उर्लाबारी । हातमा सीप र मनमा लगनशिलता भए स्वदेश मै स्वरोजगार बन्न सकिन्छ भन्ने गतिलो उदाहरण बन्नु भएको छ, मोरङको उर्लाबारी –८ आमबारी बजारका टङ्कबहादुर श्रेष्ठ ।
श्रेष्ठ ३० वर्षयता निरन्तर सिलाई पेशामा हुनुहुन्छ । गरिव परिवारमा जन्मनु भएका ६० वर्षीय श्रेष्ठ १२ वर्षको उमेर देखि सिलाई पेशामा संलग्न हुनुभयो । साविक राजघाट–८ को आमबारी बजारमा (अर्जुन दर्जी )भोजपुरे काइलासँग सियोमा धागो उन्न, लुगामा इस्त्रि लगाउन र सिलाई मेसिन चलाउन सिक्नु भएका श्रेष्ठले आफ्नै टेलरिङ सेन्टर खोलेको ३० वर्ष भयो ।काम सिक्ने सिलसिलामा उहाँ १४ वर्षको उमेरमा भारतको उडिसा पुग्नुभयो । उडिया जातिको टेलरिङ सेन्टरमा २ वर्ष बसेर उहाँले कठोर मेहनत गर्नुभयो । सबैखाले लुगा सिलाउन सिक्नुभयो । त्यसपछि उहाँ दार्जिलिङ पुग्नुभयो । दार्जिलिङमा १६ वर्ष काम गरेर पछि नेपाल फर्किनुभयो । आफ्नै पसल खोलेर कामदार राखेर काम गर्ने सपना बोकेर नेपाल फर्किनु भएका श्रेष्ठको सपना पुरा भएन । लगानी गर्ने पैसा थिएन । सर्टको ३ रुपियाँ ५० र पेन्टको ६ रुपियाँ हात लाग्थ्यो । खान, बस्न र दुईचार पैसा घर पठाउन नै धौ धौ हुन्थ्यो । नेपाल फर्के श्रेष्ठ कामको खोजिमा फेरि धरान पुग्नुभयो । धरान छाताचौकको पशुपति टेलर्समा १४ महिना काम गरेपछि उहाँ हातमा दुईचार पैसा बोकेर आफ्नै गाउँ फर्किनु भयो ।
गाउँ फर्केपछि उहाँले दार्जिलिङ टेलर्स सञ्चालनमा ल्याउनु भयो । ३० वर्षयता सोही ब्राण्डलाई उहाँले निरन्तरता दिइरहनु भएको छ । बिगतमा भ्याइ –नभ्याई हुन्थ्यो , लुगा सिलाउन । अहिले घर गर्जाे मात्र टरेको छ ।उहाँले भन्नुभयो–‘ थुप्रै जना जनशक्ति उत्पादन गरें । धेरैले आफैं सिलाई सेन्टर चलाएर गरी खाइरहनु भएको छ । भारतीय कारिगढले नेपालमा आएर बिना दर्ता टेलरिङ सेन्टर चलाइदिँदा नेपाली सिलाई ब्यावसाय सङ्कटमा परेको उहाँको भनाई छ । श्रेष्ठ भन्नुहुन्छ–उनीहरू करको दायरामा छैनन् । सियो ,धागो सबै दुई नम्बरी लाइनबाट ल्याउँछन् । त्यसैले सस्तो मूल्यमा सिलाउन सक्छन् । हामीले नगरपालिका,घरधनी, वाणिज्य संघमा ब्यावसाय नवीकरण, पान नवीकरण गर्दा ठूलो खर्च तिर्नुपर्छ । उहाँले नेपाली सिलाई ब्यवसायी प्रतिपस्र्धा गर्न नसक्ने अवस्थामा रहेको उहाँको भनाई छ ।
कुनै समय ७ जना कारिगढ राखेर ब्यवसाय चलाउनु भएका श्रेष्ठ अहिले एक्लै हुनुहुन्छ । कटाई सिलाई र हातको काम आफैं गर्नुहुन्छ । श्रमको काम भएकोले घाटा कहिल्यै हुन्न । उहाँले भन्नुभयो – खालि हात बस्नु परेको छैन् । खालि हात बस्नु नपरेपछि मासिक ३०÷३५ हजार कमाई त भइहाल्छ । २०७० साल तिर मासिक अढाई लाख सम्म कमाइ भएको सम्झदै उहाँले भन्नुभयो –‘एकातिर रेडिमेड कपडाको बजार फैलिएको छ , अर्को तर्फ भारतीय कामदारहरू बिना इजाजत टेलरिङ सेन्टर चलाएर बसेका छन् । त्यसैले कामको चाप छैन् ।
नेवारको छोरो न जातले पाएको न बाबु बाजेले गरेको । आफै सिकेको पेशाबाट घरजग्गा जोड्नु भएका श्रेष्ठ ब्यवसायसँग पूर्ण सन्तुष्ट हुनुहुन्छ । कोरोनाले श्रीमतीको मृत्यु भएपछि उहाँले ठूलो समस्या ब्योहोर्नु प¥यो । तर, हरेक सङ्कटलाई सहजै पार लगाउँदै आउनु भएका श्रेष्ठले आफ्नो कामको लयलाई छोड्नु भएको छैन । परिवारका सदस्यले भरपुर साथ दिनु भएको छ । उहाँ भन्नुहुन्छ–बिचलित नभई पेशा सम्हालेपछि काम आफै आउँदो रहेछ ।

























