायण् भुजेलले भन्नुभयो – पहिलो चरणमा पालिका भित्रका सबै सामूदायिक वनसाग सहकार्य गरी जनचेतना कार्यक्रम गर्नेछौं । पहिले महत्व बुझाएर मात्र संरक्षण अभियान सुरु गर्ने प्रवक्ता भुजेलले बताउनु भयो ।
हाल नेपालका ४३ जिल्लामा सालक भेटिएको तथ्य सार्वजनिक भएको छ ।