सुन्दरहरैँचा / भूगोल, वातावरण र मौसमसँगै उत्पादित जडिबुटीको बजार माग नबुझिकन जडिबुटी खेतीमा लगानी नगर्न विज्ञहरूले सुझाव दिएका छन् । मोरङको सुन्दरहरैँचा १० को धनवन्तरी जडिबुटी उत्पादक सहकारी संस्था लिमिटेड लि. ले भदौ १३ बिहीबार जडिबुटी रोपिएको स्थल मै आयोजना गरेको प्रशिक्षण कार्यक्रममा विज्ञहरू यस्तो सुझाव दिएका हुन् ।
नेपाल जडिबुटी उत्पादक केन्द्रीय सहकारी सङ्घ लि. का अध्यक्ष ईश्वरी पाण्डेले नेपाल सरकारले देश भित्रै रोजगार सिर्जना गर्न जडिबुटी खेतीमा ठूलो लगानी गरिरहेको बताउनु भयो । नेपालमा २ हजार बढी प्रजातिका जडिबुटी पाइने बताउँदै पाण्डेले जडिबुटीको पहिचान गरी मौसम अनुकुल जडिबुटीको मात्र खेती गर्न सुझाव दिनुभयो । जडिबुटी पहिचान गर्न ज्येष्ठ नागरिकसँग सहयोग लिन आग्रह गर्दै ६० वर्ष अघि सामान्य रुघाखोकी लाग्दा , ज्वरो आउँदा प्रयोग हुने जडिबुटीको पहिचान वृद्धवृद्धाबाट मात्र हुने बताउनु भयो ।
गाउँघरका झारपात र बनमारा प्रयोग गरेर जैविक बिषादी बनाउन सकिने उल्लेख गर्दै पाण्डेले जडिबुटी खेतीमा रसायनिक मल प्रयोग नगर्न सुझाव दिनुभयो ।
डिभिजन बन कार्यालय मोरङका प्रमुख हेमन्त पराजुलीले मागर बजार उतार चढाव भइरहने भएकोले जडिबुटी उत्पादन गर्नेले भण्डारणको समेत ब्यवस्था मिलाृन आवश्यक रहेको बताउनु भयो । पराजुलीले सर्पगन्धा,टिमुर,तेजपात,रिट्ठा लगायतको माग उच्च रहेकोले त्यसखाले उत्पादनमा लाग्नुपर्नेमा जोड दिनुभयो । पराजुलीले युट्युव र फेसबुकमा मानिसले कमाएको कथा पढेर ,सुनेर नबहकिन आग्रह गर्दै विगतमा एलोबेरा ,कुरिलो ,तुलसी र जेट्रोफा खेतीले धेरै किसानलाई डुबाएको बताउनु भयो ।
नेपाल जडिबुटी तथा प्रशोधन कम्पनी लि.का बेलबारी कार्यालय प्रमुख कमलबहादुर राईले मागमा आधारित जडिबुटी खेती गर्न सुझाव दिँदै धनवन्तरी जडिबुटी सहकारीले गरिरहेको खेतीबाट किसानले राम्रो लाभ लिनसक्ने बताउनु भयो । उहाँले नेपाली बजारमा लेमनग्रास,सीट्रोनेला,फ्रेनचबेसिल,पाल्मारोजा, मेन्था र दामीनी फुल(क्यामोमाइल)को माग उच्च रहेकोले मौसम र वातावरण अनुकुल समय मिलाएर खेती गर्न आग्रह गर्नुभयो । राईले एउटा उत्पादन निकालि सकेपछि अर्को उत्पादन लगाइ हाल्न सके । एउटाले नभए अर्कोबाट फाइदा लिन सकिने बताउनु भयो ।
धनवन्तरी जडिबुटी सहकारी संस्था लि.का अध्यक्ष दिननाथ भट्टराईको सभापतित्वमा भएको कार्यक्रममा इन्द्रपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष नवराज चापागाईंले सरकारी,साझेदारी र सहकारीका काम गर्न चुनौतिपुर्ण रहेको बताउँदै बजारको अवस्था नबुझी लगानी नगर्न सुझाव दिनुभयो । कार्यक्रममा सुकुना सामुदायिक वनका अध्यक्ष तुलसी रिमाल,सुन्दरहरैँचा–१० का वडासदस्य रमेश गौतम् र महेश आचार्यले समेत बोल्नु भएको थियो ।

























